२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

चुरेमा चक्कर लगाउँदा

बुधवार , बैशाख ९, २०८३

  • 148
    Shares
  • 148
    Shares
  • यात्रा संस्मरण
    चुरे, कान्छो पहाड हो । यसलाई शिवालिक पर्वत समेत भनिन्छ । १ करोड १० लाख वर्षअघि बनेको पहाड र यसको भूगोल, समुद्री सतहदेखि २ हजार १ सय मिटर उचाईसम्म हुने भू–गर्भशास्त्रीहरु बताउँछन् । हामीले २०८३ सालको सुरुवाती भ्रमणको थालनी चुरे पहाडहरुमा वैशाख ७ गते सोमबार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म करिब १० घण्टा चक्कर लगाएर बिट मार्यौ । बुटवलको जीतगढीमा अंग्रेजलाई हराएको उपलक्ष्यमा नेपालीहरुले युद्ध जितेको मानेर प्रत्येक वर्ष वैशाख ७ गते विजयोत्सव मनाउने चलन भएकोले सोही दिवस मनाउने तयारी चलिरहेको थियो । नेपाली सेनाको सहयोगमा भव्यरुपमा विजय दिवस मनाउने चलन कायमै छ ।

    आर्थिक समृद्धिको झिल्को 

    भ्रमण नितान्त अवलोकनका लागि थियो । हाम्रो अवलोकन भ्रमणमा पर्यटन तथा होटल व्यवसायी माधवप्रसाद नेपाल, पत्रकार स्वस्तिक श्रेष्ठ, योग गुरुमा गमला नेपाल, उनकी नातिनी कायरा, ग्रामीण विकासका जानकार साथी युवराज घिमिरे, चालक भाइ र मसमेत थियौं । रुपन्देहीको बुटवलदेखि हिंडेको हाम्रो मोटरले पश्चिम १० किलोमीटर दूरी काटेपछि सैनामैना नगरपालिका वडा नम्बर १ स्थित वनकट्टामा रहेको वडा कार्यालयबाट उत्तरतिर बाटो ततायो । रानीबगिया माथिपट्टी सेनाको क्याम्पनिर सोधपूछका लागि क्षणभर रोकिएपछि तिनाउ गाउँपालिका वडा नम्बर १, को झिंगामारातिर मोटर उक्लियो । उक्त सैनिक एरिया कुनै बेला तत्कालीन माओवादीको क्यान्टोनमेन्ट थियो । यतिबेला नेपाली सेनाको तालिम सेन्टर बनेको छ । 

    वनकट्टाबाट करिब ४५ मिनेटको उकालो र तर्पाएँ बाटो करिब १३ किलोमीटर नापेपछि पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर १ को झिंगामारा, रामपाटा गाउँ पुगियो । हामी त्यहाँ पुग्दा विद्यालय जान हतार गर्दैथिइन् स्थानीय सरस्वती आधारभूत विद्यालयका शिक्षक लक्ष्मी खड्का । उनको विद्यालयमा पुग्ने गरी हामीले नयाँ वर्षको क्यालेण्डर र पुस्तक उपहार दियौं । अलि पर पुगेपछि तेजकुमारी तरामूको होटलमा टुसुक्क बसेर गिलासमा पानी खायौं । पहाडको चिसोपानीले तिर्खा मेट्यौं । दिसापिसाब होटलकै चर्पीमा बिसाएर निर्माणाधीन पौवा होटल हेर्न पुग्यौं । विकट गाउँमा बाटोले सुगमता ल्याउँदै गर्दा होटल, लज, रिसोर्ट खुल्दै जानु आर्थिक समृद्धिको झिल्को देखिनु हो । चुरे क्षेत्रमा ठूल्ठूला भवन बनाउँदा भू–क्षय हुने डर र अवस्थाले गर्दा होटल पनि चुरे क्षेत्र सुहाउँदो निर्माण हुँदै रहेछ ।

    चुरे क्षेत्र सारै कमजोर हुन्छ  । कुनै पनि भौतिक संरचना निर्माण गर्दा सारै बुद्धिमता निर्णय अनिवार्य हुन्छ । बाटोघाटो खोल्दा वा खन्दा सारै ख्याल गर्नुपर्छ ।  वातावरणीय प्रभाव मूल्यांकन नगरी कुनै पनि विकास निर्माण र भौतिक संरचना बनाउनु उचित हुँदैन । चुरेमा अति चरिचरन र वन डढेलो स्वीकार्य हुँदैन । यसले वर्षामास् भू–क्षय भइ चुरेको माटो बग्ने सम्भावना बढेर जान्छ । पाल्पा, तिनाउका रुपन्देही जिल्लासँग जोडिएका सीमावर्ती चुरे क्षेत्रमा रहेका सामुदायिक वनहरुमा डढेलो नलागोस् र लागि हालेमा निभाउन सकियोस् भनेर अग्नी नियन्त्रण तस्ता गठन र परिचालन गरिएका छन् । जसको समन्वय सामुदायिक वन समन्वय समिति, तिनाउ, पाल्पाले गरेको छ । हतारको यात्रा अनि समय अभावका कारण सोही दस्ताकी तिनाउ सचिव लक्ष्मी न्यौपानेसँग भेट्ने अवसर जुरेन । सोही दस्ताकी सदस्य तेजकुमारी तरामूसँग वन डढेलो र दस्ताको परिचालनसम्बन्धि छोटो कुराकानी गरियो । एकराते दहीमा रोटी डोब्दै..............।

    kkkkkkkkkkkk.jpg

    झिंगामारामा रहेको बौद्ध स्तूपा हेर्न अबेला भएकोले सरासर ठूलीउदाङ्ग नजिकै रहेको फोकेसाल गाउँ पुगियो । त्यतिबेला विहानको ११ बजिसकेको थियो । भोकले भोजन खोज्दै थियो । फोकेसाल नजिकै रहेको काठे प्रतिक्षालयमा भोजन गर्ने तयारी गरियो । गमला भाउजुले सुख्खारोटी, आलुभुजिया, ट्वाक्क नूनखुर्सानी, काँक्रा, एकराते दहीको राम्रो प्रवन्ध गरेको देख्दा दंग परियो । भाउजूको भान्सा व्यवस्थापन उल्लेखनीय र प्रशंसनीय रहेको कुरा बताइरहनुपर्ने विषय त हैन । खानेबेला खाली ट्याक्टरले कच्ची बाटोमा धूलो उडाउँदै घैयार गाउँबाट आयो । रोटीमा धूलो हल्का मिसाइ दियो । दहीमा रोटी डोब्दै र नूनखुर्सानीमा काँक्रा दलेर खानुको स्वाद विपत्तै मिठो लाग्यो । आलुको भुजिया पनि स्याम्मै पारियो । चारवटा रोटीले पेटको आयतन बढायो ।  स्वादको शिखर चुमायो । गमला भाउजुकी सानी नातिनी कायराले समेत दुईवटा रोटी पूरै तुरिन् । घरिघरि पत्रकार स्वस्तिक भान्से बन्थे । युवराजले नाइँनाई भने पनि माधव दाइको अनुरोधमा एउटा रोटी घलुवा थपे । माधव दाइले ट्वाक्क जिभ्रो पड्काउँदा स्वाद कति मिठो थियो भनी बयान गर्नै परेन । फोकेसालका स्थानीय किमबहादुर लाम्टाङ्गेसँग रोटी खाँदै गाउँका बारेमा लामै कुरा गरियो । उनलाई पनि काँक्रा र दहीले गमला भाउजुमार्फत् स्वागत गर्ने अवसर जुर्याे ।

    रैथाने होमस्टे चलाउने सपना .......................। 
    पत्रकार स्वस्तिकले क्यामेरा तेर्साएर किमबहादुरसँग फोकेसाल गाउँको जनजीवन, विकास निर्माण, भविष्यको योजनाका बारेमा भिडियो वार्ता गरे । त्यसैमा उनले आफ्नो गाउँमा सिंचाईको अभावले जग्गा भएर पनि तीनै खेती हुन नसकेको सुनाए । पशुपालनबाट जीवन गुजारिएको बताए । आफ्नो गाउँमा रहेको मगर संस्कृति, खानाको संरक्षण गर्नका लागि रैथाने होमस्टे सञ्चालन गर्ने योजना रहे पनि आर्थिक अभावले सञ्चालनमा अवरोध हुने हो कि भन्ने आशंका व्यक्त गरे । ग्रामीण विकासका जानकार युवराजले गाउँलेहरुको सार्थक सहभागीतामा होमस्टे सञ्चालन सम्म्भव रहेको तर, होमवर्क राम्रो गर्नुपर्नेमा सुझाए ।

    लुुम्बिनी पर्यटन विकास परिषदका सदस्य समेत रहेका माधव दाइले समृद्धिका लागि होमस्टे सञ्चालन गर्न आवश्यक रहेको फोकेसाल गाउँमा सबैको सहयोग भएमा सम्भव हुने सुनाए । केहीबेर स्वस्तिकले झिंगामारा स्वाथ्य एकाईकी इञ्चार्ज अहेव मुस्कान पाण्डेयसँग स्वास्थ्य सेवाका बारेमा जानकारी लिए । जनताको घरदैलोमा पुगेकी थिइन्, झोला भिरेर । मैले पनि रक्तचाप परीक्षण गर्दा १२०÷९० एमएमएचजी रहेको थाहा पाएँ । तिनाउ सरकारले गाउँगाउँमा स्वाथ्यकर्मीहरु पठाएर गाउँलेहरुको सेवा गरेको सुन्न र बुझ्न पाइयो । जनताको सरकार हैछ भन्ने प्रमाणित गरेको कुराले खुसी लाग्यो । 

    ताल्चा ठोकिएका घरहरु................। 
    फोकेसालको अवलोकन भ्रमणपछि हामी पश्चिमी गाउँ धैयारतिर लाग्यौं । चिटिक्क मिलेको गाउँ, घरहरु आकर्षक तर केही घरहरुमा भोटे ताल्चा ठोकिएका थिए । सिसाका झ्यालहरु फुटेका थिए । तैपनि सुन्दर गाउँलाई आँखामा र मनमा सजाएर हामी तिनाउ–१ कचल, पश्चिमतिरको अन्तिम गाउँ घैयारलाई छाडेर पाल्पाकै  रैनादेवी–छहरा गाउँपालिका वडा नम्बर ७ को लौधुवापानी गाउँतिर लाग्यौं । उक्त गाउँ पुग्नुअघि बाटाभरि ऐंशैलु लटरम्म फलेका रहेछन् । टिप्दै खाइयो तर उपहारस्वरुप झाँङ्लाई रक्तदान गरियो । माधव दाइले ऐंशेलुको कहावत सुनाए । त्यता लौधुवापानी गाउँ पुगेपछि आँपको फेंदमा निःशुल्क एसी मिल्यो । केहीबेर त्यतै भुलियो । गमला भाउजुलाई हिंड्ने बेलामा स्थानीय चिनजानका खड्का दाजुले सानोखाले टमाटर, आलु र पुदिना उखलेर जरै समेत उपहार अर्थात् कोसेली दिए । गाउँलेका घर साना तर मन फराकिला देख्दा खुसीले धूरी चढे । 
    पाल्पा, तिनाउको पाटनमा माइती अनि लौधुवापानी नजिकै घर रहेकी सुकमाया विक रैनादेवी छहरा गाउँपालिकाकी कार्यपालिका सदस्य हुन् । उनलाई फोन सम्पर्क गरियो । रुपन्देही, सैनामैनातिर झरेकी रहेछिन् । भेटेर बातमार्ने रहरमा बिर्को लाग्यो । त्यसपछि लौधुवापानी गाउँबाट मोटरमा कच्ची बाटो घच्याक र घुचुक गरेर बल्ढेङ्गगढीको मौलाडाँडा पुगियो । हामीले चिया खाने प्रबन्ध गर्यौं, स्थानीय कुटे चिया पसलतिर । माधव दाइले रैनादेवी छहरा वडा नम्बर ७ को वडा कार्यालयतिर पाइला चाले । हामीले पनि वडाध्यक्ष देवेन्द्र पुन, वडा सदस्य सूर्य कार्की र कर्मचारीसँग भेटघाट गरियो । स्वस्तिकले वडाध्यक्षसँग भिडियो अन्तर्वार्ता गरे । वडाध्यक्षले चुरेको कारण हिउँदभर निर्माण गरिएका बाटाघाटा र भौतिक संरचनाहरु प्रायजसो वर्षामासमा नामोनिसान समेत नभेटिने बताए । युवराज र मेरो फोटो, वडा कार्यालय अघि स्वस्तिकले खिचिक्क पार्दिए । जुगौं भरिलाई प्रमाण रहने भयो ।

    मान्छेका फिलामा दुम्सीका किला ...............
    सोही गाउँबाट गहतेका कुलबहादुर खड्का दाइलाई मोबाईलमा सम्पर्क गरियो । उनी खेततिर रहेछन् । घरमा भेट्ने अवसर नजुरेपछि गहते गाउँतिर नजाने निर्णय गरियो । सरासर हामी सुकादमार हुँदै सत्यवतीको बुढीदमार पुगियो वडा कार्यालयमा । वडाध्यक्ष रेमबहादुर रानासँग कृषि स्मार्ट भिलेजका बारेमा चर्चा गरियो । चुरे क्षेत्रमा पर्ने उक्त गाउँमा कृषि उत्पादन राम्रो भए पनि बजार नजिक नभएको कारणले किसानहरु आजित भएको सुनाए । बेमौसमी तरकारी खेती गर्ने किसानहरुले उत्पादनको उचित बजार र मूल्य नपाउँदा निराश र अल्छी बन्दै गएको वडाध्यक्ष रानाले बताए । सुकादमार र सत्यवतीका बुढीदमारलगायतका गाउँहरु दालचिनीको राजधानीनै मान्न सकिन्छ । चुरे क्षेत्रमा फस्टाउँदा खेती भनेकै दालचिनी, हलेदो, केरा हुन् । यिनीहरुको उचित बजार र बजारीकरण हुन सकेमा चुरे क्षेत्रका बासिन्दाहरुको जीवस्तर आकाशिने थियो । अहिले पनि देशभरी चुरे क्षेत्रमा करिब ५० लाख जनसंख्याको बसोबास छ । उनीहरुका आम्दानीको स्रोत भनेकै नगदेबाली हुन् । जंगली जनावरबाट समेत उनीहरु आक्रान्त छन् । आधा बाली त बाँदर, दुम्सी, बँदेललाई निःशुल्क बुझाउँछन् । गाउँलेहरुलाई भालुले भगाएको छ । गाउँलेहरुलाई बाँदरले झापड हानेर घाइते बनाइदिएको छ । मान्छेका फिलामा दुम्सी आफ्ले आफ्ना काँडाका किला गाड्दिएको छ । मानव–वन्यजन्तु द्वन्द्वको बयान कसरी गर्ने होला ? पीर लाग्छ ।

    रेमबहादुरका रकमी कुरा ..........। 
    तीनै तहका सरकारले चुरे क्षेत्रका स्थानीय किसानहरुसँग बसेर उचित योजना निर्माण गरी कार्यान्वयन गर्न सकेमा उत्तम हुने थियो । बुढीदमारमा पर्ने पानीचौर गाउँमा फूलैफूलका रहर लाग्दा घरहरु देखिए । गाउँमा ज्ञानोदय आधारभूत विद्यालय रहेछ । स्वास्थ्य चौकी भए पनि बिरामीहरु प्रायः तराईतिर उपचार गर्न जाने कुरा वडाध्यक्षले सुनाए । गाउँमा विद्यालय छ तर विद्यार्थी छैनन् । कृषि उपज संकलन केन्द्र छ, तर उत्पादन छैन । बाटो छ, मोटर छ तर, सवार गर्ने यात्री छैनन् । घरहरु छन् । मान्छे छैनन् । गाउँको जीवनकथा कष्टकर र लामो छ । रेमबहादुरसँग बिदा मागेर रुपन्देहीतिर कच्चीबाटो ओरालियौं ।

    चुरेकै चिन्ता .......................। 
    चुरे क्षेत्रको अवलोकन भ्रमणबाट १० घण्टामा सोचेभन्दा धेरै जानकारी प्राप्त भयो । चुरेलाई जोगाउन नसक्दा तराई, मधेश मरुभूमिकरण हुन सक्ने भूगर्भशास्त्रीहरुको तर्क, तथ्य र अनुमानहरु छन्  । चुरेमा भौतिक विकास निर्माणको अत्यधिक चापलाई न्यूनीकरण गर्न नसकिएमा ठूलो क्षति हुन सक्ने छ । देशमा रहेको १२.७८ प्रतिशत् चुरे क्षेत्रको संवेदनशीलतालाई बेलैमा बुझ्न र बुझाउनुपर्नेछ । यसो भएमा कमलो पहाड चुरेको संरक्षण सम्भव छ । चुरेमा पानीका मुहानहरु छन् । प्रशस्तै वनजंगलहरु छन् । जीवजनावरहरु छन् र पंक्षीहरु छन् । चुरेको सुन्दरताले मनोरम छ । तर खडेरीको बेला चुरे क्षेत्रमा वन डढेलो लागेका छन् । रुपन्देहीसँग जोडिएको सीमावर्ती क्षेत्रका कारण चोरी निकासी समेत यदाकदा बढ्ने गरेको सुन्नमा आउँछन् । चुरे हाम्रो पौरख हो । हाम्रो गौरव हो । चुरेको संरक्षण र यसको समुचित प्रयोग हुन सक्ने हो भने चुरेका बासिन्दाहरुलाई बाँच्ने प्रशस्त आधार भेटिने छन् । चुरेलाई मासेर, चुरेको विकास असम्भव छ ।

    सर्वत र सातु खाइयो ...................। 
    पाल्पामा पर्ने चुरेबाट रुपन्देहीको सालझण्डी झिमझिमियाँ बजार आइपुग्दा साँझको साढेपाँच बज्दैथियो । झिमझिमियाँमा उहिले रातिकालीन गाउँले बजार लाग्थ्यो । पहाडियाहरुले डोको, डालो, मान्द्रो, कूचो, केरा, बेसार, सोंठी बेच्थे । तराईबासी व्यापारीले नून, मसला, तेल अनि खाद्यान्नहरु बेच्थे, साटासाट समेत गर्थे । यो कुरो पुरानो हो । अहिले रात्रीकालीन बजारको चलन हरायो ।

    बुटवल गोरुसिंगे निर्माणधीन मार्गले सारासर यात्रामा एकछिन अल्मलायो । बुटवलको न्यू ईरा होटल आउँदा साँझको ६ बज्यो । जिउ त हलेदो खाने भए पनि माधव दाइको अनुरोधमा न्यू इरा होटलमा खुदो मिश्रित कालो चियामा पाउरोटी डोबेर खाइयो । हिंड्नेबेला दाइले आलु र सानोखाले गोल्भेडा स्नोपहार प्रदान गरे । हामी पनि मानमाथि भुक्तमान भनेझैं, दाइभाउजु आफूहरुले पाएका कोसेली पनि फेरि हाम्रा लागि कोसेली बने । उदार मनका माधव दाइ र गमला भाउजुसँग अवलोकन भ्रमण र यात्रा गर्न पाउँदा धन्यवाद् नदिइरहन सकिएन । कोसेली बोकेर हामीहरु आ–आफ्ना निवासतिर हुँइकियौं । चुरे घुम्ने दिन अक्षया तृतीया परेकोले बिहानै बुटवलस्थित कान्ति माविमा कक्षा ९ मा अध्ययनरत् वर्षा नाम गरेकी बहिनीले जीतगढीमा सातु र सर्वत पिलाएकी थिइन् । दिनभरी त्यसैले शित्तलता दिइरह्यो ।