२०८३, भाद्र ११ गते

Aug 27 2026 | २०८३, भाद्र ११ गते

लुम्बिनी प्रादेशिक अस्पतालमा निर्वाचन लक्षित ‘टास्क फोर्स’ गठन

बुधवार , फाल्गुण १३, २०८२

  • 865
    Shares
  • 865
    Shares
  • बुटवल, १३ फागुन । यही फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गरी रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले ‘टास्क फोर्स’ गठन गरेको छ । निर्वाचनको अवधिमा हुन सक्ने सम्भावित दुर्घटना तथा स्वास्थ्य समस्यालाई मध्यनजर गरी विशेष स्वास्थ्य सेवा दल गठन गरिएको अस्पतालले जनाएको छ । 

    विशेष गरी निर्वाचन अवधिमा सार्वजनिक विदा हुने भएकाले उक्त समयमा समेत परिचालित हुने गरी फागुन १९ देखि २२ गतेसम्म विशेष स्वास्थ्य सेवा दलले काम गर्ने गरी समिति गठन गरिएको अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले बताउनुभयो ।

    अस्पतालका आकस्मिक विभागका प्रमुख वरिष्ठ कन्सल्टेन्ट डा. मोहम्मद नुरुल होदाको संयोजकत्वमा प्रत्येक विभागबाट १ जना फोकलपर्सन रहने गरी समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो । अस्पतालको नियमित सेवाबाहेक यो समितिले निर्वाचनको अवधिमा आइपर्ने स्वास्थ्य समस्यालाई मध्ययनजर गरी उपचार सेवामा खटिने व्यवस्था गरिएको प्रमुख गौतमले बताउनुभयो ।

    अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. इन्द्र ढकालले निर्वाचनलाई सफल बनाउनका लागि स्वास्थ्यको क्षेत्रबाट आफूहरुले गर्न सक्ने योगदानका रुपमा यो कार्यक्रमलाई लिइएको जानकारी दिनुभयो । जनताको स्वास्थ्य सेवाप्रति अस्पताल संवेदनशील भएको बताउँदै उहाँले कुनै पनि अवस्थामा स्वास्थ्यको सहज पहुँचका लागि सधै प्रतिबद्ध रहेको बताउनुभयो । 

    अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै अस्प्तालकोतर्फबाट आवश्यक स्वास्थ्य सेवालाई उक्त अवधिमा थप प्रभावकारी बनाउन टास्क फोर्स गठन गरिएको बताउनुभयो । जनताको स्वास्थ्य सेवाका सम्बन्धमा अस्पताल परिवार सधै संवेदनशील रहेको बताउँदै उहाँले खास परिस्थितिहरुमा थप प्रभावकारी बनाउने प्रयासस्वरुप विशेष स्वास्थ्य सेवा दलको अवधारणा अघि सारिएको उल्लेख गर्नुभयो ।