शुक्रवार , चैत्र २७, २०८२
भैरहवा, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् ताहिर अली भाटले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नभएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले भ्रष्टाचार गर्नकै लागि अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको हो कि भन्दै प्रश्न गर्नुभएको हो ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा सांसद् सरस्वती लामालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘भैरहवा र पोखरा अन्तर्राष्टिय विमानस्थल चलेको छैन । मलाई के लाग्छ भ्रष्टाचार गर्नेकै लागि यी विमानस्थल बनाइएको हो कि ? विमानस्थल चलेका छैनन् । भ्रष्टाचार गर्नकै लागि एअरपोर्ट बनाइएको थियो, उडान गर्नका लागि होइन, ’उहाँले भन्नुभयो । विमानस्थल सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
गाउँघरमा जाँदा आर्थिक मन्दीले गरीबहरु सडकमा घुमिरहेको पाइएको उहाँले बताउनुभयो । ‘रिक्सा चालक र मजदूर कामको खोजीमा छन् । गरीबहरुलाई पढाई, दबाई र कमाईको व्यवस्था हुनुपर्छ । जनताले कर तिरिरहेका छन्, तर सुविधा पाइरहेका छैनन्, ’सांसद् भाटले भन्नुभयो ।
अहिले पनि परिवर्तन गर्न सकेनौ भने जनताले कुन सरकारलाई विश्वास गर्ने भन्दै उहाँले प्रश्न गर्नुभयो । महाभारतको युद्ध नबनाउन र सबै मिलेर उपसभामुखको उम्मेदवार सरस्वती लामालाई निर्वाचित गर्न उहाँले आग्रह गर्नुभयो ।
नयाँ सरकार नयाँ जोश र जाँगरका साथ अगाडि बढेको भन्दै सांसद् भाटले सरकारले गरेका हरेक राम्रा कामको आफूहरुले समर्थन गरेको बताउनुभयो । उहाँले देश बचाउन र बनाउन आफूहरु प्रतिपक्षमा हुँदा पनि वर्तमान सरकारलाई साथ दिएको बताउनुभयो ।
राप्रपाका पाँचजना सांसद् सदस्य पाँच पाण्डव जस्तै भएको बताउनुभयो । उहाँले पार्टीको संसदीय दलको प्रमुख सचेतक खुश्बु ओलीले भन्नुभए जस्तै आज सदनमा देखिएको बताउनुभयो । उहाँले पाँचजना एकातिर र अन्य सांसद् एकातिर जस्तो देखिएको बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij