२०८३, कार्तिक ८ गते

Oct 25 2026 | २०८३, कार्तिक ८ गते

विश्व पोलियो दिवसको अवसरमा भैरहवामा जनचेतना र्‍याली

आइतवार , कार्तिक ८, २०८३

  • 202
    Shares
  • 202
    Shares
  • भैरहवा, ८ कार्तिक । विश्व पोलियो दिवसको अवसरमा शनिबार रुपन्देहीको भैरहवामा ‘इन्ड पोलियो नाउ’ जनचेतना र्‍याली निकालिएको छ । रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी र रोटरी क्लब अफ भैरहवाको संयुक्त आयोजना तथा जोन १७ अन्तर्गतका नौवटा रोट्रयाक्ट क्लबको सहकार्यमा र्‍याली निकालिएको हो ।

    र्‍यालीमा रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी, सेन्ट्रल रोहिणी, सेन्ट्रल सियारी, भैरहवा, लुम्बिनी सिद्धार्थनगर, सिद्धार्थनगर, लुम्बिनी बुद्ध, भैरहवा चौतारी र सेन्ट्रल बौद्धल्यान्ड सहभागी थिए ।

    लुम्बिनी गेटदेखि सुरु भएको र्‍याली बुद्धचोक, बर्मेलीटोल, नारायणपथ, मिलनचोक, बैंकरोड हुँदै देवकोटाचोकमा पुगेर समापन भएको रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका सचिव उपेन्द्र यादवले जानकारी दिनुभयो । ¥यालीमा रोटरी तथा रोट्रयाक्ट क्लबका प्रतिनिधि, विभिन्न सामाजिक संघ–संस्थाका सदस्य, नागरिक समाजका अगुवा, युवा तथा सर्वसाधारणको सहभागीता रहेको आयोजकले जनाएका छन् ।

    कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी प्रतिनिधि सभा सदस्य डा. लेखजंग थापाले पोलियोको पहिचान सहज नभए पनि यसको रोकथाम गर्न सकिने बताउनुभयो । उहाँले पोलियोविरुद्ध रोटरीले सञ्चालन गर्दै आएको अभियानको प्रशंसा गर्दै रोगहरू पुनः फर्केर आउन सक्ने भएकाले पोलियोलाई फर्किन दिन नहुनेमा जोड दिनुभयो । आफू पनि रोटरीमा आबद्ध रहेको उल्लेख गर्दै उहाँले रोटरीका अभियानमा आफ्नोतर्फबाट पनि केही काम गर्दै आएको बताउनुभयो ।

    त्यस्तै प्रतिनिधि सभा सदस्य ज्ञानु पौड्यालले पोलियोविरुद्ध जनचेतना फैलाउन ¥याली आयोजना गर्नु महत्वपूर्ण कार्य भएको बताउनुभयो । उहाँले पोलियो उन्मूलनमा रोटरीले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै संस्थाले गरेको योगदानको जति प्रशंसा गरे पनि कम हुने उल्लेख गर्नुभयो ।

    रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२, वर्ष २०२६–०२७ का डिष्ट्रिक्ट रोट्रयाक्ट रिप्रेजेन्टेटिभ (जेडआरआर) प्रकाश शर्माले चाडपर्वका समयमा पनि कार्यक्रममा उल्लेखनीय सहभागीता देखिएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले विश्व पोलियोमुक्त नहुँदासम्म रोटरीको अभियान निरन्तर जारी रहने बताउनुभयो ।

    रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष गंगाधर भण्डारीले पोलियो उन्मूलनका लागि रोटरीले निरन्तर काम गर्दै आएको बताउनुभयो ।

    रोटरी क्लब अफ भैरहवाका अध्यक्ष अजय कुमार गुप्ताले पोलियोविरुद्धको अभियानलाई आजीवन निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ को पोलियो कमिटीका को–चेयर जितेन्द्र शर्मा र रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको अध्यक्ष विष्णुकुमारी थापाले पोलियोविरुद्धको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    रोटरी इन्टरनेशनलले विश्वव्यापी रूपमा सञ्चालन गर्दै आएको पोलियो उन्मूलन अभियानलाई थप प्रभावकारी बनाउने, प्रत्येक बालबालिकालाई पोलियोबाट सुरक्षित राख्ने तथा पोलियोविरुद्धको नियमित खोपको महत्वबारे समुदायमा सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन् । र्‍यालीपछि रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो ।