बिहिवार , बैशाख १०, २०८३
भैरहवा । लुम्बिनी इँटा उद्योग व्यवसायी संघ रुपन्देहीले कच्चा पदार्थ (माटो तथा भस्कट) को अभावका कारण जिल्लाका इँटा उद्योग गम्भीर संकटमा परेको जनाएको छ ।
संघले माटो तथा भस्कटको अभावमा जिल्लामा सञ्चालित ४० प्रतिसत उद्योग बन्द भएको उल्ल्ेख गर्दै कच्चा पदार्थको सहजीकरणका लागि सरकारसंग आग्रह गरेको छ । संघले जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमकान्त चपाईलाई ज्ञापन पत्र बुझाउदै कच्चा पदार्थको सहजिकरणका लागि आग्रह गरेको छ ।
संघका अध्यक्ष सुनिककुमार सिन्धीले विगत ३–४ वर्षअघिसम्म सञ्चालनमा रहेका करिब ५२ वटा उद्योगमध्ये झण्डै ४० प्रतिशत उद्योग बन्द भएको बताउनु भयो । उहाँले हाल सञ्चालनमा रहेका उद्योगहरू पनि आर्थिक मन्दी, कच्चा पदार्थ अभाव तथा इन्धनको मूल्यवृद्धिका कारण प्रभावित भएको बताउनु भयो । उहाँले स्थानिय सरकारसंग माटो तथा भष्कटको सहजिकरणका लागि आग्रह गर्नुभयो ।
संघका अनुसार आवश्यक माटो उत्खननमा रोक तथा आपूर्ति अभावले उद्योग सञ्चालनमा कठिनाइ थपिएको छ । उत्पादन घट्दा बजारमा इँटाको अभाव देखिन थालेको छ ।
संघले नेपाल सरकार तथा सम्बन्धित निकायलाई नीतिगत सहजीकरण गरी माटो तथा भस्कटको उपलब्धता सहज बनाउन माग गरेको छ । साथै, उद्योगमैत्री नीति लागू गरी इँटा उद्योग जोगाउन तत्काल पहल गर्न आग्रह गरिएको संघले जनाएको छ ।
उद्योगीहरूका अनुसार समस्या समाधान नभए अझ धेरै उद्योग बन्द हुने र रोजगारीमा समेत नकारात्मक असर पर्ने सम्भावना रहेको छ ।
ज्ञापन पत्र बुझाउन संघका अध्यक्ष सुनील कुमार सिन्धीसहित संघका सल्लाहकार टंकनाथ अधिकारी, उपाध्यक्षद्वय मिनबहादुर पुन, दिपक पौडेल, कार्यसमिति सदस्य दिपक सिन्धी र लेखा संयोजक सुरजमान श्रेष्ठ सहभागि हुनु भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij