आइतवार , चैत्र २९, २०८२
भैरहवा, २९ चैत । लुम्बिनी मनि चेन्जर व्यवसायी संघ भैरहवा, रुपन्देहीको दशौं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ । शनिबार भैरहवामा सम्पन्न साधारण सभा तथा अधिवेशनले पंकज उदासको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा नवराज जोशी र वासुदेव खनाल, सचिवमा इरफान खान, सह–सचिवमा राजीव उदास र कोषाध्यक्षमा लोकनाथ ज्ञवाली रहनुभएको छ ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा टीका देवी न्यौपाने, बसन्त पोखरेल, अवध किशोर अग्रवाल, आफताब अन्सारी, यदुनाथ लम्साल, अशोक क्षेत्री र आमना शाह रहनुभएको निर्वाचन समितिले जनाएको छ । संघको सल्लाहकारमा विष्णु प्रसाद शर्मा, गोपाल भण्डारी र नरहरी घिमिरे रहनुभएको छ ।
साधारण सभा तथा अधिबेशनको उद्घाटन गर्नुहुँदै नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक जीवन प्रकाश पाण्डेयले राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थाको बारेमा मात्र राष्ट्र बैंक बोल्ने बताउनुभयो । उहाँले अन्य संस्थाका बारेमा अन्य प्रशासनिक निकाय बोल्ने बताउनुभयो । उहाँले मनि चेञ्जर व्यवसायीले प्रवाह गर्ने सेवा पनि पर्यटनमैत्री हुनुपर्नेमा जोड दिनुभयो । विदेशी र भारतीय मुद्राको कारोबार गर्दा मनि चेन्जरहरुको दर धेरै अन्तर गर्न नहुने उहाँको भनाइ थियो ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका बरिष्ठ उपाध्यक्ष दिलीप कुमार कान्दु, चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन रुपन्देही) का अध्यक्ष सचिन रोका, लुम्बिनी मनि चेन्जर व्यवसायी संघका अध्यक्ष ऋषिराम पाण्डेय, निवर्तमान अध्यक्ष गोपाल भण्डारी लगायतले बोल्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij