आइतवार , चैत्र २९, २०८२
बुटवल, २९ चैत । सामुदायिक पहलमा स्थापना भइ सञ्चालनमा रहेको बुटवल हिलपार्क परिषदको १२ औं साधारण सभा सम्पन्न भएको छ । तत्कालीन बुटवल नगरपालिकाको अगुवाइमा २०५७ सालमा स्थापना गरिएको परिषदले उद्यान संरक्षण र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
२०७० सालमा नेपाल सरकारमा विधिवत दर्ता भइ सञ्चालनमा आएको हिलपार्क स्थानीय समुदायका लागि बिहान साँझ घुम्ने, टहलिने स्थानका रुपमा परिचित छ।
साधारण सभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले सभ्य र व्यवस्थित सहरको पहिचान स्थापित गर्न उद्यान तथा पार्कहरूको संरक्षण र विकास अपरिहार्य रहेको बताउनुभयो । उहाँले उद्यानहरूको दिगो व्यवस्थापनका लागि तीनै तहका सरकार र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
पूर्व नगरप्रमुखसमेत रहनुभएका श्रेष्ठले पार्कहरू केवल मनोरञ्जनका साधन मात्र नभइ शारीरिक र मानसिक स्वास्थ्यका लागि पनि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले स्थापना गरिएको हिलपार्कले अपेक्षाअनुसार पर्यटक भित्र्याउन नसकेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य एवं पाण्डे सेवा समाजका अध्यक्ष चिन्तामणि पाण्डेले समुदायस्तरबाट भएको लगानीको उचित मूल्यांकन हुन नसकेको गुनासो गर्नुभयो । उहाँले आवश्यक नीति निर्माण, निर्णय प्रक्रिया सहज बनाउने र देखिएका बाधा–अवरोध हटाउन सबै पक्षको सक्रियता आवश्यक रहेको बताउनुभयो ।
त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीका कार्यवाहक सभापति आशिष न्यौपानेले देश नयाँ जनादेशसहित अघि बढिरहेको उल्लेख गर्नुभयो । उहाँले आर्थिक, सामाजिक तथा सामुदायिक विकासका लागि राजनीतिक दलहरूबीच सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो । उहाँले नयाँ–पुराना भन्ने विभाजनकारी सोच त्यागेर सहकार्यको वातावरण बनाउन आग्रह गर्नुभयो ।
बुटवल हिलपार्क परिषदका अध्यक्ष टंकप्रसाद पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल उद्यान महासंघका अध्यक्ष खेमप्रसाद लुइँटेल, औषधि व्यवसायी संघका अध्यक्ष बाबुराम भट्टराई, परिषदका उपाध्यक्षहरू कृष्णप्रसाद पाण्डे र बोनिन पिया, महासचिव उमाकान्त बस्याल, कोषाध्यक्ष राजेन्द्र ढकाल लगायतले उद्यान व्यवस्थापनका चुनौती र समाधानका उपायबारे धारणा राख्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष, महासचिव र कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनहरू छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको परिषदले जनाएको छ । सो अवसरमा पार्कलाई व्यवस्थित र सुसज्जित गर्न सहयोग पुर्याउने व्यक्ति तथा संघ–संस्था र उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको अध्यक्ष टंक पराजुलीले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij