शनिवार , फाल्गुण १६, २०८२
परिचय
नमस्कार, म रुपन्देहीको भैरहवास्थित ‘होटल सिटी सेन्टर’ को संस्थापक तथा सञ्चालक हुँ । करिब ११ वर्ष अगाडि मैले यस व्यवसायको सुरुवात गरेको हुँ । हाम्रो होटलले लुम्बिनी क्षेत्र आउने आन्तरिक तथा बाह्य पर्यटकलाई उच्चस्तरको आवास, खानपान र पारिवारिक वातावरण उपलब्ध गराउँदै आएको छ । पर्यटन व्यवसाय भनेको केवल होटल चलाउनु मात्र होइन, यहाँ आउने पाहुनालाई नेपालको संस्कृति, आतिथ्यता र मिठाससँग परिचित गराउनु पनि हो । त्यसैले हामी लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा सधैं सहकार्य गर्दै आइरहेका छौं ।
व्यवसाय प्रवेश
सुरुमा यो मेरो पहिलो रोजाइ थिएन । म आफैं विभिन्न पेशा र व्यवसायमा संलग्न थिएँ । तर, लुम्बिनी क्षेत्रको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व देखेर यो क्षेत्रमा काम गर्ने चाहना पलायो । पर्यटन व्यवसायले देशको अर्थतन्त्र मात्र होइन, सामाजिक र सांस्कृतिक पक्षलाई पनि बलियो बनाउँछ भन्ने महसुस गरें । परिस्थितिले अवसरमा रूपान्तरण पायो र यत्ति राम्रो सम्भावना भएको क्षेत्रमा व्यवसाय थाल्ने निर्णय गरें ।
मुख्य चुनौतीहरू
भैरहवा जस्तो सहरमा व्यवसाय सुरु गर्दा मुख्य चुनौती भनेको आवश्यक पूर्वाधारको अभाव, दक्ष जनशक्ति, व्यवसायप्रति स्थानीय र सरकारी सहकार्यको कमी र त्यो बेला पर्यटकहरूको न्यून संख्या नै थिए । साथै, अतिथि सेवा क्षेत्रमा निरन्तर गुणस्तरीयता कायम गर्नु पनि ठूलो चुनौती थियो ।
चुनौतीमाथि विजय
यी चुनौतीहरू पार गर्न धैर्यता, दीर्घकालीन योजना र राम्रो टीमको साथ चाहिन्छ । मेरो परिवार, विशेष गरी साथ दिने साथीहरूले हौसला दिनुभयो । साथसाथै हामीले अतिथिहरूको सल्लाहलाई आत्मसात गर्दै निरन्तर सुधार गर्दै गयौं । कठिनाइमा पनि हार नमान्ने बानीले आज यहाँसम्म ल्याएको हो ।
सेवास्तरमा सुधार
हामीले सुरु देखि नै ‘अतिथि देव भवः’ भन्ने संस्कारलाई व्यवसायको आधार बनाएका छौं । पाहुनाको सन्तुष्टि पहिलो प्राथमिकता हो । त्यसैले सुविधासम्पन्न कोठा, गुणस्तरीय खानपान, सरसफाईमा विशेष ध्यान र कर्मचारीहरूको नियमित तालिममार्फत सेवा सुधार गर्दै आएका छौं । साथै, पाहुनाको सुझावलाई सम्मानपूर्वक ग्रहण गर्दै तुरुन्त सुधार गरिरहेका छौं ।
डिजिटल युगको भूमिका
आजको युग डिजिटल युग हो । अनलाइन बुकिङ, सामाजिक सञ्जाल र समीक्षाको भूमिका अत्यन्तै महत्वपूर्ण छ । हामी TripAdvisor Booking.com Agoda जस्ता अनलाइन प्लेटफर्म र फेसबुक, इन्स्टाग्राममार्फत हाम्रो सेवा प्रस्तुत गरिरहेका छौं । राम्रो र इमान्दार सेवा दिन सकियो भने डिजिटल प्लेटफर्मले व्यवसाय बढ्न र अन्तर्राष्ट्रियस्तरमा चिनाउन ठूलो मद्दत गर्छ ।
भैरहवाको पर्यटन सम्भावना
भैरहवा केवल व्यापारिक सहर मात्र होइन, लुम्बिनीको प्रवेशद्वार हो । लुम्बिनी क्षेत्र बौद्ध धर्मावलम्बी मात्र नभई धार्मिक, साँस्कृतिक र आध्यात्मिक यात्रामा रुची राख्ने जो–कोहीका लागि अत्यन्त शान्त र पवित्रस्थल हो । यहाँको प्राकृतिक, ऐतिहासिक र धार्मिक सम्पदालाई व्यवस्थित प्रवद्र्धन गर्न सके भैरहवा नेपालको महत्वपूर्ण अन्तर्राष्ट्रिय गन्तव्य बन्न सक्छ ।
लुम्बिनी र गन्तव्य समन्वय
हाम्रो होटलले लुम्बिनी, तिलौराकोट, देवदह र अन्य पर्यटकीय स्थलसँग सहकार्य गर्दै विशेष प्याकेज, टुर गाइड सेवा र पर्यटकलाई सुलभ यातायात सुविधा प्रदान गर्दै आएको छ । अतिथिहरूलाई केवल होटलमा सीमित नराखी, सम्पूर्ण लुम्बिनी अनुभव गराउने हाम्रो प्रयास रहन्छ ।
कोभिड–१९ प्रभाव र पुनः सुधार
कोभिड–१९ ले हाम्रो मात्र होइन, सम्पूर्ण पर्यटन क्षेत्रलाई गम्भीर असर पार्यो । व्यवसाय शून्य जस्तै भयो । तर, हामीले सुरक्षित सेवा, स्वच्छता मापदण्ड अपनाउँदै विस्तारै पुनः सञ्चालन सुरु गर्यौं । स्थानीय पर्यटन प्रवद्र्धन र डिजिटल माध्यममार्फत प्रचार–प्रसार गर्दै व्यवसायलाई बिस्तारै सुधार गर्यौं ।
भविष्य योजना
आगामी दिनमा थप आधुनिक सेवा सुविधासहित होटल विस्तार गर्ने योजना छ । साथै, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै भ्अय–ाचष्भलमथि तथा साँस्कृतिक पर्यटनलाई जोड दिने लक्ष्य लिएको छु । लुम्बिनी क्षेत्रको अन्तर्राष्ट्रिय महत्वलाई मध्यनजर गर्दै नयाँ शाखा खोल्ने र अन्य गन्तव्यसँग सहकार्य गर्ने योजना पनि छ ।
युवाहरूका लागि सन्देश
आजको युवा पुस्तामा अपार क्षमता छ । व्यवसाय सुरु गर्दा सकस र चुनौती अवश्य आउँछ, तर त्यसलाई अवसरमा बदल्न सक्नुपर्छ । केवल नाफाको पछि नलागेर इमान्दारिता, धैर्यता र सेवा भावले काम गरेमा व्यवसायमा सफलता पक्कै आउँछ । पर्यटन व्यवसाय भनेको केवल सेवा होइन, आफ्नो संस्कृति, पहिचान र मुलुक चिनाउने अवसर पनि हो । त्यसैले, देशमै बसेर केही गर्न सकिन्छ भन्ने दृढ आत्मविश्वास बनाउनुहोस् । हिम्मत गर्नुहोस्, कठिनाइमा हार नमान्नुहोस् र आफ्नो क्षेत्रमा नायक बन्नुहोस् । अन्ततः, अरूका अनुकरणमा होइन, आफ्नै पहिचान बनाउनु नै साँचो सफलता हो ।
(लेखक भैरहवाको देवकोटोस्थित होटल सिटी सेन्टरका सञ्चालक हुनुहुन्छ)
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij