सोमवार , चैत्र ३०, २०८२
हाम्रो समाजमा एउटा ‘मौन महामारी’ भित्रिएको छ, जसले हाम्रा घरका कोठा–कोठामा प्रवेश गरेर हाम्रो सामाजिक संरचनालाई भत्काइरहेको छ । त्यो हो–सामाजिक सञ्जालको बढ्दो दुरुपयोग र यसले निम्त्याएको विकृति । प्रविधि आफैमा नराम्रो होइन । तर, यसको प्रयोग जसरी भइरहेको छ, यसले हाम्रो सामाजिक सद्भाव, हाम्रो मौलिक संस्कार र साँस्कृतिक जग नै हल्लाइदिएको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरो पछिल्लो आँकडा अनुसार नेपालमा एक वर्षको अवधिमा करिब १९ हजार भन्दा बढी साइबर अपराधका उजुरीहरु दर्ता भएका छन् । यो भनेको दैनिक औसत ५० भन्दा बढी घट्ना हुन् । हाम्रो लुम्बिनी प्रदेशको अवस्था झनै चिन्ताजनक छ । युनिसेफ लगायतका निकायको अध्ययन अनुसार साइबर अपराधमा सबैभन्दा धेरै हुने प्रदेशमध्ये बागमती र कोशीपछि लुम्बिनी प्रदेश तेस्रो स्थानमा पर्छ ।
प्रविधि आफैमा विकासको जननी हो । तर, यसको सही प्रयोग हुन नसक्दा आज लुम्बिनी प्रदेशका दुईवटा खम्बा–युवा पुस्ता र महिलाहरु सबैभन्दा बढी पीडित भएका छन् ।
१. युवा पुस्ता र शिक्षाको संकट
तथ्यांकले भन्छ कि औसत एकजना युवाले दैनिक पाँच घण्टा बढी समय टिकटक, फेसबुक र इन्स्टाग्राममा बिताउँछन् ।
– हाम्रा विद्यार्थीहरुमा ‘क्रिटिकल थिङ्किङ’ हराउँदै गएको छ । उनीहरु किताबका पानाभन्दा मोबाईलमा ‘स्क्रोल’ मा बढी व्यस्त छन् ।
– डिजिटल कुलत (Drugl Addiction): लागूऔषधको लत जस्तै आजका युवालाई ‘भाइरल’ हुने लत लागेको छ । यसले गर्दा उनीहरुको उत्पादकत्व घटेको छ र मानसिक स्वास्थ्य (Anxiety र Depression) का समस्याहरु २५ प्रतिशतले बढेका छन् ।
२. महिला सुरक्षा र सामाजिक मर्यादा
साइबर ब्यूरोका अनुसार साइबर अपराधको सिकार हुनेमध्ये ७० प्रतिशत महिला र बालिकाहरु छन् । जसमा,
– फेक आइडी बनाएर चरित्रहत्या गर्ने, तस्वीर दुरुपयोग गर्ने र अनलाइन ब्ल्याकमेङ गर्ने घटनाले लुम्बिनी प्रदेशका कयौं दिदीबहिनीहरु मनसिक र सामाजिक तनावमा छन् ।
– भ्रामक सूचना र सामाजिक सद्भावमा खलल: फेक न्यूज (भ्रामक समाचार)ले समाजमा घृणा फैलाउने, द्वन्द्व निम्त्याउने र हाम्रो सामाजिक सद्भावलाई नै खलबलाउने गरिरहेको छ ।
– अभिव्यक्ति स्वतन्त्रताको नाममा अश्लील शब्द र गालीगलौजको बाढी आएको छ । के हाम्रो संस्कृति र सभ्यताले यही सिकाएको थियो ?
अब प्रश्न उठ्छ–हामी के गर्दैछौं ?
प्रदेशका नागरिकलाई डिजिटल आचरण सभ्य बनाउनका लागि लुम्बिनी प्रदेश सरकारसँग निम्न ठोस मागहरु राख्न चाहन्छु ।
– डिजिटल साक्षरता पाठ्यक्रम: लुम्बिनी प्रदेशका हरेक सामूदायिक र निजी विद्यालयमा कक्षा ८ देखि १२ सम्म अनिवार्य रुपमा ‘डिजिटल साक्षरता र साइबर सुरक्षा’ सम्बन्धी सचेतना कक्षा सञ्चालन गरियोस् ।
– प्रादेशिक साइबर डेस्क: संघीय सरकारसँगको समन्वयमा लुम्बिनी प्रदेशका मुख्य जिल्लाहरुमा साइबर अपराधका उजुरी लिने र तुरुन्त समाधान गर्न छुट्टै संयन्त्र (ँबकत त्चबअप क्थकतझ० निर्माण गरियोस् ।
– चेतनामूलक कानून : सामाजिक सञ्जालमा अफवाह फैलाउने, सद्भाव बिगार्ने र महिला तथा बालबालिका र आम नागरिकलाई मानहानी गर्नेहरुलाई कडा कानूनी दायरामा ल्याउन प्रदेशले छुट्टै निर्देशिका जारी गरोस् ।
– सिर्जनशीलता प्रवद्र्धन : युवाहरुलाई केवल उपभोक्ता मात्र होइन, प्रविधिको उत्पादक बनाउन ‘डिजिटल स्किल ट्रेनिङ’ मा लगानी गरियोस् ।
प्रविधि एउटा धारिलो चक्कु हो, यसले फलफूल काटेर खान पनि सकिन्छ र कसैको घाँटी रेट्न पनि सकिन्छ । हाम्रा नागरिकलाई यो चक्कु कसरी चलाउने भन्ने सिकाउने जिम्मेवारी अब राज्यको हो ।
हामीले आजै यी विकृतिहरुलाई रोक्न युवा शक्तिलाई सही बाटोमा डोर्याउन सही कदम चालेनौं भने, भोलिको पुस्ताले हामीलाई यो सदनमा बसेर रमिते बनेको आरोप लगाउनेछ । लुम्बिनी प्रदेशलाई ‘शान्त र सभ्य डिजिटल प्रदेश’ बनाउन लुम्बिनी प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।
(लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको नवौं बैठकमा प्रदेश सभा सदस्य हेमा बेल्बासे के.सी.ले यो भनाइ राख्नुभएको थियो)
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij