२०८२, चैत्र ३० गते

Apr 13 2026 | २०८२, चैत्र ३० गते

लुम्बिनी प्रादेशिक अस्पतालमा वक्तृत्वकला प्रतियोगिता

बुधवार , फाल्गुण ६, २०८२

  • 451
    Shares
  • 451
    Shares
  • बुटवल, ६ फागुन  । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतामा मंगलबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । अस्पतालको ११५ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तरगत यो प्रतियोगिता सम्पन्न भएको हो । 

    प्रतियोगितामा विजय आचार्य प्रथम, अस्मिना पाण्डे द्वितीय, सुनिता अर्याल तृतीय तथा दयासागर मन्थी सान्त्वना बन्न सफल भएको कार्यक्रम संयोजक सीता खनालले जानकारी दिनुभयो । प्रतियोगितामा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी गरी ८ जनाले सहभागीता जनाएका थिए । 

    प्रतियोगिताका विजेताहरुलाई सम्मान गर्दै अस्पताल विकास समितिका अध्यक्ष अजमान श्रेष्ठले रचनात्मक प्रतियोगिताको माध्यमबाट स्वास्थ्यकर्मी तथा कर्मचारीहरु अस्पतालको सेवामा थप समर्पित हुने भावनाको जागृत भएको बताउँदै खुसी व्यक्त गर्नुभयो । जस्तोसुकै परिस्थितीमा सधै जनताको स्वास्थ्य सेवामा तल्लिन हुने पेशाकर्मीहरु वार्षिकोत्सवको सन्दर्भमा आपसी सद्भाव, एकता र पेशाप्रतिको मर्यादामा थप केन्द्रित हुने वातावरण निर्माण भएको उहाँले बताउनुभयो । अध्यक्ष श्रेष्ठले अस्पताल विकास समिति आवश्यक सहकार्यका लागि सधै तत्पर रहेको उल्लेख गर्नुभयो । 

    त्यस्तै अस्पताल विकास समितिका सदस्य लक्ष्मी भट्टराईले पेशागत मर्यादामा रहेर आफ्नो जिम्मवारी पूरा गर्ने सबै स्वास्थ्यकर्मी तथा कर्मचारीको पक्षमा समितिले सधै साथ दिने प्रतिवद्धता जनाउनुभयो ।

    अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. इन्द्र ढकालले सेवाग्राहीलाई गरिने व्यवहार आफूले पूरा गर्नुपर्ने कर्तव्य र मर्यादाका बारेमा स्वास्थ्यकर्मीहरु सधै संवेदनशील भएर लाग्ने गरेको उल्लेख गर्नुभयो । उहाँले अन्य पेशा तथा कर्मभन्दा स्वास्थ्यकर्मीको पेशा निकै संवेदनशील र मर्यादित हुनुपर्ने बताउँदै उहाँले सोही भावनाअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    अस्पतालले हरेक वर्ष फागुन १५ गते मनाउँदै आएको वार्षिकोत्सव अन्तरगत यस वर्ष पनि विभिन्न अतिरिक्त क्रियाकलापसहित सप्ताहव्यापी मनाएको छ । अस्पतालका बीमा शाखा प्रमुख दिपेन्द्र पौडेलको सञ्चालनमा सोमबारको कार्यक्रम सम्पन्न भएको हो । चिकित्सक, स्वास्थ्यकर्मी, स्टाफनर्स तथा कर्मचारीहरुसहित करिब ९ सय जना कार्यरत रहेको लुम्बिनी प्रदेशकै ठूलो यस अस्पतालमा वार्षिक साढे ३ लाख बढीले स्वास्थ्य सेवा लिने गर्दछन् ।

    वार्षिकोत्सवको अवसरमा कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई सम्मान, अभिमुखीकरण, रक्तदान तथा फलफूल वितरण, सरसफाई तथा सचेतना कार्यक्रमका साथै स्वास्थ्यकर्मी तथा कर्मचारीहरुबीच मैत्रीपूर्ण भलिबल, फुटबल, ब्याटमिन्टन, म्याराथन लगायतका प्रतियोगिताहरु आयोजना गरिएको अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले जानकारी दिनुभयो ।