२०८२, फाल्गुण ५ गते

Feb 17 2026 | २०८२, फाल्गुण ५ गते

भैरहवा नमुना माविमा विद्यार्थीहरुलाई झोला र जुत्ता वितरण

मंगलवार , फाल्गुण ५, २०८२

  • 187
    Shares
  • 187
    Shares
  • भैरहवा, ५ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ स्थित भैरहवा नमुना माध्यमिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई झोला र जुत्ता वितरण गरिएको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमित कुमार गुप्ताको पहलमा स्थानीय ठाकुर बराईली, गुञ्जा बराईली दम्पत्ति र दीपेन्द्र जलान्धरले विद्यालयमा अध्यनरत विद्यार्थीलाई स्कूल झोला र जुत्ता वितरण गर्नुभएको हो ।

    सोमबार विद्यालयमा आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिका–६ का बराईली दम्पत्तिले विद्यालयको कक्षा १ देखि ५ सम्मका अध्यनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई ५० थान झोला र १८ वटा जुत्ता उपलब्ध गराएको अध्यक्ष गुप्ताले जानकारी दिनुभयो ।

    त्यस्तै व्यवसायी सिद्धार्थनगर नगरपालिका–१३ का दीपेन्द्र जलान्धरले कक्षा १ देखि ५ सम्मका अध्यनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई ३० थान झोला उपलब्ध गराउनुभएको छ ।  उपलब्ध गराइएको झोला र जुत्ता विद्यार्थीहरुलाई वितरण गरिएको भैरहवा नमुना मावि भूतपूर्व विद्यार्थी समाजका संयोजक जितमान गुरुङले बताउनुभयो ।

    बराईली दम्पत्ति र व्यवसायी जलान्धरले विद्यालयमा अध्यनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई झोला र जुत्ता उपलब्ध गराउन पाउँदा खुशी व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुप्ताले स्थानीयबासीको सहयोगले विद्यालयको विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई सामग्री उपलब्ध गराउने सहयोगी हातहरुप्रति आभार व्यक्त गर्नुभयो ।

    ‘भैरहवा नमुना मावि हामी सबैको विद्यालय हो । यसलाई हामी सबै नै मिलेर बनाउनुपर्छ’ ,उहाँले भन्नुभयो–‘सबै मिलेर अघि बढ्यौं भने यहाँका बालबालिका अध्यापनका लागि अन्यत्र जानुपर्दैन ।’

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमित कुमार गुप्ता, प्रधानध्यापक बासुदेव पौडेल, स्थानीय समाजसेवी ठाकुर बराईली, गुञ्जा बराईली, दीपेन्द्र जलान्धर, भैरहवा नमुना माविको भूपू विद्यार्थी समाजका संयोजक जीतमान गुरुङ, सचिव निलम श्रेष्ठ, कोषाध्यक्ष बुद्धिराज पाण्डे, सदस्य भीम गुप्ता लगायतको उपस्थिति थियो ।

    भैरहवाको पुरानोमध्यको एक यो विद्यालय व्यवस्थापन समितिमा व्यवसायी तथा युवा समाजसेवी अमित कुमार गुप्ताको नेतृत्वमा नयाँ कार्यसमिति आएपछि विद्यालयमा परिवर्तन देखिन थालिएको स्थानीय बताउँछन् । विद्यालयका समस्याहरु समाधानका लागि यो कार्यसमिति योजना बनाएर अघि बढेको छ ।