२०८३, जेठ १२ गते

May 26 2026 | २०८३, जेठ १२ गते

विदेशी पर्यटकलाई निगरानी गर्न प्रवेश बिन्दुमै ‘युनिक आईडी’ दिनुपर्छ : पर्यटन विभाग

मंगलवार , जेठ १२, २०८३

  • 193
    Shares
  • 193
    Shares
  • काठमाडौं, १२ जेठ । पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले विदेशी पर्यटकको निगरानी तथा व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन पर्यटक प्रवेश बिन्दुमै ‘युनिक आईडी’ दिनुपर्ने बताउनुभएको छ । 

    मंगलवार विभागमा आयोजित ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।  उक्त प्रणाली लागू भइसकेपछि विदेशी पर्यटक नेपालभित्र जहाँ गएपनि उनीहरूको गतिविधिसम्बन्धी विवरण अध्यागमन प्रणालीमार्फत ट्र्याक गर्न सहज हुने उहाँको भनाइ छ ।

    महानिर्देशक लामिछानेले विदेशी पर्यटकको तथ्यांक र सूचनालाई व्यवस्थित तथा सुरक्षित ढंगले राख्ने अध्यागमन विभागको प्रयास प्रशंसनीय रहेको बताउनु भयो । उहाँले सूचना व्यवस्थापन प्रणाली विकास गर्दा पर्यटकको गोपनीयता संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले सूचना संकलन प्रक्रिया सहज, छिटो र अतिरिक्त झन्झटबिना सञ्चालन हुने गरी प्रणालीको विकास गर्नुपर्ने बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘विदेशबाट आउने पर्यटकहरुको तथ्यांक तथा सूचनाहरुलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्ने जुन अध्यागमन विभागको प्रयास छ त्यो अत्यन्त प्रशंसनीय छ । हामी सबैको आपसि सहकार्यमा यो सम्भव भएको हो । अध्यागमन विभागले यसको नेतृत्व गरिरहेको छ । सूचना व्यवस्थापन प्रणालीमा हामीले कन्सियस हुँदै विकास गर्दै लैजानुपर्छ ।

    शुरुमा हामीले पर्यटकको गोपनीयतामा ख्याल गर्नुपर्छ । त्यसको लागि हाम्रो सबै प्रणालीहरु प्रभावकारी हुन जरुरी छ । अर्को कुरा पर्यटकको सूचना संकलनको लागि हामीले अतिरिक्त एफोर्ट गर्नु नपरोस् । सहज रुपमा तथ्यांक संकलन गर्न सहज होस् भन्ने कुरा हेर्नुपर्छ ।

      यति कुरा गर्न सकियो भने यसले हामी सबैको ज्ञान सिप अभिवृद्धि गर्न सहयोग नै गर्छ भन्ने लाग्छ । पर्यटक आउँदाखेरी इमिगे्रसन पोइन्ट्सहरु हुन्छन् । त्यहाँ नै विदेशी पर्यटकलाई एउटा युनिक आइडी दिन सकिन्छ । त्यसपछि उसले जहाँ जे गरेपनि इमिगे्रसनमा उसको प्रोफाइल आउँछ र हामीलाई ट्र्याक गर्न सजिलो हुन्छ ।’

    उहाँले पर्यटन प्रवद्र्धनको लागि पर्यकटीय पूर्वाधार विकासमा जोड दिनुपर्ने समेत बताउनु भयो ।