२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

निजी क्षेत्रसँग सहकार्य गर्दै उद्योगमैत्री नीति ल्याउँछौं : सांसद खरेल

बिहिवार , बैशाख १७, २०८३

  • 178
    Shares
  • 178
    Shares
  • बुटवल, १७ वैशाख । रूपन्देही उद्योग संघले आयोजना गरेको स्वागत तथा परिचय कार्यक्रममा उद्योगी–व्यवसायीहरूले भोगिरहेका विविध समस्याहरू उठाउँदै समाधानका लागि नीतिगत स्पष्टता र सहजीकरणको माग गरेका छन् । रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सुलभ खरेलसँगको उक्त कार्यक्रममा उद्योगीहरूले कर प्रणालीदेखि औद्योगिक पूर्वाधार, उत्पादन प्रवद्र्धन र कानुनी जटिलतासम्मका विषयमा ध्यानाकर्षण गराएका हुन् ।

    संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षता तथा महासचिव सुमन बस्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा अध्यक्ष पराजुलीले औद्योगिक क्षेत्रका संरचनात्मक समस्याहरू प्रस्तुत गर्नुभयो । उहाँले बुटवल औद्योगिक क्षेत्र र मोतिपुर औद्योगिक क्षेत्र सञ्चालनमा आउन नसकेको, उद्योग स्थापना गर्न उपयुक्त जग्गाको मूल्य अत्यधिक बढेको तथा उद्योगीहरूलाई कर तिर्नुपर्ने निकाय धेरै हुँदा व्यवसाय सञ्चालन जटिल बन्दै गएको बताउनुभयो ।

    उहाँले अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र सञ्चालनमा समेत समस्या रहेको उल्लेख गर्दै उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । अहिलेकै अवस्थामा बुटवल धागो कारखाना सञ्चालन सम्भव छैन, नयाँ प्रविधिसहितको प्लान्ट आवश्यक छ, ’उहाँले भन्नुभयो । साथै, बिटिआई लाई प्राविधिक कलेजका रूपमा विकास गर्नुपर्ने सुझाव दिनुभयो ।

    भैरहवास्थित एकीकृत जाँच चौकी (आईसीपी) सम्म भारतबाट रेल सेवा विस्तार गर्न पहल गर्नुपर्ने उल्लेख गर्दै यसले ओभरलोड समस्या समाधानमा ठूलो राहत पुग्ने उहाँले बताउनुभयो । स्वदेशी उत्पादन प्रयोगसम्बन्धी निर्देशिका प्रभावकारी रूपमा कार्यान्वयन नभएको भन्दै त्यसमा कडाइ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    कार्यक्रममा सल्लाहकार तथा ढुवानी व्यवसायी माधव नेपालले ढुवानीग्राम निर्माण अधुरो रहेको गुनासो गर्नुभयो । देशकै नमुना योजना भए पनि बजेट विनियोजन हुँदाहुँदै पूर्ण हुन सकेन उहाँले बताउनुभयो । ढुवानी सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएकोप्रति असन्तुष्टि जनाउँदै उहाँले त्यसलाई हटाउनुपर्ने माग गर्नुभयो ।

    रोडा ढुंगा तथा क्रसर उद्योग संघ रूपन्देहीका अध्यक्ष गोविन्द भुसालले जिल्लामा रहेका २० वटा क्रसर उद्योगहरु १२ वर्षदेखि नवीकरण हुन नसकेको अवस्था रहेको जानकारी दिनुभयो । कर र भ्याट तिरिरहे पनि नवीकरण नहुँदा उद्योग सञ्चालन अन्योल रहेकाले क्रसरको समस्या दीर्घकालिन रुपमा समाधान हुनुपर्नेमा जोड दिनुभयो ।

    ईट्टा उद्योगी गोकर्ण खड्काले कच्चा पदार्थको अभावमा ईट्टा उद्योग सञ्चालनको मुख्य चुनौती भएको बताउनुभयो । 
    त्यस्तै संघका पूर्वअध्यक्ष माधव पौडेलले स्वदेशी उद्योग संरक्षणका लागि स्पष्ट नीति आवश्यक रहेको औंल्याउनुभयो । ‘स्वदेशी काठ प्रयोग गर्न सकिए आयात घट्छ र उद्योगीलाई राहत मिल्छ,’उहाँले भन्नुभयो । सरकारी कार्यालयहरूलाई प्रविधिमैत्री बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

    महासचिव सुमन बस्यालले फूल बिलिङ प्रणाली कार्यान्वयनमा देखिएका समस्याहरू समाधान गर्नुपर्ने र चेक बाउन्ससम्बन्धी कानून पनि कडा बनाउन आवश्यक रहेको बताउनुभयो ।

    नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बाबुराम बोहोराले नयाँ सरकारको उद्योग नीतिबारे स्पष्टता आवश्यक रहेको बताउनुभयो । परिसंघका प्रदेश अध्यक्ष एजाज आलमले उद्योग क्षेत्रमा देखिएका विकृतिहरू हटाउन रणनीतिक हस्तक्षेप आवश्यक रहेको धारणा राख्नुभयो । उद्योगलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

    उहाँले मुटु अस्पतालका प्रतिनिधिले ठूलो लगानी हुँदाहुँदै पनि भाडा तिरेर समेत जग्गा प्राप्त गर्न नसकेको समस्या सुनाउनुभयो । साथै, अन्तःशुल्क नीति असन्तुलित रूपमा लागू भएको भन्दै अन्त शुल्क व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।

    संघका पूर्वअध्यक्ष महेन्द्रनारायण श्रेष्ठले बुटवललाई दोस्रो राजधानीका रूपमा विकास गर्न सकिने सम्भावना औंल्याउनुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सुलभ खरेलले वर्तमान सरकार सुशासनमा केन्द्रित रहेको बताउँदै उद्योग क्षेत्रका समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । यो सुधारको वर्ष हो । कानूनी जटिलता हटाउँदै उद्योगमैत्री वातावरण बनाउन लागिपरेका छौं’ उहाँले भन्नुभयो । उहाँले वन, पूर्वाधार तथा विकास निर्माणका क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न पहल भइरहेको जानकारी दिनुभयो । सरकारले उद्योग क्षेत्रलाई प्राथमिकतामा राख्दै निजी क्षेत्रसँग सहकार्य गर्नेछ उहाँले स्पष्ट पार्नुभयो ।

    सांसद खरेलले उद्योगीहरूले उठाएका कर, नीतिगत अस्पष्टता र पूर्वाधारसम्बन्धी समस्याबारे अर्थमन्त्री र उद्योगमन्त्रीको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनुभयो । ‘करका दायरामा केही सुधार हुने विश्वास दिलाउन चाहन्छु । उहाँले भन्नुभयो–‘विज्ञ अर्थमन्त्री भएकाले निजी क्षेत्रका अपेक्षा सम्बोधन हुने अपेक्षा गरिएको छ ।’

    कार्यक्रममा सहभागी उद्योगीहरूले समग्रमा उद्योग क्षेत्रलाई प्रोत्साहन गर्ने स्पष्ट नीति, कर संरचनामा सहजीकरण, पूर्वाधार विकास र स्वदेशी उत्पादन प्रवद्र्धनका लागि सरकारको ठोस पहल आवश्यक रहेको जोड दिनुभएको थियो । कार्यक्रममा संघका प्रथम उपाध्यक्ष हरि बहादुर खत्रीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।