२०८२, चैत्र १६ गते

Mar 30 2026 | २०८२, चैत्र १६ गते

पत्रकार महासंघलाई राजनीतिक दलको शाखा नबनाउन पूर्वसभापति नेपालको आग्रह

सोमवार , चैत्र १६, २०८२

  • 355
    Shares
  • 355
    Shares
  • काठमाडौं, १६ चैत । नेपाल पत्रकार महासंघका पूर्वसभापति किशोर नेपालले महासंघलाई कुनैपनि राजनीतिक दलको शाखा वा प्रचार विभागको रूपमा प्रयोग नगर्न आग्रह गर्नुभएको छ । 

    महासंघको स्थापना र विकासमा महत्वपूर्ण भुमिका खेल्नुभएका नेपालले पछिल्लो समय पत्रकारितामा बढ्दो राजनीतिकरण र घट्दो गुणस्तरप्रति चिन्ता व्यक्त गर्नुभएको हो ।

    पत्रकार महासंघको स्थापना दिवसको अवसरमा बोल्दै उहाँले महासंघभित्र वैचारिक विविधता हुनु स्वभाविक भएपनि पछिल्लो समय यो संस्था विभिन्न राजनीतिक दल र गुटहरूको अङ्ग जस्तो बन्नु दुःखद् रहेको बताउनु भयो । पूर्वसभापति नेपालले राजनीतिले पत्रकारितालाई कहिल्यै पनि डोमिनेट गर्न नहुने बरु पत्रकारिताले राजनीतिलाई मार्गनिर्देशन गर्नुपर्नेमा जोड दिनुभयो । 

    उहाँले भन्नुभयो, ‘मलाई के लागिरहेको छ अहिले भन्दाखेरि हामी इन्डिपेन्डेन्ट छैनौँ । हामी स्वतन्त्रताको कुरा गर्छौँ तर हामी स्वतन्त्र छैनौँ । हामीलाई आफ्नो मानसिकताले अरूअरू आवश्यकताहरूले बाँधिराखेको छ । र अनि नेपाल पत्रकार महासंघभित्र आइसकेपछि वैचारिक विविधता भएका दलहरूको जस्तो नहोस् भनेर भनेको, नेपाल पत्रकार महासंघले सब्सीक्वेन्ट लिडरसिपले त्यसलाई ब्रेक गर्न सकेको छैन । यो के भयो भनेदेखि कहिले कुन पार्टीको अङ्ग, कहिले कुन पार्टीको अङ्ग, कहिले कुन गुट, कहिले कुन गुट भयो।

    त्यसबाट पत्रकारहरूको हकहितको कुराहरू हराएको छ । हामीले पत्रकारमुखी होइन राजनीतिमुखी कार्यक्रम बढी गरिरहेका छौँ । यो कुरामा साथीहरू सजग हुनुपर्छ । राजनीतिले पत्रकारितालाई कहिल्यै पनि डोमिनेट गर्नुहुँदैन । पत्रकारिताले राजनीतिलाई मार्गनिर्देशन गर्नुपर्छ ।’

    अहिलेको सामाजिक सञ्जालको युगमा पत्रकारिताको शैलीलाई ‘रिभ्यू’ र ‘रिभिजन’ गर्ने बेला आएको भन्दै उहाँले पत्रकारहरूको वृत्ति विकास, छात्रवृत्ति र क्षमता अभिवृद्धिमा महासंघले ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।