शुक्रवार , फाल्गुण २९, २०८२
बुटवल, २९ फागुन । जागरुक बचत तथा ऋण सहकारी लिमिटेड बुटवल उपमहानगरपालिका–६, रुपन्देहीले आफ्नो १८ औं स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ । सहकारीका अध्यक्ष हिमलाल भट्टराईका अनुसार स्थानीय समुदायमा रक्तदानप्रतिको सचेतना जगाउन र मानव कल्याणतर्फ सहयोग पुर्याउन कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन सहकारीका निवर्तमान अध्यक्ष एवं लेखा सुपरीवेक्षण समिति सदस्य लक्ष्मण प्रसाद बस्यालले गर्नुभएको थियो ।
उद्घाटन समारोहमा बोल्दै बस्यालले रक्तदान जीवनदान भएकाले यसप्रकारका सामाजिक कार्यक्रमले सहकारी र समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
सहकारीका सचिव कृष्ण कुमार पोख्रेलले संस्थाले विगतदेखि नै सामाजिक र मानवीय हितका कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रममा सहकारीका सञ्चालक, शेयर सदस्य र कर्मचारीको सहभागीता थियो ।
कार्यक्रममा सहकारी शिक्षा समिति संयोजक थानेश्वर अर्यालले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना संस्थाको रहेको बताउनुभयो । शिक्षा समिति सह–संयोजक भिम पौडेलका अनुसार खुल्ला रक्तदान कार्यक्रममा ३५ युनिट रक्त संकलन भएको छ । उहाँले रक्तदान कार्यक्रममा सहभागीतासँगै शनिबार मानव सेवा आश्रम, बुटवल–सुख्खानगरमा रहेका आश्रित व्यक्तिहरूका लागि भोजन वितरण कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो । यसले सहकारीको सामाजिक उत्तरदायित्व र समुदायसँगको सम्बन्धलाई अझ बलियो बनाउने संस्थाले विश्वास लिएको अध्यक्ष हिमलाल भट्टराईले बताउनुभयो ।
कार्यक्रममा उपस्थित सहकारीका सञ्चालक, शेयर सदस्य र कर्मचारीहरूले रक्तदान कार्यक्रममा सहभागी भएर सहयोग पुर्याएकोमा सबैलाई धन्यवाद दिनुभएको थियो ।
अध्यक्ष भट्टराईले भन्नुभयो–‘सहकारीले समुदायका लागि आर्थिक सेवा मात्र होइन, सामाजिक सेवा पनि निरन्तर प्रदान गर्दै आएको छ ।’ जागरुक बचत तथा ऋण सहकारीले भविष्यमा पनि यसप्रकारका सामाजिक सेवा र मानव कल्याण कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने योजना बनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij