बिहिवार , चैत्र १२, २०८२
काठमाडौं, १२ चैत । नेकपा (एमाले)का सांसद क्षितिज थेवेले बलियो राष्ट्रिय अर्थतन्त्र निर्माण र गरिबी निवारणका लागि आफ्नो पार्टीले संसद्मा प्रभावकारी भुमिका खेल्ने बताउनुभएको छ ।
पद तथा गोपनियताको शपथअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । थेवेले दुई तिहाइको जनादेश पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुभकामना दिँदै यो ठूलो जनमतलाई राष्ट्र निर्माण र मुलुकको समृद्धिमा सदुपयोग गर्न सुझाव दिनुभयो । उहाँले जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सरकारको तर्फबाट सार्वजनिक भइसकेपछि आफ्नो धारणा राख्ने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संसदमा राष्ट्र र जनताको निम्ति देशको बलियो अर्थतन्त्र निर्माणको निम्ति, गरिबी उन्मुलनको निम्ति र समृद्ध नेपाल निर्माणको लागि महत्वपूर्ण भुमिका खेल्छौँ ।
जेन–जी प्रतिवेदन सरकारले औपचारिक रुपमा सार्वजनिक गरिसकेको छैन । मिडियामार्फत आएको छ । सरकारले औपचारिक रुपमा प्रतिवेदन सार्वजनिक गरिसकेपछि आफ्नो धारणा सार्वजनिक गरौँला ।
मूलतः अब बन्ने सरकारलाई शुभकामना दिन चाहान्छु । अहिले जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाईको जनादेश दिएको छ । यो जनादेश राष्ट्र निर्माणमा सदुपयोग होस् ।’
गत फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरुले बिहीवार दिउँसो २ बजे पद तथा गोपनियताको शपथ लिँदैछन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij