शनिवार , चैत्र २१, २०८२
भैरहवा, २१ चैत । रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कन्हैया बनियाले तस्करी नियन्त्रणमा सक्रिय भूमिका खेल्न र अवैध क्रियाकलापको विरोध गर्न अपील गर्नुभएको छ । उहाँले स्वदेशी वस्तुको प्रयोगलाई प्राथमिकता दिन समेत आग्रह गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद बनियाले सीमा नाका क्षेत्रका नागरिक समक्ष यस्तो अपील गर्नुभएको छ । ‘म प्रतिनिधि सभा सदस्यको हैसियतले, हाम्रो सीमा नाका क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक अपील गर्दछु कि हाम्रो भूमि केवल सिमाना होइन, यो राष्ट्रको सम्मान र स्वाभिमानको ढोका हो । यहाँबाट देशमा भित्रिने हरेक गतिविधिले राष्ट्रको छवि निर्माण गर्छ । त्यसैले, केही व्यक्तिको गलत क्रियाकलापका कारण हाम्रो क्षेत्र ‘तस्करीको केन्द्र’ भनेर चिनिनु हामी सबैका लागि पीडादायी विषय हो, ’उहाँले भन्नुभयो ।
खुला सिमानाको संवेदनशीलताले राष्ट्रलाई चुनौती दिइरहेको यस घडीमा सीमा नाका क्षेत्र हुँदै भइरहेको तस्करी नियन्त्रण गर्नु केवल सरकारको मात्र नभइ सबै नागरिकको साझा जिम्मेवारी भएको उहाँको भनाइ छ । उहाँले देशमा शान्ति, सुशासन र समृद्धि स्थापना गर्नका लागि अवैध आयात–निर्यातलाई रोक्दै स्वदेशी उत्पादनको संरक्षण र प्रवद्र्धन गर्नु अत्यावश्यक रहेको उल्लेख गर्नुभयो ।
‘हाम्रा उद्योग, कलकारखाना, व्यापार–व्यवसाय, किसानका कृषि उपज, पशुपन्छीजन्य उत्पादन तथा स्वदेशमै निर्मित वस्तुहरूको प्रयोग बढाउनु नै आत्मनिर्भर अर्थतन्त्रको आधार हो, ’बनियाले भन्नुभयो । उहाँले देशको हित, जनताको समृद्धि र भविष्यको सुनिश्चितताका लागि आजैबाट जिम्मेवार बन्न आग्रह गर्नुभयो ।
‘नेपालको दक्षिणी सीमा क्षेत्रको आफै वासिन्दा भएको कारणले पनि त्यहाँ बसोबास गर्ने सम्पूर्ण नागरिक, जनप्रतिनिधि, सुरक्षाकर्मी तथा सरोकारवाला सबैमा हार्दिक अपिल गर्दछु कि तस्करी नियन्त्रणमा सक्रिय भूमिका खेलौं, अवैध क्रियाकलापको विरोध गरौं । हामी सबैको सानो प्रयासले नै राष्ट्र ठूलो बन्छ, ’बनियाले भन्नुभयो ।
तस्करी जस्ता राष्ट्रविरोधी गतिविधिविरुद्ध एकजुट बन्न, स्वदेशी उत्पादनको प्रयोग र प्रवद्र्धनमा जोड दिन र आफ्नो क्षेत्रलाई बदनाम नभइ विकास र समृद्धिको नमूना बनाउन उहाँको आग्रह छ । देशको सीमाबाट नै राष्ट्रको सम्मान सुरु हुने भएकोले सबै मिलेर सीमालाई स्वाभिमान, सुरक्षा र समृद्धिको प्रतीक बनाउन उहाँले आग्रह गर्नुभएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij