२०८३, जेठ ५ गते

May 19 2026 | २०८३, जेठ ५ गते

सरकारको प्राथमिकतामा गरिब, सीमान्तकृत र विपन्न परेनन् : सांसद रिजाल

मंगलवार , जेठ ५, २०८३

  • 451
    Shares
  • 451
    Shares
  • काठमाडौं, ५ जेठ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद घनश्याम रिजालले गरिब, सीमान्तकृत र विपन्न नागरिक सरकारको प्राथमिकतामा नपरेको बताउनुभएको छ । 

    मंगलवार बसेको राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथीको छलफलमा बोल्दै उहाँले बजेटको दृष्टिकोण गरिबमुखी नभएको आरोप लगाउनुभएको हो । उहाँले बजेटका सिद्धान्त र प्राथमिकता कर्णप्रिय भएपनि संविधानको मार्गदर्शन, देशको आवश्यकता र जनताको समस्याको समाधानतर्फ मौन रहेको बताउनु भयो ।

    उहाँले प्रधानमन्त्रीप्रति व्यंग्य गर्दै ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने गीतको रिमेक गाएको भएर प्रधानमन्त्रीले गरिबको वास्तविक पीडा बुझ्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले बजेटका सिद्धान्त र प्राथमिकता आफैं अलमलिएको दस्तावेज बनेको उल्लेख गर्नुभयो । उहाँले दस्तावेजमा विपन्न भन्ने शब्दसमेत उल्लेख नभएको बताउनु भयो ।

    दलित समुदायको नाम औपचारिक रूपमा मात्र समेटिएको, मधेसका केही आयोजना उल्लेख भएपनि मधेसी समुदायको सवाल नआएको उहाँको भनाइ थियो । त्यस्तै, विकट क्षेत्र, सीमान्तकृत समुदाय, अल्पसंख्यक थामी, जिरेल, सुरेल, राउटे लगायतका लोपोन्मुख समुदाय सरकारको प्राथमिकतामा नपरेको उहाँको भनाई छ । मुक्तकमैया, कमलरी, हरुवा–चरुवा समुदायको उत्थानका लागि समेत सरकार गम्भीर नदेखिएको उहाँले बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर्णप्रिय छ, पाँच सिद्धान्त र प्राथमिकतामा धेरै कुरा खोजिएको देखिन्छ । तर विडम्बना भन्नुपर्छ, देशको संविधानले मार्गर्दशन गरेको, देशको आवश्यक्ता र देशको समस्याको समाधान गर्ने विषयमा भने यो मौन छ । बजेटका सिद्धान्त र प्राथमिकताले उच्च र मध्यम वर्गलाई लक्षित गरेको र समेट्न खोजेको देखिन्छ ।

    तर यहाँ गरिबको लागी केही छैन, गरिबको चमेली बोल्दिने कोही छैन, भन्ने गीतको रिमेक गाएर राजनितिमा उदाउनुभएका प्रधानमन्त्रीले गरिबको पिडा बुझ्न सक्नुभएन ।

    गरिबको चमेली बोल्दिने कोही छैन भन्ने गीत उहाँ आफैले गाउनुभएको भए पक्कैपनि गरिबको भावना सरकारको प्राथमिकतामा आउने थियो तर रिमेक गाउँनुभएको होला, यो बजेटको सिद्धान्त र प्राथमिकतामा गरिबको, न्युन वर्गको कुरा आएको छैन । बजेटका सिद्धान्त र प्राथमिकता आफैमा अलमलिएको छ, यसमा विपन्न भन्ने शब्द देखिएन ।

    दलित एक ठाउँमा देखियो, तर परम्परागत वाक्यसहितको । मधेसका केही आयोजनाको नाम सुनियो, तर मधेशी कतै सुनिएन । विकट कतै सुनिएन, सिमात्तकृत समुदाय, अल्पसंख्यक थामी तथा लोपोन्मुख जिरेल, सुरेल होस् वा राउटे कुनै समुदाय सरकारको प्राथमिकतामा परेको देखिदैन ।मुक्तकमैया, कमलरी, हरुवा, चरुवा लगायतमा निम्न वर्गको उत्थानमा सरकारको चासो देखिँदैन ।’

    उहाँले बजेटका सिद्धान्त र प्राथमिकताले पूर्वाधार र आर्थिक विकासमा केही बोलेको भएपनि सामाजिक विकासमा ध्यान नदिएको बताउनु भयो ।