२०८२, फाल्गुण २९ गते

Mar 13 2026 | २०८२, फाल्गुण २९ गते

व्यवसायी तेज बहादुर खत्रीको निधन

शुक्रवार , फाल्गुण २९, २०८२

  • 541
    Shares
  • 541
    Shares
  • भैरहवा, २९ फागुन । भैरहवाका व्यवसायी तेज बहादुर खत्रीको निधन भएको छ । बिहीबार बेलुकी सवारी दुर्घटनामा परी घाइते हुनुभएका खत्रीको उपचारका क्रममा निधन भएको हो । 

    जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवलदेखि भैरहवा आउने क्रममा बिहीबार बेलुकी ५ः२० बजे लु ४५ प ५२४२ नम्बरको स्कुटर दुर्घटनामा परी खत्री घाइते हुनुभएको थियो । सिद्धार्थनगर नगरपालिका–९ स्थित नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रको पूर्वपट्टीको मुख्य राजमार्गमा खत्रीले चलाउनुभएको स्कुटर आफै अनियन्त्रित भइ साईडमा रहेको र्‍यालिङमा ठोकिएको ट्राफिक प्रहरीले जनाएको छ । 

    सिद्धार्थनगर नगरपालिका–१३ निवासी ५० वर्षिय खत्रीलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल भैरहवा (युसीएमएस) पुर्याइएको थियो । 

    बिहीबार राती १०ः३६ बजे उपचारका क्रममा उहाँको निधन भएको युसीएमएसले जनाएको छ । स्वर्गीय खत्रीको श्रीमती र दुई छोरा छन् । उहाँको शुक्रबार (आज) रुरुधाम क्षेत्र रिडीमा अन्त्येष्टी गरिने बताइएको छ ।

    मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीका उपाध्यक्ष समेत रहनुभएका तेज बहादुरको खत्रीको निधनले सम्पूर्ण मदिरा व्यवसायी स्तब्ध भएको संघले जनाएको छ । संघले शुक्रबार शोक विज्ञप्ती जारी गर्दै एक इमान्दार व्यक्ति गुमाउनुपर्दा मदिरा व्यवसायी संघ भैरहवालाई अपूरणीय क्षति पुगेको बताएको छ । 

    खत्रीको निधनको शोकमा संघमा आबद्ध सम्पूर्ण मदिरा व्यवसायीहरुलाई फागुन २९ गते शुक्रबार (आज) एक दिनका लागि व्यवसाय बन्द गर्न अनुरोध गरिएको मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष यादव पोख्रेलले जानकारी दिनुभयो । 

    खत्री विगत लामो समयदेखि भैरहवास्थित देवकोटाचोकमा अमृत कोल्ड स्टार्स नामक व्यवसायिक प्रतिष्ठान सञ्चालन गर्दै आउनुभएको थियो ।