२०८२, चैत्र १९ गते

Apr 02 2026 | २०८२, चैत्र १९ गते

सेतो कोटको अहंकार : जीवन बचाउने मन्दिर कि भावनाको कसाईखाना ?

बुधवार , चैत्र १८, २०८२

  • 49
    Shares
  • 49
    Shares
  • अस्पतालको ढोकाभित्र पस्दा एउटा बिरामीले केवल शरीरको रोग बोकेर जाँदैन, उसले आफ्नो र आफ्नो परिवारको सिंगो भरोसा र जीवनको अन्तिम त्यान्द्रो पनि साथै लिएर गएको हुन्छ । तर, विडम्बना ! आज त्यही भरोसाको केन्द्र ‘उपचार’ को नाममा संवेदनहीनता र अहंकारको एउटा क्रूर अखडा बन्दै गएको छ । जहाँ पीडा कम हुनुपर्ने हो, त्यहाँ स्वास्थ्यकर्मीको रुखो व्यवहार र लापरवाहीले बिरामीको घाउमा नुन–चुक छर्किने काम भइरहेको छ।  सेतो कोट लगाएका ती हातहरू जसले जीवन दिनुपर्ने हो, कहिलेकाहीँ तिनै हातहरू औषधिको गलत मात्रा र दोहोरोपन जस्ता गम्भीर गल्तीमा अल्झिएका देखिन्छन् । अझ उदेकलाग्दो कुरा त के छ भने, यस्ता प्राणघातक त्रुटीरू औँल्याउँदा ‘हाम्रो लामो अनुभव छ’ भन्दै अहंकार ओकल्ने प्रवृत्तिले चिकित्सा क्षेत्रको मर्यादालाई नै धुलिसाफ पारिदिएको छ । अनुभवले मानिसलाई जिम्मेवार र विनम्र बनाउनुपर्ने हो । तर, यहाँ त अनुभवलाई आफ्ना गल्तीहरू लुकाउने र बिरामीको आवाजलाई दबाउने एउटा अभेद्य ढाल बनाइँदैछ ।

    चिकित्सा विज्ञान केवल प्रविधि र औषधिको समिश्रण मात्र होइन, यो त मानवीय संवेदनाको उच्चतम रूप हुनुपर्ने हो । तर, जब एउटा बिरामीलाई केवल ‘केस नम्बर’ वा ’शय्या नम्बर’ को रूपमा मात्र हेरिन्छ, तब त्यहाँबाट मानवीयताको अन्त्य सुरु हुन्छ । औषधिको संवेदनशील वितरणमा ध्यान नदिनु भनेको केवल एउटा प्राविधिक भुल होइन, यो त बिरामीको बाँच्न पाउने अधिकारमाथिको गम्भीर खेलबाड र आपराधिक लापरवाही हो । यस्तो लाग्छ कि कतिपय स्वास्थ्यकर्मीहरूका लागि बिरामीको ज्यान केवल एक तथ्यांक मात्र बनेको छ । लामो समयदेखि काम गरेको दम्भ पालेर बस्नेहरूले यो बिर्सिएका छन् कि उनीहरूको एउटा सानो असावधानीले एउटा घरको मियो ढल्न सक्छ, एउटा आमाको काख रित्तिन सक्छ र कसैको सिन्दुर पुछिन सक्छ । अहंकारले अन्धो बनेको उपचार पद्दतिले कहिल्यै पनि स्वास्थ्य प्रदान गर्न सक्दैन, यसले त केवल थप जटिलता र त्रास मात्रै सिर्जना गर्दछ ।
    मानसिक स्वास्थ्यको पाटो त अझै विभत्स र हृदयविदारक छ ।

    जब कुनै व्यक्ति आफ्नो मनभित्रको आँधी, असह्य पीडा, र आत्मघाती सोचहरू बोकेर मनोवैज्ञानिकको शरणमा पुग्छ, उसले त्यहाँ एउटा सुरक्षित ओत खोजेको हुन्छ । तर, उपचारका नाममा उसलाई ‘तिमी त तिम्रा आमाबाबुका लागि बोझ हौ’ भन्नु वा उसको कमजोरीलाई लिएर कठोर प्रहार गर्नु भनेको उपचार होइन, बरु एउटा छटपटाइरहेको आत्माको निर्मम हत्या हो । यस्ता विषाक्त शब्दहरूले व्यक्तिको बाँकी रहेको आत्मविश्वासलाई पनि खरानी बनाइदिन्छन् । सहानुभूति र बुझाइको खोजीमा गएको मानिसलाई नै दोषी र भार महसुस गराउनु भनेको उसलाई सिधै मृत्युको मुखतर्फ धकेल्नु हो । पछिल्लो समय बढ्दो आत्महत्याका घटनाहरूका पछाडि यस्तै संवेदनहीन परामर्श र ‘काउन्सिलिङ’ को नाममा गरिने मानसिक प्रताडनाको ठूलो हात छ । एउटा शब्दले कसैको जीवन बचाउन सक्छ भने, त्यही शब्दले कसैलाई सधैंका लागि शान्त पनि पारिदिन सक्छ भन्ने कुरा यी ‘विज्ञ’ हरूले कहिले बुझ्ने ?

    विशेष गरी युवा र किशोर उमेरका व्यक्तिहरू, जो आफ्नै अस्तित्व र पहिचानको संकटसँग जुधिरहेका हुन्छन्, उनीहरूका लागि स्वास्थ्यकर्मीको एउटा सानो रुखो व्यवहार पनि जीवनभरको एउटा निको नहुने खत बन्न सक्छ । उनीहरूलाई ‘दबाब’ र ’डर’ होइन, ‘धैर्य’ र ’स्वीकारोक्ति’ चाहिएको छ । जब अन्तिम आशाको किरण मानिएको अस्पताल र परामर्श केन्द्रबाटै नकारात्मकताको विष ओकलिन्छ, तब पीडितले आफूलाई संसारकै एक्लो र असहाय महसुस गर्न थाल्छ । यो केवल एउटा संस्थाको असफलता होइन, यो त सिंगो मानवीय सभ्यता र स्वास्थ्य प्रणालीको पराजय हो । स्वास्थ्यकर्मीहरूले आफ्नो पेशालाई केवल जीविकोपार्जनको माध्यम मात्र सोच्नु हुँदैन; यो त एउटा धर्म हो, जहाँ प्रत्येक शब्द र व्यवहारमा संवेदनशीलताको लेपन हुनु अनिवार्य छ ।

    अब समय आएको छ कि हामी यो मौनतालाई तोडौं र यस्ता बेथितिहरू विरुद्ध गर्जौं । अस्पताल प्रशासन र नियमनकारी निकायहरूले यो बुझ्न जरुरी छ कि डाक्टर वा नर्सको ‘डिग्री’ भन्दा ठूलो उनीहरूको ‘मानवीय आचरण’ हुनुपर्छ । नियमित अनुगमन, कडा जवाफदेहीता र बिरामीको मर्यादाको सम्मान बिना यो सडेगलेको प्रणाली सुध्रिने छैन । बिरामी र उनका आफन्तहरूले पनि आफ्ना अधिकारका लागि आवाज उठाउनैपर्छ; गलतलाई गलत भन्न नसक्नु पनि अर्को लापरबाहीलाई निम्तो दिनु हो । अस्पतालहरू उपचारका मन्दिर हुन्, यिनलाई कसाइखाना वा अहंकार प्रदर्शन गर्ने थलो बन्न दिनुहुँदैन । यदि हामीले आजै यी आवाजहरू बुलन्द पारेनौँ भने, भोलि उपचारको नाममा थप निर्दोष ज्यानहरूले संवेदनहीनताको बलि चढ्नुपर्नेछ ।
    (प्रकाशित सामग्री लेखकका निजी विचार हुन् ।)