२०८३, बैशाख २२ गते

May 05 2026 | २०८३, बैशाख २२ गते

‘अठोट’ लिएर परिचयको नयाँ यात्रामा भोजप्रसाद

मंगलवार , बैशाख २२, २०८३

  • 211
    Shares
  • 211
    Shares
  • माननीय भोजप्रसाद श्रेष्ठको हातबाट २०५५ असोज ८ गते प्रमाण–पत्र प्राप्त गरेको थिएँ । त्यतिबेला उनी साविक बुटवल नगरपालिकाको नगरप्रमुख थिए । प्रमाण–पत्र वितरण समारोहका प्रमुख अतिथि उनै थिए । जिटीजेड संस्थाले आयोजना गरेको उद्यमशीलता प्रवद्र्धन सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिममा उनले उद्यमशीलता बिना व्यक्ति वा देशको आर्थिक समृद्धि सम्भव छैन भन्ने कुराको व्याख्या गरेका थिए । धाराप्रवाह रुपमा उनले दिएको भाषण–सारसंक्षेप मेरो मन, मस्तिष्कमा आज पनि ताजै छ । त्यसपछि उनीसँग लामो समय भेट हुने अवसर जुरेन ।

    २०६२/०६३ को जनआन्दोलन सुरु भयो । आन्दोलनले गति लिन थाल्यो । त्यसपछि उनीसँग बुटवलमा बाक्लै भेट्न पाइयो । आन्दोलनको अग्रमोर्चामा भोजप्रसाद श्रेष्ठको अनुहारले टावर पर्सनालिटीको काम गर्न थाल्यो । जिन्दावाद र मूर्दावादको नारासँगै उनका चोटिला भाषणहरु चोकचोकमा सुन्दा आन्दोलनप्रति थप समर्पित हुन उत्प्रेरणा मिल्थ्यो । दम हुन्थ्यो उनको भाषणमा । जुरुक्कै उचाल्थ्यो उनको भाषणले सबैलाई । तालीको भरमा शरीर तन्काएर अघिपछि भीडमा हिडिन्थ्यो । त्यो उर्जा थप्नेमध्येका अग्रज नेतृत्व थिए भोजप्रसाद ।

    यतिबेला पुस्तक ‘अठोट’ बजारमा आइपुगेको छ । उनको जीवनयात्रा हो सो पुस्तक । प्रगतिशील लेखक संघ, रुपन्देहीको व्यानरमा उक्त पुस्तकको भव्यताका साथ बुटवलमा आइतबार लोकर्पण र परिचर्चा कार्यक्रम सम्पन्न गरिएको थियो । पुस्तकका बारेमा साहित्यकार गिरि श्रीसमगरले सटिक तर, चोटिलो विश्लेषण गरेका थिए । उनको राजनीतिक, सामाजिक नेतृत्वसँगै बुटवलले गरेको उन्नति र प्रगतिको बारेमा चर्चा गरेका थिए । गैरसाहित्यिक ब्यक्तित्व भोजप्रसादले आफ्नै पारामा स्वभाविक साहित्यिक रस पुस्तकमा पोखेको उल्लेख गरे । त्यो नै उनको विशिष्टता रहेको बताए । पुस्तकले दिने सन्देशका बारेमा गहिरो चर्चा गरे । संघर्षशील जीवनयात्रामा भेटिएका भोजप्रसादको ‘अठोट’ सबैका लागि प्रेरणादायी रहेको बखान गरे । गिरि श्रीसले पुस्तकको काव्यिक लयमा समीक्षा गरेका थिए ।

    athhoott.jpg

    अर्का परिचर्चाकार पत्रकार डीआर घिमिरे थिए । उनले चर्को समालोचना गरे । र, भने–भोजप्रसादले बुटवल नगरको मेयर हुँदा गरेको कामको एक हिस्सा पनि बयान गरेनन् । अर्को पुस्तक अनिवार्य रह्यो । ‘अठोट’ पुस्तकलाई थप राम्रो बनाउन सकिन्थ्यो । पुस्तकले बाहिरी फेरो धेरै घुम्यो । तर, घुम्नुपर्ने बुटवल अत्यन्तै कम घुम्यो । डीआर घिमिरेको समालोचना सुनेपछि बुटवललाई नजिकबाट चिनेका भोजप्रसादले पुनःअक्षरका शाब्दिक यात्रा थाल्नेछन् । पत्रकार डीआर घिमिरेले समीक्षा गर्दा कुरामात्र चलाएनन् बरु, उनले सम्पादनका छुरा समेत चलाए । बोल्न र लेख्न सिपालु पत्रकार डीआरको समालोचना सामान्य मानिसलाई फलामको च्युरा लाग्नेछन् । तर, भोजप्रसाद श्रेष्ठ आलोचना खेपेर नाम्चे उक्लिएका साहसिक सगरमाथा यात्री हुन् । सहर्ष स्वीकार गर्नेछन् र आफ्नो पुस्तकलाई पुनः नियाल्नेछन् ।

    bhjjjjkk.jpg

    अर्थ–राजनीतिसम्बन्धि लेखिरहने स्तम्भकार माधवकुमार पौडेलले दुनियाँका तागतवाला नेताहरुसँग भोजप्रसादलाई दाँजेर ‘अठोट’ को चर्चा गरे । देश, दुनियाँ घुमेका भोजप्रसादले आन्तरिक वा बाह्य पर्यटकहरुलाई बुटवल घुम्न योग्य सहर बनाएका हुन् भनेर ठोकुवा गरे । त्याग र समर्पणका धनी, भोजप्रसाद सक्षम नेतामात्र होइनन् असल श्रष्टा समेत रहेको उल्लेख गरे । उनको पुस्तकमा गहिरिएर व्याख्या, विश्लेषण गर्ने माधवकुमारले भोजप्रसादको राजनीतिक निष्ठामा बुटवलको प्रतिबिम्बन खोजे । बुटवललाई आर्थिक केन्द्रको चौराह बनाउन हरप्रयास गर्दै आइरहेका भोजप्रसादले बलियो अर्थतन्त्रको खोजी गरिरहेका छन् । अनवरत समृद्धिको यात्रामा आफ्नो समाज र देशलाई उभ्याउने प्रयत्न गरिरहेका छन् । त्यो सपना पनि भोजप्रसादको अठोट हुन सक्छ ।

    ‘अठोट’ भोजप्रसादको जीवनसंघर्षको मैदान हो । संकल्पको धरहरा हो । सपनाको सगरमाथा हो । अनेकौं विभेदविरुद्धको यात्रामा जेहाद छेड्न रामपुर पारिपट्टि रहेको समासिङ् डाँडालाई साक्षी राखेर अठोट गरेका थिए लड्न, संघर्ष गर्न र सफलता हासिल गर्न । किशोर वयमा जीवनका हरेक पक्षहरुसँग मुकाबिला गर्दै अघि बढेका भोजप्रसादको जीवन कालीगण्डकीजस्तै नागबेली तर, कठोर बनेर बगेको छ । जसरी कालीगण्डकीले घरि वारि, घरि पारिका पाखा,छेउकुनामा हानेको छ, उस्तैगरी उनको संघर्षशील जीवनयात्राले सबैतिर हानेकै छ ।

    त्याग छ उनमा । समर्पणका भाव छन् अनगिन्ति । ‘गरे सकिन्छ’ भन्ने हिम्मत छ । आँटका भकारी हुन् उनी । ‘हिंडे पुगिन्छ’ भन्ने विश्वास छ उनमा । दूरदृष्टि छ । सपनाको खाँचो छैन उनलाई । रातोदिन कर्ममा खटिइरहन उनको शरीरले साथ दिएकै छ । बुढ्यौलीमा पछुतो छैन, उमेरको । आयुको । विगतको । पछुताउनुपर्ने कुनै परिवेश छैनन् उनमा । तैपनि हरपल आफूलाई समीक्षा गर्दै अघि बढिरहेका छन् । उनको घडीले सही समय दिदै आएको छ आजसम्म । उनले जापानीज घडी, नाडीमा बाँधेर नेपाली समय कुरेका छैनन् । समयका पक्का छन् । त्यसैले भन्न सकिन्छ उनी अनुशासनका अगुवा हुन् ।

    उनीसँगै २०५४ सालमा बुटवल नपाको उपप्रमुख भएका विमलबहादुर शाक्यले पुस्तक लोकर्पण कार्यक्रममा भनेका थिए–भोजप्रसादसँग हल मिलाएर काम गर्न कठिन थियो । भोक लाग्दैन्थ्यो उनलाई । समय बितेको हेक्का हुँदैनथ्यो । काम नै उनको पहिलो प्राथमिकतामा पथ्र्यो । इमान्दार नेता र आदर्श–पात्र हुन् उनी । विमलबहादुरका यिनै कुराले भोजप्रसादको ऐना देखाउँछ । उनका बारेमा सटिक विश्लेषण हो यो ।

    राजनीतिका जानकार बुटवलका युवराज गिरिले भोजप्रसादको निष्ठामा कसैले औंला ठड्याउन नसकिने तर्क गर्दै भने–विकासका पर्यावाची हुन् भोजप्रसाद । सबै पार्टीका लागि उनी रोलमोडल हुन् । नामलेभन्दा पनि कामले चिनिएका नेता हुन् भोजप्रसाद । राजनीतिक सहकार्य, समन्वय र सहयात्रा गर्न सक्ने खुबी उनमा प्रशस्त छन् । सायद भोजप्रसादले कमाएका सम्पत्ति भनेकै सम्मान र निष्ठा हुन् ।

    पुस्तक पढिरहँदा उनमा कतै आगाका ज्वाला दन्किएका छन् । कतै आवेगका भुँवरी नाँचिरहेका छन् । आस्थाका निम्ति लडेका भोजप्रसादले कुर्चीका लागि आफ्ना हातहरु कतै पसारेका छैनन् । निष्ठाका नियमहरु बेचेर निम्छरो सपना ओढेका छैनन् । कमिसनको खेलोमा भुलेर कर्तव्यपथ बिर्सिएका छैनन् । हतारको यात्रा गरेर गन्तव्य नपुग्दै दुर्घटित भएका छैनन् । अक्षरका बान्की मिलाएनन् होला, कहींकतै । तर, अनावश्यक शब्द खर्चिएका छैनन् । यो नै उनको खास विशेषता रहेछ ।

    पुस्तक लोकर्पण कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय चेतनारायण आचार्यले भनेका थिए–भोजप्रसादमा कामप्रतिको भोक जागृत छ । समयको सुईअनुसार सुइँकिरहेका छन् उनी । उमेरले आफूभन्दा जेठा भए पनि कामले सधैं तन्नेरी छन् । लेखिरहने, पढिरहने, केही न केही काम गरिरहने बानीले नै भोजप्रसादलाई सक्रिय बनाइरहेको हुनुपर्छ । सरलता, भद्रता तर, कडा स्वभावका भोजप्रसादमा सपनाको बाढीमात्र छैन, संघर्षका अठोटहरु बग्रेल्ती छन् । सफल, सक्षम र सबैका प्रिय भोजप्रसादले बुटवलको जग हालेका हुन् भन्दा मलाई गौरव लाग्छ ।

    भोजप्रसादको स्वीकारोक्ति छ–म कुनै लेखक होइन । साहित्यकार होइन । मेरो जीवनका भोगाई र अनुभूतिको चौपारी हो,‘अठोट’ पुस्तक । यसमा उल्लेखित हरेक कुराहरुले सबैलाई समान रुपमा नछुन सक्छन् । लालित्यपूर्ण लेखाइ नहुन सक्छ । पढ्दा आनन्द नआउन पनि सक्छ तर, सत्य कुरालाई लुकाएर सस्तो मिठास र मनोरञ्जन दिनु मेरो रहर होइन । बाध्यता पनि छैन । ढाँटेर लेखेको छैन । कसैलाई हानी हुने कुरा पनि लेखेको छैन । मैले जे महसुस गरें, त्यसैगरी नै लेखें । यही नै सत्य हो । पक्का हो । यसैमा नै म खुसी छु ।

    पुस्तकमार्फत् आत्मसमीक्षा गरेका छन् उनले कतिपय कुराहरुमा । आत्मालोचित भएका छन् कुनै प्रसंगहरुमा । भोजप्रसादले समाज परिवर्तनका लागि लिएको अठोटले पूर्णता प्राप्त गरेको त छैन । तर, यथास्थितिमा भने उनी छैनन् । कारण, उनी अग्रगामी विचारका पक्षपोषक हुन् । आफैलाई केलाएर आफैलाई खोज्ने व्यक्ति हुन् । मनको दीप बालेर दुनियाँलाई उज्यालो दिन प्रयत्न र अभ्यास गर्ने मानिस हुन् ।

    पुस्तक लेखेपछि उनले एउटा उपमा पाएका छन् । त्यो हो लेखक । सुकुम्बासी आयोगका अध्यक्ष, नगरप्रमुख, माननीय, मन्त्री अरु पनि थुपै्र विभूषण प्राप्त गरेका छन् । तर, उनलाई लेखक भोजप्रसाद श्रेष्ठ भन्दा आत्मगौरव महसुस् भएको हुनुपर्छ । जीवनको यात्रामा उनले आफूलाई लेखक बनाए । जीवनभर कर्मले चिनाए । अब अक्षरमार्फत् देश, दुनियाँलाई चिनाउँदै छन् नयाँ परिचय बोकेर । लेखक बनेर ।

    लोकार्पण कार्यक्रमलाई संक्षेपीकरण गरी बुझ्दा थाहा लाग्छ–भोजप्रसाद श्रेष्ठ लेखक बने । उनले बुटवलको विकासे जग बसाल्ने काममा अग्रसरता देखाएकै हुन् । मेयर हुँदा गरेको कामलाई मात्र बयान गरेर थप पुस्तक लेख्न लेखक भोजप्रसादको कलम थाक्ने छैन । पुस्तक ‘अठोट’ पूर्णताको दस्तावेज होइन । यसमा सम्पादनको कैंची जरुरी छ । सहनशील भोजप्रसादले पुस्तकको कमजोरीलाई अन्तर्मनदेखि स्वीकार गरेर दोस्रो संस्करणमा सच्चाउन कुनै कठिन मान्ने छैनन् ।  उपस्थित उनका साथी, सहयोगीहरुको प्रेरणाले भोजप्रसादमा नयाँ उमंग र हौसला थपेको भने पक्का हो । पुस्तक प्रकाशन भइ बजारमा आउँदा भोजप्रसादमा नयाँ उत्प्रेरणा जागृत भएको छ । यो नै उनको सुखद् पक्ष हो ।

    २८ वर्षअघि भेटेको नगरप्रमुख भोजप्रसाद श्रेष्ठ र अहिलेका लेखक भोजप्रसादमा मैले कायामामात्र फरक पाएँ । तर, गतिशीलता, सक्रियता, अठोटको यात्रामा कतै कमी देखिनँ । यो नै मेरो समीक्षा हो । शाब्दिक सम्मान लेखक भोजप्रसादलाई । अक्षरका यात्रामा सँगसँगै रहँदा म खुसी छु ।