२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

बुद्धको ‘प्रवज्या स्थल’ अनोमा घाटमा बढ्दै पर्यटक

शुक्रवार , बैशाख ४, २०८३

  • 208
    Shares
  • 208
    Shares
  • पश्चिम नवलपरासी, ४ वैशाख ।  पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित ऐतिहासिक तथा धार्मिक क्षेत्र ‘अनोमा घाट’ (त्रिवेणी सुस्ता) मा पछिल्लो समय बौद्ध धर्मावलम्बी र पर्यटकहरूको चहलपहल उल्लेख्य रूपमा बढ्न थालेको छ । सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा राजदरबार त्याग गरी गृहत्याग गरेपछि पहिलोपटक प्रवज्या (दीक्षा) लिएको स्थलका रूपमा चिनिने यस क्षेत्रले विस्तारै अन्तर्राष्ट्रिय पहिचान बनाउन थालेको हो ।

    लुम्बिनी र कपिलवस्तु जस्ता स्थापित बुद्धकालीन स्थलहरूको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरू अहिले बुद्धको महाभिनिष्क्रमणसँग जोडिएको अनोमा नदी किनार खोज्दै सुस्ता पुग्न थालेका छन् । बौद्ध धर्मशास्त्रहरूका अनुसार राजकुमार सिद्धार्थले आफ्नो राजकीय वस्त्र र आभूषण त्यागेर यही अनोमा नदीको किनारमा आफ्नो कपाल मुण्डन गरी भिक्षु जीवनको सुरुवात गर्नुभएको थियो । ‘बुद्धत्व प्राप्तिको यात्रा सुरु भएको यो पहिलो विन्दु भएकाले यसको विशेष आध्यात्मिक महत्व छ,’बौद्ध विद्वानहरू बताउँछन् ।

    पछिल्लो समय यस क्षेत्रमा विभिन्न बौद्ध विहारहरूको निर्माण र संरक्षणका प्रयासहरू सुरु भएपछि पर्यटकहरूको आगमनमा वृद्धि भएको हो । बौद्ध स्थलहरूको संरक्षण र प्रवद्र्धनमा क्रियाशील अनोमा नेपाल जस्ता संस्थाहरूको सक्रियताले गर्दा नै आज पश्चिम नवलपरासीका ओझेलमा परेका बुद्धकालीन स्थलहरूले नयाँ जीवन पाउन थालेका छन् ।

    रूपन्देहीको अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहारका भिक्षु, भिक्षुणी र उपासकहरूको टोलीले गरेको भ्रमणले पनि यस क्षेत्रको प्रचारप्रसारमा थप बल पुर्याएको छ । रूपन्देही बुटवलको तिलोत्तमा नगरपालिका–४, डिंगरनगरस्थित उदय विहारका प्रमुख भन्ते शासनध्वज धर्माचार्य, भिक्षु आनन्द स्थविरले नेतृत्व रहेका भ्रमण दलमा भिक्षु, भिक्षुणी, श्रामणेर, उपासक र उपासिकाहरू गरी २५ जनाको समूहले बुद्धको महाभिनिष्क्रमण स्थल तथा अनोमा प्रवज्या स्थलको अवलोकन भ्रमण गरेको हो ।

    अनोमा नेपालका महासचिव अशोक मानन्धरले अनोमा क्षेत्रको चौतर्फी विकासका लागि संस्थागत रूपमा तीव्र पहल भइरहेको जानकारी दिनुभयो । महासचिव मानन्धरका अनुसार अनोमा क्षेत्रको भौतिक पूर्वाधार विकास र यसको ऐतिहासिक गरिमालाई विश्वस्तरमा चिनाउन ‘अनोमा नेपाल’ ले नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरू तथा विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायहरूसँग समन्वय गरिरहेको छ ।

    शीबपुगढी, त्रिवेणीस्थित ज्योती बौद्ध विहारका अध्यक्ष एवं प्रमुख संरक्षक सिंह बहादुर  थापाले आफ्नो मन्तव्य राख्दै यस क्षेत्रलाई बौद्ध पर्यटकीय स्थलका रूपमा चिनाउन यस्ता भ्रमणहरूले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
    स्थानीय अनोमा बुद्ध विहारका अध्यक्ष सुग्रीव यादवका अनुसार बुद्ध धर्मावलम्बी र स्थानीय समुदायको आस्थाको केन्द्रका रूपमा रहेको यस स्थानमा विहार निर्माणको काम तत्काल सुरु हुने तयारीमा रहेको छ । यसलाई विकास गर्न पूर्वाधार निर्माणका योजनाहरू तयार भइरहेका छन् । उहाँ भन्नुहुन्छ–‘अनोमा क्षेत्रको ऐतिहासिक महत्वलाई बुझेर यहाँ आउने पर्यटकहरूको संख्या बढ्दो छ ।’लुम्बिनी विकास कोषले पनि यस क्षेत्रलाई ‘बुद्धिस्ट सर्किट’ (बुद्ध परिपथ) सँग जोड्ने योजना अघि सारेको छ । ओझेलमा परेका यस्ता ऐतिहासिक स्थलहरूमा हुने भ्रमणले नवलपरासीको मात्र नभइ समग्र देशकै पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

    लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठले भन्नुभयो–‘बुद्धसँग जोडिएका ओझेलमा रहेका यस्ता ऐतिहासिक स्थलहरूमा हुने भ्रमणले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसले बुद्ध परिपथ (बुद्धिस्ट सर्किट) लाई अझ मजबुत बनाउन मद्दत गर्दछ ।’

    सुस्ता पुग्ने पर्यटकहरूले अनोमा नदीको शान्त वातावरण, त्रिवेणी धाम र बुद्धसँग सम्बन्धित पुरातात्विक अवशेषहरूको अवलोकन गर्ने गरेका छन् । स्थानीय प्रशासन र सरोकारवाला निकायले यस क्षेत्रको सडक पहुँच र प्रचारप्रसारमा अझै ध्यान दिने हो भने यो क्षेत्र नेपालको एक प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बन्ने निश्चित छ ।