बुधवार , फाल्गुण १३, २०८२
बुटवल, १३ फागुन । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ११५ औं वार्षिकोत्सवको अवसरमा आयोजित अतिरिक्त क्रियाकलाप अन्तरगत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा अस्पतालको फार्मेसी विभाग प्रथम भएको छ ।
अस्पतालका विभिन्न विभागहरुमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुबीच भएको प्रतियोगितामा प्रशासन समूह द्वितीय तथा एनेस्थेसिया समूह तृतीय हुन सफल भएको छ । त्यसै गरी ईमरजेन्सी विभाग समूह सान्त्वना हुन सफल भएको छ । प्रतियोगितामा नर्सिङ विभाग, रेडियोलोजी विभाग तथा प्रयोगशाला विभागहरु ७ समूहको सहभागीता थियो ।
प्रथम हुने फार्मेसी विभागमा हरी खनाल, डोलराज मगर र अनिश चौधरी सहभागी हुनुभएको थियो । त्यसै गरी द्वितीय भएको प्रशासन समुहमा माधव घिमिरे, सुनिता अर्याल र तुल्सीराम खनाल सहभागी हुनुभएको थियो । तृतीय भएको एनेस्थेसिया विभाग समुहमा सत्यराज शाक्य, मेनिला भुर्तेल र डा. अंशु न्यौपाने प्रतियोगीका रुपमा सहभागी हुनुभएको थियो ।
प्रतियोगिताका विजेताहरुलाई सम्मान गर्दै अस्पताल विकास समितिका अध्यक्ष अजमान श्रेष्ठले रचनात्मक प्रतियोगिताको माध्यमबाट स्वास्थ्यकर्मी तथा कर्मचारीहरु अस्पतालको सेवामा थप समर्पित हुने भावनाको जागृत भएको बताउँदै भन्दै खुसी व्यक्त गर्नुभयो । जस्तोसुकै परिस्थितिमा सधै जनताको स्वास्थ्य सेवामा तल्लिन हुने पेशाकर्मीहरु वार्षिकोत्सवको सन्दर्भमा आपसी सद्भाव, एकता र पेशाप्रतिको मर्यादामा थप केन्द्रित हुने वातावरण निर्माण भएको उहाँले बताउनुभयो । उहाँले अस्पताल विकास समिति आवश्यक सहकार्यका लागि सधै तत्पर रहेको उल्लेख गर्नुभयो । त्यसतै अस्पताल विकास समितिका सदस्य लक्ष्मी भट्टराईले पेशागत मर्यादामा रहेर आफ्नो जिम्मवारी पूरा गर्ने सबै स्वास्थ्यकर्मी तथा कर्मचारीको पक्षमा समितिले सधै साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. इन्द्र ढकालले सेवाग्राहीलाई गरिने व्यवहार आफूले पूरा गर्नुपर्ने कर्तव्य र मर्यादाका बारेमा स्वास्थ्यकर्मीहरु सधै संवेदनशील भएर लाग्ने गरेको उल्लेख गर्नुभयो । अन्य पेशा तथा कर्मभन्दा स्वास्थ्यकर्मीको पेशा निकै संवेदनशील र मर्यादित हुनुपर्ने बताउँदै उहाँले सोही भावनाअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
अस्पतालले हरेक वर्ष फागुन १५ गते मनाउँदै आएको वार्षिकोत्सव अन्तरगत यस वर्ष पनि विभिन्न अतिरिक्त क्रियाकलापसहित सप्ताहव्यापी मनाएको छ । चिकित्सक, स्वास्थ्यकर्मी, स्टाफनर्स तथा कर्मचारीहरुसहित करिब ९ सय जना कार्यरत रहेको लुम्बिनी प्रदेशकै ठूलो यस अस्पतालमा वार्षिक साढे ३ लाख बढीले स्वास्थ्य सेवा लिने गर्दछन् ।
वार्षिकोत्सवको अवसरमा कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई सम्मान, अभिमुखीकरण, रक्तदान तथा फलफूल वितरण, सरसफाई तथा सचेतना कार्यक्रमका साथै स्वास्थ्यकर्मी तथा कर्मचारीहरुबीच मैत्रीपूर्ण भलिबल, फुटबल, ब्याटमिन्टन, म्याराथन लगायतका प्रतियोगिताहरु आयोजना गरिएको अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij