२०८२, चैत्र ३० गते

Apr 13 2026 | २०८२, चैत्र ३० गते

‘पर्यटन क्षेत्रमा राम्रो भविष्य र सम्भावना छ’

आइतवार , चैत्र २९, २०८२

  • 241
    Shares
  • 241
    Shares
  • भैरहवा, २९ चैत । नेपालमा पर्यटन क्षेत्रमा राम्रो भविष्य र धेरै सम्भावना रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले पूर्वाधारको विकास र नीतिगत सुधारले पर्यटन क्षेत्र अझ धेरै राम्रो हुने बताएका हुन् ।

    नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशको आयोजना, दिगो पर्यटन परियोजना (एसटीपी), नेपाल पर्यटन बोर्ड र युएनडीपी नेपालको सहकार्यमा रुपन्देहीको भैरहवामा भएको चारदिने ‘टुर प्याकेज निर्माण तालिम’ को समापन कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन् ।

    कार्यक्रममा पर्यटन विकास परिषद्, लुम्बिनी प्रदेशका कार्यकारी निर्देशक रामु जोशीले पर्यटन क्षेत्रको भविष्य र सम्भावना राम्रो रहेको बताउनुभयो । ‘लुम्बिनी प्रदेशको पहिलो अवसर र सम्भावना पर्यटन क्षेत्र नै हो । यसका धेरै सम्भावना छन् । पिकनिक स्पट बनाएर मात्रै पर्यटकीय गन्तव्य हुँदैन । पर्यटन प्रवद्र्धनका लागि उपयुक्त बजारमा प्रचारप्रसारका लागि पनि जानुपर्छ, ’उहाँले भन्नुभयो । लुम्बिनी आउने पर्यटक उसै दिन फर्किने गरेकोले बसाई अवधि लम्ब्याउने खालका प्याकेज आवश्यक रहको उहाँको भनाइ थियो ।

    त्यस्तै नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का कार्यकारी सदस्य विजय रिजालले तालिमले काम गर्ने शैलीमा पक्कै पनि फरक पार्ने बताउनुभयो । उहाँले काम गर्ने क्रममा नयाँ किसिमका जानकारी पाउन तालिम र अभिमुखीकरण आवश्यक रहेकोमा जोड दिनुभयो ।

    त्यस्तै नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र बहादुर थापाले पर्यटन प्रवद्र्धनका विषयमा आवाज उठाउनुपर्ने बताउनुभयो । ‘पर्यटन क्षेत्रमा भएका समस्यालाई संस्थागत रुपमा उठाउनुपर्छ । पर्यटन क्षेत्रको विकासका लागि एकताबद्ध भएर अघि बढ्नुपर्छ, ’उहाँले भन्नुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेकोले पर्यटन क्षेत्र प्रभावित भएको बताउनुभयो ।

    नाट्टा लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष तथा प्रमुख सल्लाहकार सागर अधिकारीले टुर प्याकेज पर्यटन व्यवसायीका लागि महत्वपूर्ण कुरा भएको बताउनुभयो । ‘प्याकेज बनाएर मात्र हुँदैन । पर्यटकसँग राम्रो बोली–व्यवहार राम्रो हुनुपर्छ । तपाईले पर्यटकलाई गर्ने व्यवहार महत्वपूर्ण कुरा हो । पर्यटकलाई कस्तो सुविधा चाहिन्छ भन्ने कुरा बुझ्नुपर्छ । हरेक दिन अपडेट हुनुपर्छ, ’उहाँले भन्नुभयो ।

    लुम्बिनी प्रदेशमा धेरै पर्यटकीय गन्तव्य रहेको उहाँले बताउनुभयो । अहिलेको समयमा डिजिटल मार्केटिङ महत्वपूर्ण क्षेत्र भएको उहाँले बताउनुभयो । ‘नेपालमा पर्यटनको सम्भावना छ । पूर्वाधार र राम्रो नीति भए यो क्षेत्र अझै राम्रो हुन्छ, ’उहाँले भन्नुभयो ।

    तालिमका सहभागी भीष्मदेव भारीले नाट्टा लुम्बिनी प्रदेशले टुर प्याकेज निर्माण तालिम प्रदान गरेर ज्ञान हासिलको अवसर प्रदान गरेको बताउनुभयो । उहाँले तालिममा टुर प्याकेज निर्माण सम्बन्धी कुराहरु सिक्ने अवसर पाएको बताउनुभयो । ‘केही गर्ने विश्वास जागेको छ । पर्यटकलाई कस्तो सुविधा दिन सकिन्छ भन्नेलगायत विभिन्न जानकारी पाएका छौं, ‘उहाँले भन्नुभयो ।

    jj.JPG
    undefined

    कार्यक्रममा नाट्टा लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र पाण्डे, सचिव मञ्जु गिरी लगायतले बोल्नुभएको थियो ।
    तालिममा ३० जनाको सहभागीता रहेको तालिम संयोजक तथा नाट्टा लुम्बिनीका कोषाध्यक्ष प्रदीप कुमार पोखरेलले जानकारी दिनुभयो ।

    तालिमका सहभागीहरुलाई प्रशिक्षक विनय शाक्य, नाट्टा लुम्बिनीका कार्यसमिति सदस्य बरुण ज्ञवाली लगायतले प्रशिक्षण दिनुभएको थियो ।