२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

ट्राफिक प्रहरी कार्यालय रुपन्देहीद्वारा ३ करोड बढी राजस्व संकलन

बिहिवार , बैशाख १०, २०८३

  • 283
    Shares
  • 283
    Shares
  • भैरहवा, १० वैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले पछिल्लो पाँच महिनाको अवधिमा ३ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिर १ गतेदेखि चैत मसान्तसम्ममा ३ करोड १० लाख २८ हजार रुपैयाँ संकलन गरेको हो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको प्रमुख (प्रहरी निरीक्षक) प्रतिमा कार्कीका अनुसार १४ हजार ६ सय ३९ वटा सवारीसाधनलाई गरिएको कारवाहीबाट उक्त राजस्व संकलन भएको हो ।

    त्यस्तै सोही अवधिमा रुपन्देहीमा ३८९ सवारी दुर्घटना भएको छ । दुर्घटनामा परी ४१ जनाको मृत्यु भएको छ । प्रहरी निरीक्षक कार्कीका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ७१ जना गम्भिर घाइते भएका छन् ।

    तीव्र गति, मादकपदार्थ/लागूपदार्थ सेवन गरेर सवारीसाधन चलाउनु, चालकको लापरवाही, सडक संरचनालगायतका कारणले सवारी दुर्घटना हुने गरेको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । धेरैजसो दुईपांग्रे (मोटरसाईकल/स्कुटर) सवारी दुर्घटना हुने गरेको उहाँले जानकारी दिनुभयो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न कार्यहरु अगाडि बढाएको छ । ट्राफिक आवागमनमा सहजता हुने हेतुले बजार क्षेत्रस्थित सडकखण्डहरुमा ट्राफिक कोन तथा डिभाईडरहरु राखिएको कार्यालयले जनाएको छ ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिकाको मुख्य बजार क्षेत्र तथा वडा नम्बर १ स्थित बेलहियामा ‘नो पार्किङ’ एरिया छुट्टाई कडाइका साथ लागू गरिएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।

    त्यसै गरी यस अवधिमा स्वरुप परिवर्तन गरी चलाउने गरिएका मोटरसाईकलहरुलाई नियन्त्रणमा लिइएकोमा थप कारवाहीका लागि चारवटा मोटरसाईकल यातायात व्यवस्था कार्यालय पठाइएको उहाँले जानकारी दिनुभयो । २३ वटा मोटरसाईकलको साईलेन्सर फेर्न लगाइ पठाइएको उहाँले बताउनुभयो ।

    ‘विभिन्न स्थानमा जेब्रा क्रसिङ बनाइनुका साथै सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विद्यालय तथा सवारीचालकरुलाई विभिन्न स्थानमा गरी ७५ पटक सचेतना कार्यक्रम गरिएको छ, ’उहाँले भन्नुभयो ।