सोमवार , जेठ ४, २०८३
काठमाडौं, ४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता एवं प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले केही दिनअघि संसदको रोस्टमबाट व्यक्त गरेका आफ्ना शब्दहरूका कारण पर्न गएको असरप्रति क्षमायाचना गर्नुभएको छ ।
प्रतिनिधि सभाको हालैको बैठकमा बोल्दै उहाँले संसदीय मर्यादाको पालना र सभामुखको आदेशप्रति उच्च सम्मान व्यक्त गर्दै उक्त दुःख व्यक्त गर्नुभएको हो ।
सो अवसरमा उहाँले संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख स्वर्गीय सुवास नेम्वाङलाई स्मरण गर्दै उहाँले सिकाउनुभएको संसदीय अभ्यास र मर्यादाको पाठले आजको प्रक्रियामा मार्गनिर्देश गरेको बताउनु भयो । ‘प्रतिनिधि सभा नियमावली २०८३’ को मस्यौदामाथि सैद्धान्तिक छलफल सम्पन्न भएको छ ।
उहाँले सन् १२१५ को म्याग्नाकार्टादेखि नेपालको २०१६ सालको पहिलो संसदीय अभ्यास हुँदै हालसम्मका सातवटा नियमावलीहरूको विकासक्रमको चर्चा गर्नुभयो । उहाँले यो मस्यौदाले संसदीय प्रक्रियालाई अझ बढी उत्तरदायी, पारदर्शी र जनमुखी बनाउने लक्ष्य राखेको समेत स्पष्ट पार्नुभयो ।
सभापति पराजुलीले भन्नुभयो, ‘सदनको रोस्टमबाट व्यक्त भएका मेरा केही शब्दहरू असंसदीय र अशिष्ट भएको भनी प्रश्न उठेपछि सम्माननीय सभामुखज्यूले ती शब्दहरू हटाउन दिनुभएको आदेशलाई म उच्च सम्मान गर्दछु। मेरा शब्दका कारण आम जनतामा पर्न गएको असर र दुःखप्रति म गहिरो क्षमायाचना व्यक्त गर्दछु।’
नेपालको संविधानको धारा १०४ को उपधारा (१) बमोजिम गठित १५ सदस्यीय मस्यौदा समितिले तयार पारेको यो नियमावलीमा सबै राजनीतिक दलहरूको समानुपातिक प्रतिनिधित्व र सहमति रहेको उहाँले जानकारी दिनुभयो । नियमावलीमाथिको सैद्धान्तिक छलफलमा १७ जना सांसदहरूले आफ्ना धारणा र सुझावहरू राखेका छन् ।
पराजुलीले सांसदहरूबाट आएका रचनात्मक सुझावहरूलाई धन्यवाद दिँदै नियमावलीलाई थप समृद्ध बनाउन संशोधनको प्रक्रिया सुरु भएको बताउनु भयो । सैद्धान्तिक छलफल समाप्त भएसँगै नियमावलीमाथि संशोधन प्रश्ताव पेस गर्न ७२ घण्टाको समय सीमा प्रारम्भ भएको छ ।
सांसदहरूले उठाएका प्रश्न र सुझावहरूलाई समितिमा पुनः छलफल गरिने र संशोधनहरू परेपछि आवश्यकताअनुसार परिमार्जन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
