२०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

यातायातकर्मीलाई अभिमुखीकरण

शनिवार , जेठ २३, २०८३

  • 412
    Shares
  • 412
    Shares
  • भैरहवा, २३ जेठ । मानव बेचबिखनका शंकास्पद केशहरु पहिचान गरी रिपोर्ट गर्ने बारेमा यातायातकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

    कार्यक्रममा व्यवसाय र मानव अधिकारप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्«िय प्रतिवद्धतामा आधारित यौनशोषण रोकथाम र प्रतिक्रियामा निजी क्षेत्रमा यसको आवश्यकता र सम्भावित भूमिकाको पहिचानको बारेमा छलफल भएको थियो ।  
    मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विषयक अभिमुखीकरण कार्यक्रममा यस क्षेत्रमा यातायात सञ्चालन गर्दै आएका चालकहरुको सहभागीता थियो ।

    माइती नेपाल भैरहवाको आयोजनामा यातायातकर्मीहरुसँग अभिमुखीकरण भएको हो । यस क्षेत्रमा रहेका बस चालक, सह–चालक, अटो तथा रिक्सा चालकहरुसँग मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सघाउ पुर्याउने उद्देश्यले उनीहरुलाई चेतनामूलक प्रस्तुतीकरण गरिएको थियो ।

    हरेक ठाउँमा लैजाने काम यातायातबाटै हुने भएकाले चालक तथा सह–चालक चनाखो भइ आफू पनि जोगिनुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा १८ वर्षमुनीका बालबालिका कसले कहाँ पठाउँदैछ, अभिभावक बिना कता र किन जाँदै छन् भन्ने कुरामा हेक्का राख्न यातायातकर्मी चनाखो हुनुपर्ने बताइएको थियो ।

    सहभागीहरुलाई माइती नेपाल भैरहवाका कार्यक्रम संयोजक माया क्षेत्रीले मानव बेचबिखनमा कानूनी व्यवस्था, सवारीचालकले जान्नै र बुझ्नुपर्ने कुराहरु प्रष्ट पार्नुभएको थियो । उहाँले अशिक्षित, गरीब, घरेलु हिंसामा परेका, एकल महिला, बेसहारा, रोजगारीको खोजीमा भौतारिरहेका महिला तथा युवती बेचबिखनको जोखिममा पर्ने व्यक्ति भएको बताउनुभयो ।

    यौन व्यवसाय, घरेलु कामदार र श्रम शोषण, कृषि, कलकारखाना, उत्तेजक नाच, होटल रेष्टुरेष्ट, मसाज, पार्लर, सर्कस, माग्ने बनाउन, मानव अंग खरीदविक्रीका लागि  बेचबिखन ओसारपसार गरिने गरेको पाइएको क्षेत्रीले बताउनुभयो । 

    खास गरी प्रमुख गन्तव्यका रुपमा भारतको मुम्बई, दिल्ली, कोलकोता, पुना, शिलगुढी जस्ता ठाउँहरु बेचबिखनका मुख्य गन्तव्य हुने गरेकोमा नयाँ गन्तव्यका रुपमा खाडी देशहरु कुबेत, साउदी, अरब, बंगलादेश, चीन, दुबई, इराक पर्ने गरेका छन् । 

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न व्यक्तिलाई नेपालको कानूनमा १ महिना देखि २० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । त्यसै गरी ५० हजारदेखि ५ लाखसम्म जरिवानाको पनि व्यवस्था रहेको उहाँले बताउनुभयो । नियन्त्रणका लागि थुप्रै चुनौती रहेको पनि क्षेत्रीले बताउनुभयो । दुई दशक अघिदेखि यसै क्षेत्रमा काम गरिरहनुभएकी संयोजक क्षेत्रीले सूचना प्राप्त गर्न गाह्रो हुनु, साक्षी गवाह र सबुद प्रमाणहरु संकलन गर्न ज्यादै कठिन हुनु, स्थानीयस्तरमा प्रतिकार र दबाब समूको सक्रियताको अभाव जस्ता चुनौती रहेको बताउनुभयो । समन्वय र दक्ष जनशक्तिको अभाव, लैंगिक विभेद, घरेलु हिंसा, धार्मिक तथा सामाजिक कुरीतिहरु चुनौती रहेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा यातायातकर्मीहरुले आ–आफ्नो अनुभव सुनाएका थिए ।