२०८२, फाल्गुण ३० गते

Mar 14 2026 | २०८२, फाल्गुण ३० गते

सुनौलो हजार दिन कार्यक्रम : रोहिणीमा आमालाई पोषण र शिशु स्याहारसम्बन्धी प्रशिक्षण

शनिवार , फाल्गुण ३०, २०८२

  • 238
    Shares
  • 238
    Shares
  • भैरहवा, ३० फागुन । रुपन्देहीको रोहिणी गाउँपालिका–४ स्थित छिपागढमा सुनौलो हजार दिन कार्यक्रम अन्तर्गत सुत्केरी तथा गर्भवती आमालाई पोषण र शिशु स्याहारसम्बन्धी प्रशिक्षण दिइएको छ ।

    शुक्रबार श्री सिद्धार्थ सामुदायिक सिकाइ केन्द्र रोहिणी–४ छिपागढको आयोजना तथा नेसनल फेडेरेसन अफ युनेस्को एसोसिएसन इन जापान–नेपाल (सीएलसी परियोजना) रुपन्देहीको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा आमाहरूलाई बच्चालाई कुपोषणबाट जोगाउने तरिका, सन्तुलित आहारको महत्व र सुपोषित शिशु हुर्काउने विधिबारे जानकारी दिइएको थियो । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष संजय कुमार गुप्ताले बालबालिकाको स्वास्थ्य र पोषणमा आमाको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउँदै समुदायमा पोषणसम्बन्धी चेतना बढाउन कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

    प्रमुख अतिथि रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बालबालिका राष्ट्रका भविष्यका कर्णधार भएकाले उनीहरूको उचित पोषण र स्वस्थ हुर्काइका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले समुदायस्तरमा पोषण सचेतना फैलाउन सिद्धार्थ सामुदायिक सिकाइ केन्द्रले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा रोहिणी–४ का सेमरा क्षेत्रका करिब ६० जना र छिपागढका ५० जना गरी झन्डै ११० जना महिला सहभागी भएका थिए । सहभागी आमालाई स्वास्थ्य चौकीका प्राविधिक तथा स्वास्थ्यकर्मी पुरन चौधरी र इन्दिरा पराजुलीले ६ महिनापछि शिशुलाई खुवाइने पोषिलो ‘सर्वोत्तम पिठो’ तयार गर्ने तरिका, स्तनपानको महत्व तथा बाल स्याहारका विधिबारे प्रशिक्षण दिनुभएको थियो ।

    WhatsApp Image 2026-03-13 at 3.00.57 PM.jpeg

    कार्यक्रममा रोहिणी गाउँपालिका–४ का वडा सदस्य दिल्ली यादवलगायत स्थानीयको उपस्थिति थियो । पछिल्लो समय स्थानीय युवा नेता संजय कुमार गुप्ताको पहलमा रोहिणी गाउँपालिकामा समुदाय लक्षित विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन् । स्थानीय सरकार र सम्बन्धित निकायसँगको सहकार्यमा सञ्चालन गरिएका यस्ता कार्यक्रमले समुदायमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने स्थानीय सरोकारवालाले बताएका छन् ।