बुधवार , चैत्र २५, २०८२
काठमाडौं, २५ चैत । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशीले कोभिड–१९ को महामारीपछि विश्व पर्यटन क्षेत्र पूर्णरूपमा पुनःस्थापित भइसक्दा पनि नेपाल अझै रिकभरीको चरणमै रहेको बताउनुभएको छ ।
उहाँकाअनुसार सन् २०२५ मा विश्व पर्यटन कोभिड अघिको अवस्था भन्दा करिव ४ प्रतिशतले वृद्धि भइसकेको छ । तर नेपाल भने अझै २ प्रतिशतले पछाडि रहेको छ । उहाँले सन् २०२६ मा पनि नेपालले पूर्ण रिकभरी गर्न नसक्ने अवस्थामा आईपुगेको उल्लेख गर्नुभयो । उहाँकाअनुसार नेपालले पनि २०२५ मा १५ प्रतिशतसम्म पर्यटक आगमन वृद्धि हुने अपेक्षा गरेको थियो ।
सोहीअनुसार पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका कार्यक्रम पनि सञ्चालन गरेको थियो । तर ‘जेन–जी मुभमेण्ट’ र दशैं–तिहारको समयमा भएका प्राकृतिक विपद् (बाढी–पहिरो) र त्यसका कारण सडक अवरोध तथा उडान रद्ध हुँदा पर्यटन क्षेत्रमा असर परेको उहाँले बताउनु भयो । पर्यटन आगमनले कमजोर देखिएपनि यस क्षेत्रको लगानीमा भने उल्लेखनीय प्रगति भएको उहाँको भनाई छ ।
विशेषगरी कोभिडपछि होटल तथा रिसोर्ट क्षेत्रमा ठूलो लगानी भित्रिएको छ । उहाँकाअनुसार कोभिडअघि करिव १०–१२ वटा मात्रै पाँचतारे होटल रहेकोमा हाल १५ भन्दा बढी सञ्चालनमा आएका छन् । साथै अन्तर्राष्ट्रिय चेन होटल र लक्जरी सेग्मेन्टमा समेत विस्तार भएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘कोभिडपछिको पर्यटन हेर्ने हो भने संसारभरी २०२५ मा नै रिकभर भइसक्यो, तर हामी अझै रिकभरीको अवस्थामा पुगेका छैनौँ । संसारको पर्यटन कोभिड अगाडीको भन्दा ४ प्रतिशत बढी ग्रोथ छ भने हामी अझै १÷२ प्रतिशत अझै पछाडी नै छौँ । रिकभरीमा नै हामी पुगेका छैनौ । लगानीको हिसावमा भने हामी धेरै अगाडी छौँ ।
कोभिड पछाडी मात्रै खासगरि हस्पिटालिटि सेक्टरमा होटल, रिसोर्ट क्याटागोरीमा एकदमै ठूलो लगानी आएको छ । कोभिड अगाडी १०÷१२ वटा पाँच तारे होटल थिए भने अहिले १५ भन्दा बढी पाँच तारे होटल छन् । सबैखालका अन्तर्राष्ट्रिय चेन होटल पनि नेपालमा आइसकेको देखिन्छ । त्यो बाहेक लक्जरी सेग्मेन्टको लगानीहरु पनि आएको छ ।
सन् २०२५ मा हाम्रो पर्यटन आगमनमा १२ देखि १५ प्रतिशतसम्मको ग्रोथ हुन्छ कि भन्ने थियो । त्यहीअनुसार प्रचारप्रसारका कामहरु पनि भइरहेका थिए । बीचमा जेन–जी मुभमेण्ट र त्यसपछि दशै र तिहारको समयमा भएको दुई वटा नेचुरल डिजास्टरले गर्दा समस्या भयो । बाढीपहिरोले सडक अवरुद्ध भयो, थुप्रै फ्लाईटहरु क्यान्सिल भए । त्यो समय पर्यटकको लागि मुख्य सिजन थियो । त्यसले पनि पर्यटन आगमनमा समस्या ल्यायो ।’
जेन–जी आन्दोलनले पर्यटन क्षेत्रमा दीर्घकालीन नकारात्मक असर भने नपारेको उहाँले बताउनु भयो । सुशासनको लागी भएको आन्दोलन भन्ने सन्देश गएकोले पर्यटन छिट्टै लयमा फर्किएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘हामीले ३० प्रतिशत डाउन हुन्छ कि भन्ने सोचेका थियौँ । सेप्टेम्वरमा आगमन डाउन नै छ, त्यसपछि हाम्रो रिकभरी अलि छिटो भयो ।’
उहाँले पर्यटनको लागि सन् २०२६ को शुरुवात सकारात्मक देखिएपनि नयाँ चुनौतीहरू थपिएको बताउनु भयो । मध्येपुर्वमा देखिएको तनावको कारण नेपालको पर्यटन क्षेत्रमा ठूलो चुनौती खडा भएको उहाँको भनाई छ ।
उहाँकाअनुसार जनवरीमा १५ दशमलब ७ प्रतिशत र फेब्रुअरीमा ८ प्रतिशतले पयर्टन आगमनमा वृद्धि भएको थियो । तर मार्चमा मध्यपूर्व संकटका कारण भएको हवाई मार्ग अवरोध र इन्धन संकटले पर्यटन आगमनमा कमी आएको छ ।
ईन्धनमा देखिएको अवरोधले सेवा समेत महँगो हुँदै जाने उल्लेख गर्दै उहाँले यो अवस्था लम्बिएमा यातायात, होटल र रेष्टुरेण्ट सेवामा समेत मूल्यवृद्धि हुने बताउनु भयो । मूल्यवृद्धिको प्रत्यक्ष असर पर्यटकमा पनि पर्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘२०२६ मा मार्चमा ईलेक्सनको समय थियो, त्यतिबेला फेरि द्वन्द्व, झगडा हुन्छ कि भन्ने चिन्ता थियो तर त्यसो भएन । जनवरीमा १५.७ प्रतिशतले ग्रोथ भयो, जुन राम्रो मानिन्छ । फेब्रुअरीमा ८ प्रतिशतले ग्रोथ भयो ।
मार्चमा आएर मध्यपुर्वको क्राईसिसले ठूलो चुनौती ल्याएको छ । एउटा त हाम्रो त्यो रुट नै बन्द भयो, अर्को फ्युल क्राईसिसले गर्दा हामीले दिने सेवा डबल महंगो भएको जस्तो देखिन्छ, जस्तो अहिले एअरलाईन्सकै कष्टहरु बढेर आएको छ ।
यो लम्बियो भने हाम्रो ट्रान्सपोर्टको होटल, रेष्टुरेण्टले दिने सर्भिस पनि महंगो हुनसक्ने देखिन्छ । त्यसले अलि चुनौतीपूर्ण अवस्थामा नै हामी छौँ । यो अवस्थामा पनि हामी कसरी आगमन बढाउनसक्छौँ भन्ने वैकल्पिक बाटोको खोजीमा छौँ ।’
जोशीले नेपालमा पर्यटन बढाउनको लागि व्यवस्थापकीय सुधार अति आवश्यक रहेको बताउनु भयो । साना तर महत्वपूर्ण व्यवस्थापकीय कमजोरीले नेपालको छवि धुमिल भएको उहाँको भनाई छ । नेपाल राम्रो देश र राम्रो मानिस भएको ठाउँ भएपनि व्यवस्थापनमा कमजोर छ भन्ने सन्देश गएको उहाँले बताउनु भयो ।
पर्यटन क्षेत्रसँग सम्बन्धित पूर्वाधार, अध्यागमन सेवा, संरक्षित क्षेत्र व्यवस्थापन र आन्तरिक उडान ढिलाइ जस्ता समस्याहरू समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पर्यटकलाई अनावश्यक रूपमा यात्रा लम्ब्याउनुपर्ने अवस्था आउनु नकारात्मक हुने उहाँको भनाइ छ।
उहाँले भन्नुभयो, ‘हामीले फिक्स गर्नुपर्ने साना कुराहरु नै हो । साना कुरा राम्रो भयो भने ठूला चिजहरुको लागि फाउण्डेशन तयार हुन्छ । साना चिजले हामीलाई नचाहिने ईन्गेजमेण्ट बढाएको छ । साथै नकरात्मक सन्देश पनि गएको छ । नेपालमा वेल म्यानेज छैन, राम्रो देश, राम्रो मान्छे भएको ठाउँ तर व्यवस्थापकिय हिसावमा नेपाल त्यति राम्रो छैन भन्ने बुझाई छ ।
त्यसले गर्दा पनि क्राईसिस हुँदा पर्यटकको आगमन घटिहाल्ने र कन्ट्रोल हुँदा बढिहाल्ने कारण त्यो पनि हो । यसका लागि हामीले प्राथिमिकतालाई पहिचान गरेर काम गर्नुपर्छ । पर्यटनको नेचर पनि बुझ्नुपर्छ । यसको नेचर पर्यटन क्षेत्रले मात्रै बुझेर हुँदैन, यस क्षेत्रमा जोडिएका धेरै क्षेत्रहरु छन् ।
राम्रो सडक यातयातको पुर्वाधार पर्यटनसँग जोडिएको मुख्य सेक्टर हो । अध्यागमनबाट दिने सेवासर्भिसहरु भए । हामीकहाँ कतिपय निषेधित क्षेत्र, संरक्षित क्षेत्र छन्, त्यहाँबाट दिने सेवा सुविधा, आन्तरिक उडानमा डिले हुने व्यापक समस्या छ । नेपाल घुम्न आएको पर्यटकलाई हाम्रो कारणले यात्रा लम्ब्याउनुपर्ने अवस्था आयो भने राम्रो हुँदैन ।’
नेपालले आफ्नो पर्यटन क्षेत्र उत्पादनको पहिचान र नयाँ प्याकेजिङमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको जोशीले बताउनु भयो । हाल परम्परागत गन्तव्यहरू काठमाडौं, पोखरा र चितवनलाई नै सिमित गरेर पर्यटन प्रवद्र्धनको काम भईरहेको उहाँको भनाई छ । उहाँले यसलाई विविधिकरण गर्नुपर्ने बताउनु भयो ।
उहाँले नेपालमा अध्याधिक सामुदायिक वन रहेको उल्लेख गर्दै उहाँले हति पर्यटनमा जोड दिनुपर्ने बताउनु भयो । वनमा चराचुरुङ्गी अवलोकन तथा नदीमा एङ्गलिङ जस्ता नयाँ सम्भावनाहरू रहेको उहाँको भनाई छ । उहाँले हालै सेती नदीमा हालै एङ्गलिङ गरिएको जानकारी दिनुभयो । नेपालको सेती नदीमा १ सय भन्दा बढी ‘गोल्डेन महासिर’ रहेको उहाँको भनाई छ । उहाँले यस्ता अद्वितीय र दिगो पर्यटन उत्पादनको पहिचान र प्रवद्र्धन गर्नसके नेपालका लागि नयाँ अवसर सिर्जना हुन सक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपालको पर्यटन क्षेत्रमा दुई तीन वटा चिजहरु हामीले गर्न बाँकी छ । भएको चिजलाई पनि हामीले नयाँ प्याकेजिङ, नयाँ क्यरेसन गर्नेकुरा हामीकहाँ कम छ । त्यसका लागि हामीले हाम्रो निजी क्षेत्रलाई ईन्करेज र एजुकेटेड गर्नुपर्नेछ । अहिले पनि हामीले ट्रेडिसनल प्याकेजहरु नै बढी बेचिरहेका छौँ । काठमाडौं, पोखरा, चितवन अथवा काठमाडौंभित्र पनि केही सिमित ठाउँमात्रै ।
नयाँ नयाँ चीजहरु हामीले ल्याउनसकेका छैनौँ । पछिल्ला समयमा हामीसँग २० हजार भन्दा बढी सामुदायिक वनहरु विकास भए, २५÷३० वर्षमा । त्यो चिजमा कार्वन न्युट्रल, कार्वन नेभेटिभ अथवा ग्रीन टुरिजम प्याकेज भनेर प्रशस्त ल्याउन सकिने ठाउँहरु छ । त्यहीभित्र कति धेरै चराहरुको संख्या बढेको छ ।
हामीले हालै सेती नदीमा एङ्गेलिङ (माछा समाउने) ईभेन्ट गरेका थियौँ, यो युरोपमा सबैभन्दा बढी हुने एक्टिभिटिज हो । यो नेपालको लागि एकदमै नयाँ हो । यसमा नेपालले सोच्नुपर्ने के छ भने युनिकनेस र दिगोपना हुने खालको चिजहरु धेरै छन् । तर हामीले त्यसलाई प्याकेजिङ गर्न सकेका छैनौँ । हामीलाई हाम्रै प्रोडक्टको स्ट्रेन्थ थाहा हुँदो रहेनछ ।
एकजना स्कटिस जसले महाकाली नदीमा पिएचडी गर्नुभएको थियो । उहाँसँगको कुराकारनीपछि यसको डिटेल आईडिया थाहा भयो । अहिले यो अफगानस्थानदेखि युनानसम्म करिव ८०÷७० रिभरमा गोल्डेन महासिर पाइँदो रहेछ ।
अधिकांश रिभरमा अहिले कम भइसकेको छ, त्यो । नेपालको सेती नदी जुन छ, सेती नदीमा १०० भन्दा बढी गोल्डेन महासिर छन् । एक प्रकारले भन्ने हो भने त त्यो हाम्रो लागि एभरेष्टजस्तै भयो नी । यस्ता थुप्रै चिज छन् हामीले खोजी गरेर प्रचार गर्नुपर्ने छ ।’
उहाँले पर्यटकलाई दुःख दिने काम पनि गर्न नुहने बताउनु भयो । पोखरामा पर्यटक बसिरहेको बेला होटलमा डोजर चलाएको प्रसंग उल्लेख गर्नुहुँदै उहाँले त्यस्ता विषयमा पर्यटकहरुलाई अग्रिम सूचना दिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विगतमा मजदुर आन्दोलन हुँदाखेरी बसिरहेको गेष्टहरुलाई बाहिर निकालेर होटल बन्द गरिदिने, बाटो बन्द गरिदिने काम हुन्थ्यो । हाल पोखरामा केही होटलहरुमा डोजर चल्यो, एकदिन अगाडी गएर पर्यटकलाई कुनै सम्बन्धित निकायले सूचना दिनुपर्ने थियो । तपाईंहरु सुरक्षित बस्नुहोस्, यो मापदण्ड विपरित भएकोले भत्काउन लाग्दैछौँ भन्ने जानकारी दिनुपर्छ ।’
उहाँले पर्यटकहरुलाई सहजताको लागि पर्यटन बोर्डले ‘क्राइसिस कोअर्डिनेसन सेल’ स्थापना गरेको पनि जानकारी दिनुभयो । हड्ताल, कफ्र्यु वा सडक अवरोधका बेला विमानस्थलदेखि होटलसम्म शटल बस सञ्चालन गर्ने तथा प्राकृतिक विपद्का समयमा स्थानीय सरकार, जिल्ला प्रशासन, पर्यटन प्रहरी र निजी क्षेत्रसँग सहकार्य गरी उद्धार तथा समन्वय गर्ने व्यवस्था गरिएको उहाँले बताउनु भयो ।
उहाँले पर्यटन बोर्डले चाहेर पनि धेरै काम बजेट र जनशक्ति अभावका कारण गर्न नसकेको बताउनु भयो । केही नितिगत कारण पनि समस्या भईरहेको उहाँको भनाई छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij