२०८२, माघ २७ गते

Feb 10 2026 | २०८२, माघ २७ गते

नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकले ५० मिलियन डलर दिने

मंगलवार , माघ २७, २०८२

  • 46
    Shares
  • 46
    Shares
  • काठमाडौं, २७ माघ । नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकले ५० मिलियन डलर दिने भएको छ ।

    हालै वासिङ्टनमा बसेको विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले ‘नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट’ अन्तर्गत उक्त सहयोग नेपाललाई दिने निर्णय गरेको हो । उक्त निर्णयसँगै विश्व बैंकले नेपालको डिजिटल सार्वजनिक पूर्वाधार सुदृढ गर्न र सार्वजनिक सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराउइने उक्त सहयोग परिचालन गरिनेछ ।

    यो परियोजनाले नागरिकलाई प्रदान गरिने सेवाको ढाँचामा मौलिक परिवर्तन ल्याउने लक्ष्य लिएको छ । परियोजनाअन्तर्गत एकीकृत अनलाइन नागरिक सेवा पोर्टल, सुरक्षित डेटा आदान–प्रदान प्रणाली, तथा प्रमाणीकरण योग्य प्रमाणपत्र र डिजिटल वालेट व्यवस्थापन गर्न सकिने डिजिटल लकर जस्ता डिजिटल प्लेटफर्ममा लगानी गरिनेछ ।

    डिजिटल अर्थतन्त्रप्रति नागरिकको विश्वास बढाउन परियोजनाअन्तर्गत इलेक्ट्रोनिक हस्ताक्षर (ई–सिग्नेचर), साइबर सुरक्षा तथा डेटा गभर्नेन्समा समेत लगानी गरिनेछ ।

    विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि डिभिजन निर्देशक डेभिड सिस्लेनले डिजिटल पूर्वाधारमा लगानीले सेवा प्रवाहमा पारदर्शिता, समावेशिता र प्रभावकारिता बढ्ने उल्लेख गर्नुभएको छ ।

    उहाँकाअनुसार मुख्य डिजिटल प्लेटफर्ममा लगानी र सेवाहरू डिजिटलाइज गरेपछि नागरिक र व्यवसायलाई अझ सहज सेवा उपलब्ध हुनेछ । यसले सार्वजनिक क्षेत्रको कार्यक्षमता र सुशासन प्रवद्र्धनमा मद्दत गर्नेछ ।

    यो परियोजना विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) बीचको संयुक्त सह–वित्तीय व्यवस्थाअन्तर्गत कार्यान्वयन हुनेछ । फुल म्युचुअल रिलायन्स फ्रेमवर्क अन्तर्गत विश्व बैंक प्रमुख ऋणदाता रहनेछ भने एडीबी ट्रेल ऋणदाताको रूपमा रहनेछ ।

    एडीबीले यस परियोजनामा ४० मिलियन अमेरिकी डलर योगदान गर्नेछ । एडीबी व्यवस्थापनले मार्च २०२६ मा परियोजनालाई आफ्नो बोर्डमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।