२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

तिलोत्तमा सहकारीद्वारा ६० करोडको बजेट तथा कार्यक्रम तर्जुमा

मंगलवार , श्रावण ६, २०७७

बुटवल, २ साउन ।
तिलोत्तमा बहुमुखी सहकारी संस्था लिमिटेड शंकरनगर (टीएमसि) को वार्षिक बजेट तर्जुमा बैठक सम्पन्न भएको छ । बैठकले आर्थिक वर्ष २०७७/०७८ का लागि रु ६० करोडको अनुमानित बजेट तथा कार्यक्रम तर्जुमा गरेको छ ।

सहकारीका अध्यक्ष माधवलाल देवकोटाको अध्यक्षतामा बसेको विस्तारित बैठकले चालु वर्षका लागि ५ करोड ३४ लाख ६६ हजारको अनुमानित आयव्ययको लक्ष्य पनि तयार गरेको छ ।

संचालित कामहरुलाई निरन्तरता दिदै संस्थाको दिगो विकास र शेयर सदस्यहरुको आर्थिक तथा सामाजिक क्षमता अभिवृद्धिका लागि महत्वपुर्ण कार्यक्रमहरु गर्ने निर्णय बैठकले गरेको छ ।

सबल र स्तरीय सहकारीको रुपमा टीएमसिलाई स्थापित गराउन स्तरीकरण कार्यक्रम अन्तर्गत सिएआरइ ब्राण्डका लागि राष्ट्रिय सहकारी बैंकसंग सम्झौता गरेको र सोही अनुरुप संस्थालाइ अगाडी बढाउने अध्यक्ष देवकोटाले बताए ।

यो वर्ष शेयर सदस्य संख्या बढाएर ५ हजार पु¥याउने निर्णय बैठकले गरेको सचिव पार्वती थापाले बताइन् ।

हाल सहकारीमा ३ हजार शेयर सदस्य छन । ५ करोड १५ लाख शेयर पुँजी रहेको सहकारीको ३८ करोड निक्षेप संकलन छ । सहकारीको तरलता २५ प्रतिशत रहेको कोषाध्यक्ष प्रदिप पराजुलीले जानकारी दिए ।

सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत गत आर्थिक वर्षमा वृक्षारोपण, शंकरनगरस्थित विपि वाटिकामा पार्क निर्माण, स्वास्थ्य शिविर, रक्तदान लगायतका कार्यक्रम गरेको छ । कोरोना भाइरस नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले सहकारीले तिलोत्तमा नगरपालिकालाई ५१ हजार र प्रदेश सरकारको कोरोना कोषमा ५ हजार आर्थिक सहयोग गरेको छ ।

महिला सशक्तिकरण अन्तर्गत सिष्टर्स सोसाइटी क्लब गठन गरी सीपमुलक तालिमसंगै सहकारी शिक्षा सम्बन्धि तालिमहरु संचालन गर्दै आएको र ती कार्यक्रमलाइ निरन्तरता दिइने देवकोटाले बताए । महिला सदस्यहरुका लागि रु २ हजार सुत्केरी पोषण खर्चको व्यवस्था गरेको गरिएको छ । वृद्धवृद्धाहरुका लागि ६० वर्ष माथिका शेयर सदस्यको निक्षेपमा साविकको व्याजदरमा १ प्रतिशत थप र ८० बर्ष माथिका शेयर सदस्यहरुका लागि १.५ प्रतिशत थप व्याजदर दिने व्यवस्था गरिएको छ ।

सबै शेयर सदस्यहरुको २ लाख बराबरको दुर्घटना बिमा गर्नुका साथै इच्छुक ५ सय सदस्यको रु एक लाख बराबरको कोरोना बिमा समेत गरिएको छ । १० हजार बराबरको सहकारी पत्रकारिता पुरस्कार पनि स्थापना गरिएको छ ।