२०८२, माघ २९ गते

Feb 12 2026 | २०८२, माघ २९ गते

सिद्धार्थनगरमा ८०२ किशोरीलाई एचपिभी खोप लगाइने

बिहिवार , माघ २९, २०८२

  • 178
    Shares
  • 178
    Shares
  • भैरहवा, २९ माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा विद्यालय केन्द्रीत खोप ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) कार्यक्रम सञ्चालन गरिएको छ । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि माघ २५ गतेदेखि यहाँ कार्यक्रम सुरु भएको हो । माघ २९ गतेसम्म सञ्चालन हुने यो कार्यक्रम अन्तर्गत करिब ८ सय २ जना किशोरीलाई एच.पी.भी. खोप लगाइने नगरपालिकाले जनाएको छ ।

    सिद्धार्थनगर नगरपालिकाभित्र रहेका कक्षा ६ मा अध्ययनरत किशोरीहरुलाई लक्षित गरेर खोप लगाइएको नगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख माधव प्रसाद ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयबाहिर रहेका किशोरीहरुलाई पनि खोप लगाइँदैछ ।

    उहाँले सिद्धार्थनगरका १८ वटा विद्यालयमा खोप केन्द्र राखेर कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । खोप सुरक्षित र प्रभावकारी रहेको ढुक्कसाथ लगाउन उहाँले आग्रह गर्नुभयो । कुनै पनि अपवाह र भ्रमका पछाडी नलाग्न उहाँको आग्रह छ ।

    एच.पी.भी. खोप लगाउन छुट भएका कक्षा ६ मा अध्ययनरत छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप सेवा फागुन १ गते सिद्धार्थनगर नगरपालिकाका ९ वटा आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन हुने ज्ञवालीले जानकारी दिनुभयो ।

    सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले विद्यालयलाई लक्षित गरेर खोप कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले खोप लगाउनुपर्ने सबै किशोरीलाई खोप लगाउन र छुट्न नदिनका लागि सम्बन्धित अभिभावकलाई पनि सम्पर्क गर्न विद्यालयका प्राचार्यहरुलाई भनिएको जानकारी दिनुभयो ।

    खोप कार्यक्रममा किशोरीहरुको उल्लेख्य रहेको सहभागीता रहेको खोप केन्द्रहरुमा निरीक्षण तथा अनुगमनका क्रममा पाइएको उपप्रमुख अधिकारीले बताउनुभयो ।

    पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस संक्रमण रहेकोले त्यसकोविरुद्ध खोप लगाउनुपर्ने हुन्छ ।