२०८३, जेठ १८ गते

Jun 01 2026 | २०८३, जेठ १८ गते

१० वर्षयताकै सानो र सन्तुलित बजेट ल्याइएको हो : अर्थमन्त्री डा. वाग्ले

सोमवार , जेठ १८, २०८३

  • 388
    Shares
  • 388
    Shares
  • काठमाडौँ, १८ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा विगत १० वर्षकै सानो र सन्तुलित रहेको दाबी गर्नुभएको छ । 

    सोमवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘पोष्ट बजेट’ छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले बजेटको आकारलाई लिएर भइरहेका भ्रमहरू चिर्नुपर्नेमा जोड दिनुभयो । अर्थमन्त्री वाग्लेले समय र स्रोतको चरम दबाबका बीच बजेट निर्माण गरिएको स्पष्ट पार्नुभयो । आगामी पाँच वर्षको कार्ययोजनासहित जग बसाल्ने गरी यस वर्षको बजेट ल्याइएको र अर्को वर्ष थप परिष्कृत योजनाहरू आउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    बजेट महत्वाकांक्षी भएको आलोचनालाई अस्वीकार गर्नुभयो । उहाँले ६५० अर्ब ऋणको चर्चा भएपनि त्यसको आधाभन्दा बढी हिस्सा पुरानो ऋणको साँवा–ब्याज भुक्तानीमा जाने हुँदा खुद ऋणको भार न्युन रहने विश्लेषण गर्नुभयो ।

    सरकारले आगामी वर्ष १५८० अर्ब राजश्व संकलन गर्ने लक्ष्य राखेको जानकारी दिँदै उहाँले आन्तरिक स्रोत परिचालनमा सरकार दृढ रहेको बताउनु भयो । वैदेशिक ऋणको उपयोग क्षमतामा सुधार ल्याएर ऋण–जीडीपी अनुपातलाई सन्तुलनमा राखिने उहाँको भनाइ थियो । 

    विगत २० वर्षमा निर्मित पूर्वाधारलाई आर्थिक वृद्धिसँग जोड्न सातै प्रदेशमा ‘ग्रोथ क्वाड्र्याङ्गल’ (आर्थिक वृद्धि चतुर्भुज) को अवधारणा अघि सारिएको अर्थमन्त्रीले उल्लेख गर्नुभयो । उहाँकाअनुसार मुग्लिन–पोखरा, सिद्धार्थ राजमार्ग र हुलाकी राजमार्ग जस्ता महत्वपूर्ण सडक खण्डलाई विस्तार गरी आर्थिक गतिविधि बढाइनेछ । प्रविधिको क्षेत्रमा बजेटले नवीन फड्को मारेको दाबी समेत गर्नुभयो । 

    बजारमा देखिएको शिथिलता र न्युन मागलाई सम्बोधन गर्न आयकरमा छुट र कर प्रोत्साहनका सुविधाहरू ल्याइएको उहाँले बताउनु भयो । निजी क्षेत्रलाई ‘क्राउड इन’ गर्न र लगानीको वातावरण बनाउन सरकारले साना तर प्रभावकारी कदमहरू चालेको उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, ‘पहिलो एउटा चुनौती के थियो यसपालि भने एकदम कन्स्ट्रन्ट थियो । एउटा टाइमको कन्स्ट्रन्ट, अर्को रिसोर्सको कन्स्ट्रन्ट, होइन तपाईहरुलाई मलाई कर्मचारी साथीहरुले १५ गते भित्रै भन्नुहुन्छ, तपाई आएको डेढ दुई महिना पनि भएको छैन तर हामीलाई लाग्छ कि डेढ दुई वर्ष भइसक्यो भन्ने जस्तो अनुभूति हुन्छ किनकि त्यो स्पिडमा हामी काम गरिराखेका छौँ कि म आफैँलाई पनि चैतको बिचतिर आइयो, जेठको बिचमा बजेट ल्याउनु प¥यो त्यो टाइम पाइएन धेरै ।

    जस्ता विभिन्न यो आइदिएको भए ऊ आइदिएको भए भने पनि त्यो छलफल नभएको होइन तर म आफै कस्टियसली यो पोलिसी मेजरको प्रुफ के हो कन्स के हो त्यो राम्ररी अध्ययन नगरिकन नजाउँ भन्ने हिसावले कति कुराहरु नेक्स्ट इयरलाई पनि राखिएको छ । एउटा कुरा के हो भने यो पाँच वर्षको हामीले होराइजन बनाएका छौँ अहिलेलाई र पहिलो वर्षमा के गर्ने, दोस्रो तेस्रो चौथो पाँचौँ अहिले जग बसाउने, थिति बसाउनेमा हामीले बढी प्राथमिकता दिएका छौँ ।

    त्यसैले एउटा कन्स्ट्रन्ट यो टाइमकै भयो एकदम रिच, कम्प्लिकेटेड पोलिसी प्रपोजलहरूमा सायद नेक्स्ट इयर अलि सोफिस्टिकेटेड हिसावले हामी आउँछौँ त्यसमा तपाईंहरू ढुक्क हुनुभए हुन्छ । अहिले धेरै लो ह्याङ्गिङ फ्रुटसमा हामीले ध्यान दियौँ। सजिलै गर्न सकिने पहिलेदेखि नै छलफल भई आएका र धेरै विवाद नहुने खालका कुराहरूलाई र नियर युनानिमिटी भएका विषयहरूलाई हामीले चाहिँ यसपालि राखेका छौँ। अर्को कन्स्ट्रन्ट रिसोर्सकै कन्स्ट्रन्ट।

    १९६४ अर्बको बजेट यसअघि ल्याइएको थियो । तर अहिले खर्चको अवस्था करिव १५०० अर्बको हारहारीमा छ, हामीलाई अपेक्षा छ यो आर्थिक वर्ष सकिँदै गर्दा असार मसान्तसम्ममा १६०० मध्यवधि समीक्षामा १६८८ भनिएको रहेछ तर १६०० देखि १७०० अर्बको बिचमा मात्रै हाम्रो इम्प्लिमेन्टिङ कम्पिटेन्सी देखिएको छ स्टेट मेसिनरीको । सो १९६४ को बजेट करिव करिव १६०० प्लसमा गएर टुङ्गिने हो भने हामीले के गर्ने त यो अब २१२४ को आएको छ अहिले धेरैले यसलाई महत्वाकांक्षी पनि भन्नुभएको छ ।

    तर हामीले यसलाई अलिकति फ्लिप गरेर हे¥यौं । यो नम्बरहरूको आकार जहिले पनि जीडीपीको सापेक्षतामा हेर्नुपर्ने हुन्छ, त्यस मानेमा दिस इज वान अफ द स्लेस्ट बजेट्स इन द लास्ट टेन इयर्स । यति राम्ररी मनन गरिदिनुहोला । जीडीपी हाम्रो अब सेभेन पर्सेन्टको ग्रोथ, सिक्स पर्सेन्ट जतिको इन्फ्लेसन गर्दा पनि अहिले ६६ खर्बबाट ७४ खर्ब नाघ्ने अपेक्षा छ, ७४ खर्ब ५८ अर्बको अनुमान छ, त्यसमा अफकोर्स तलमाथि हुनसक्छ सब्जेक्ट टु सक्स द्याट वी आर नट अवेर अफ ।

    त्यो भयो भने यो २१२४ को रेसियो हेर्नुभयो भने २८.५ प्रतिशत मात्रै हो । यसभन्दा अगाडि लास्ट टेन इयर्समा भूकम्प पछि कोभिडको बेलामा पोस्ट कोभिड ३५ प्रतिशत अफ जीडीपी ३७ प्रतिशत अफ जीडीपी पनि बजेट आएका छन्। यद्यपि त्यो आफैमा राम्रो थिएन, त्यसले अनावश्यक हिसाबले स्वेल गरायो र कार्यान्वयनमा लान नसक्दा खेरि बजेटको प्रक्रिया नै विश्वसनीय भएन।

    यसपालि यत्रो दुई तिहाइको सरकार छ, अपेक्षाहरू चुलिएको छ, हामीले पनि ३३ पर्सेन्ट अफ जीडीपी ३५ पर्सेन्ट अफ जीडीपीको बजेट लिएर आएको भए २५ २६ खर्ब पुग्थ्यो होला। तर स्रोत पनि हेर्नु पर्यो नि। त्यसैले यसलाई ब्यालेन्स गर्नुपर्ने चुनौतीले गर्दा खेरि हामीले एकदमै सन्तुलित सापेक्षिक हिसाबले जीडीपीको तुलनामा सानो बजेट लिएर आएका छौँ। त्यसैले यो ठुलो ठुलो पहिले देखि आएको रिसिभ्ड विज्डमहरू भ्रमहरूबाट चाहिँ तपाईँहरू बाहिर निस्किदिनुहुन मेरो विनम्र अनुरोध छ ।’

    अर्थमन्त्री वाग्लेले सरकारको प्राथमिकता पुराना अधुरा आयोजनाहरू सम्पन्न गर्ने र नयाँ प्रविधिमैत्री अर्थतन्त्रको जग बसाल्ने रहेको स्पष्ट पार्नुभयो ।