२०८३, जेठ ४ गते

May 18 2026 | २०८३, जेठ ४ गते

सरकारलाई संसदप्रति अझ बढी जवाफदेही हुनैपर्ने व्यवस्था गरौँ : युवराज दुलाल

सोमवार , जेठ ४, २०८३

  • 199
    Shares
  • 199
    Shares
  • काठमाडौं, ४ जेठ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सरकारलाई संसदप्रति जवाफदेही बन्न आग्रह गर्नुभएको छ । 

    सोमवार प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले उक्त आग्रह गर्नुभएको हो । प्रमुख सचेतक दुलालले संसदीय व्यवस्थालाई जनताको समस्या समाधान गर्ने थलोको रुपमा स्थापित हुने गरी नियमावलीमा व्यवस्था गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

    उहाँले विश्वका विभिन्न मुलुकमा संसदीय व्यवस्थामाथि आलोचना हुने गरेको उल्लेख गर्दै नेपालको संसद भने त्यो आलोचनाबाट मुक्त हुनेगरी संचालन गर्न आवश्यक रहेको बताउनु भयो । 

    उहाँले भन्नुभयो,‘संसदीय व्यवस्थामाथि धेरै टिकाटिप्पणीहरु छन । यसलाई गफ गर्ने अखडाको रुपमा पनि आलोचना गरिन्छ । त्यसकारण यो गफ गर्ने अखडा होइन, यो काम गर्ने थलो हो ।

    र जनताका प्रतिनिधिहरुको मर्यादित स्थान हो । र, गौरव गर्न लायक स्थान हो भन्नका लागि स्थापित गर्नुपर्ने छ एकातिर भने अर्कोतिर यसको संसदीय सर्वोच्चतालाई कायम राख्न जसरी सामन्तहरुलाई निरंकुश नहोस राजाहरु भनेर त्यतिबेला म्याग्नाकार्टा गरियो ।

    आज पनि संसदमा जनप्रतिनिधिहरुले उठाएका जनताका भावनाहरुलाई सम्बोधन गर्नका लागि सरकारलाई जवाफदेही बनाउन र जनतामा समस्यामा काम हुने गरी संसदलाई स्थापितगराउन सरकारलाई यो संसदप्रति जवाफदेही बनाउने, प्रधानमन्त्री र मन्त्रीहरुलाई पनि संसदप्रति उत्तरदायी बनाउने यो नियमावलीमा व्यवस्था हुनुपर्छ ।’

    प्रमुख सचेतक दुलालले प्रधानमन्त्री र मन्त्रीहरुलाई संसदप्रति जवाफदेही बनाउने विषयमा पनि आवश्यक व्यवस्था गर्नुपर्ने आवश्यक्ता औल्याउनु भयो ।