बुधवार , जेठ २७, २०८३
‘एक शिक्षकले अनन्तकाललाई प्रभावित गर्छ उसको प्रभाव कहाँ पुगेर रोकिन्छ, कसैले भन्न सक्दैन’–हेनरी एडम्सको यो गहन भनाइ कति सत्य छ भन्ने कुरा अनुभवी शिक्षकहरूले राम्ररी बुझेका छन् । तर, यही अकाट्य सत्य कतिपय अवस्थामा नयाँ वा भर्खरै पढाउन थालेका शिक्षकहरूका लागि भने निकै लाजमर्दो र तनावपूर्ण बन्न सक्छ ।
कक्षाकोठाका सुरुवाती दिनहरूले नै भोलिको अनन्त भविष्य निर्माण गर्छन् भन्ने सोच्दासोच्दै, नयाँ शिक्षकमा हुनुपर्ने उमंग र उत्साह कताकता निराशा र छटपटीमा परिणत हुन बेर लाग्दैन । पढाउने शैलीलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे पुस्तक र लेखहरू त थुप्रै लेखिएका छन् । तर, अचम्मको कुरा, नयाँ शिक्षकहरूले आफ्नो मनभित्रको स्वाभाविक डर, धक र असुरक्षाको भावनालाई कसरी सामना गर्ने र त्यसलाई कसरी जित्ने भन्ने विषयमा भने निकै कम मात्र चर्चा गरिएको पाइन्छ ।
तल दिइएका १० वटा व्यवहारिक सुझावहरूले नयाँ शिक्षकहरूलाई व्यवसायिक रूपमा अब्बल र व्यक्तिगत रूपमा आत्मविश्वासी बन्न बलियो मद्दत पुर्याउनेछन् । साथै, नयाँ शिक्षकहरूलाई थप उर्जावान र सक्षम बनाउन उपयोगी हुने केही थप अध्ययन सामग्रीहरूको सूची पनि यहाँ प्रस्तुत गरिएको छ ।
१. आत्मविश्वासी महसुस गर्न, आत्मविश्वासी जस्तै व्यवहार गर्नुहोस्
मनोविज्ञानको एउटा स्थापित मान्यता के हो भने हाम्रो व्यवहारले नै हाम्रो भावनालाई जन्म दिन्छ । उदाहरणका लागि, विलियम जेम्सले (१९२, १९५) आफ्नो पुस्तक ‘टक्स टु टिचर्स अन साइकोलोजी’ मा लेखेका छन्, ‘अभिव्यक्ति बिना कुनै पनि छाप (प्रभाव) पर्दैन ।’
त्यसैले कक्षाकोठामा आत्मविश्वासी महसुस गर्नका लागि नयाँ शिक्षकले सुरुमै आत्मविश्वासी देखिने गरी व्यवहार गर्नुपर्छ । ‘भन्न सजिलो छ, गर्न गाह्रो’ अथवा सुरुवात कसरी गर्ने त ?’ भनेर शंका गर्ने पाठकहरूले सोध्न सक्छन्, जुन स्वाभाविक हो । यदि तलका सामान्य सुझावहरूलाई नियमित रूपमा पालना र अभ्यास गर्ने हो भने शिक्षणमा आत्मविश्वास पक्कै बढेर जानेछ।
२. तपाईं किन पढाउन चाहनुहुन्छ ? आत्मसमीक्षा गर्नुहोस्
आजको समाजमा सबैभन्दा बढी मान–प्रतिष्ठा र इज्जत प्राय: धेरै पैसा कमाइने पेसाहरूलाई दिइन्छ । यो कसीमा हेर्ने हो भने शिक्षण पेशा धेरै पछि पर्छ । यसबाहेक, शिक्षण बौद्धिक, भावनात्मक र शारीरिक रूपमा निकै थकाउने पेशा हो; र शिक्षणमा उत्कृष्टता हासिल गर्न धेरै समय लगानी गर्नुपर्छ ।
त्यसैले, हरेक नयाँ शिक्षकले आफैलाई सोध्नुपर्छ, ‘म किन पढाउन चाहन्छु ?’ र यसको उत्तरमा गम्भीरतापूर्वक विचार गर्नुपर्छ । यो प्रश्नको चित्तबुझ्दो र बलियो व्यक्तिगत उत्तर बिना पढाउँदा शिक्षण पेशा दिक्कलाग्दो र बोझिलो बन्न सक्छ । तर ‘किन पढाउने ?’ भन्ने स्पष्ट र अर्थपूर्ण उत्तर मनमा छ भने, यसले आत्मविश्वास बढाउँछ र यो पेशाप्रति सधैंका लागि गहिरो लगाव पैदा गर्छ । यस प्रश्नको सामना गरिसकेका दुई अनुभवी र प्रखर प्राध्यापकहरूको अनुभव पढ्न चाहने युवा शिक्षकहरूले पिटर बिडलर (१९४) र मेरीइलेन ग्लिसन (१९२) का विचारोत्तेजक निबन्धहरू पढ्न सक्नुहुन्छ ।
३. प्रभावकारी शिक्षणका गुणहरू के–के हुन् ? सिक्नुहोस्
प्राय: हरेक शिक्षकको जीवनमा कुनै न कुनै त्यस्ता शिक्षक हुनुहुन्छ जसले उनीहरूको जीवनमा सकारात्मक प्रभाव पार्नुभयो । उच्च शिक्षामा करियर रोज्ने धेरैजसो मानिसहरू आफ्नो कलेज जीवनमा उत्कृष्ट प्राध्यापकहरूको सामीप्य र प्रेरणा पाएर नै यहाँसम्म आइपुगेका हुन्छन् । ती पुराना सम्बन्ध र सम्झनाहरूले प्रभावकारी शिक्षण कस्तो हुनुपर्छ भन्ने कुराको ठुलो ज्ञान दिन्छन् । नयाँ शिक्षकहरूले तिनै सम्झनाहरूलाई आफ्नो व्यक्तिगत मार्गदर्शनको रूपमा प्रयोग गर्नुपर्छ ।
जोसेफ लोम्यानले (१९८४) आफ्नो उत्कृष्ट पुस्तक ‘मास्टरिङ द टेक्निक्स अफ टिचिङ’ मा प्रभावकारी कक्षा शिक्षणको दुई–आयामिक मोडल प्रस्तुत गरेका छन्:
– पहिलो आयाम – ‘बौद्धिक उत्साह’ (Intellectual Excitement) : यसले शिक्षकको प्रस्तुति कति स्पष्ट छ र उनले विद्यार्थीहरूमा कस्तो सकारात्मक भावनात्मक प्रभाव पार्न सक्छन् भन्ने कुरालाई बुझाउँछ ।
– दोस्रो आयाम – ‘पारस्परिक सुमधुर सम्बन्ध’ (Interpersonal Rapport): यसमा शिक्षकले विद्यार्थीमा उत्साह जगाउँछन् र नकारात्मक भावनाहरू आउन दिँदैनन् ।
यो मोडल विभिन्न प्रकाशित अध्ययनहरूको विश्लेषण र उत्कृष्ट पुरस्कार विजेता प्राध्यापकहरूको प्रत्यक्ष अवलोकन (र भिडियो रेकर्डिङ) मा आधारित छ ।
बर्डसल र बार्डो, (१९८६) निरन्तर रूपमा निम्न महत्वपूर्ण बुँदाहरूलाई अगाडि सारेका छन् :
१. संगठन, संरचना वा स्पष्टता
२. शिक्षक–विद्यार्थी अन्तरक्रिया वा सुमधुर सम्बन्ध
३. शिक्षण सीप, सञ्चार वा व्याख्यान क्षमता
४. पढाईको भार वा पाठ्यक्रमको कठिनाइ स्तर
५. परीक्षाको मूल्याङ्कन र ग्रेडिङ ।
यस क्षेत्रका अन्य प्रतिनिधि अध्ययनहरू आइसन र स्टेपहेन्स (१९८) तथा म्याक्केची (१९६) द्वारा चर्चा
नयाँ शिक्षकहरूका लागि आइसनले (१९८८) तीनवटा सुझावहरू दिएका छन:
१.सक्रिय रूपमा बोल्नुहोस् (Speak actively): एक प्रभावशाली र जोसिलो वक्ता बन्नुहोस्, जसले आफ्ना शब्दहरू जस्तै : ठट्टा र शारीरिक हाउभाउ जस्तै: अनुहारको अभिव्यक्ति, हिँडडुल दुवैका माध्यमबाट विद्यार्थीहरूको ध्यान खिच्न सकोस् । नाटक जस्तो वा अलि बढी कलात्मक देखिनदेखि नडराउनुहोस् !
२. सक्रिय रूपमा पढाउनुहोस् (Teach actively) : कक्षामा प्रश्नहरू सोधेर, उनीहरूको सहभागीता र टिप्पणीहरूलाई प्रोत्साहन गरेर, र मुख्य बुँदाहरूलाई स्पष्ट रूपमा जोड दिएर विद्यार्थीहरूलाई सिकाइ प्रक्रियामा पूर्ण रूपमा सहभागी गराउनुहोस् ।
३. सक्रिय रूपमा हेरचाह गर्नुहोस् (Care actively) : विद्यार्थीहरूप्रति आफ्नो साँचो चासो र माया देखाउनुहोस्, उनीहरूको शैक्षिक उपलब्धि र वृद्धिलाई सार्वजनिक रूपमा प्रशंसा गर्नुहोस्, र विद्यार्थीहरूले तपाईंलाई सजिलै कुरा गर्न सकिने एउटा खुला र आत्मीय मान्छेका रूपमा बुझून् भन्नका लागि मिहिनेत गर्नुहोस् ।
४. स्पष्ट शैक्षिक लक्ष्य र उद्देश्यका साथ प्रत्येक कक्षामा प्रवेश गर्नुहोस्
आत्मविश्वासका साथ पढाउने एउटा मुख्य कडी भनेको प्रभावकारी योजना हो; र योजनाको सुरुवात स्पष्ट लक्ष्य र उद्देश्यहरू निर्धारण गरेर हुन्छ । शिक्षकहरू ‘५० मिनेटको घण्टीमा अध्याय १ जति सकिन्छ त्यति पढाउने’ वा ‘अर्को परीक्षा अगाडि ६ वटा अध्याय भ्याउने’ जस्ता अस्पष्ट लक्ष्य लिएर कक्षामा जानुहुँदैन । यसको सट्टा, प्रत्येक कक्षाका लागि ठोस र स्पष्ट शिक्षण उद्देश्यहरू (Instructional objectives) बनाउनु बढी उपयोगी हुन्छ ।
तपाईंको शिक्षण उद्देश्यहरूमा जति धेरै विविधता र नवीनता हुन्छ, विद्यार्थीहरूको चासो कायम राख्न त्यति नै सजिलो हुन्छ । यसबाहेक, ज्ञान, दृष्टिकोण, सीप र अनुभवका आधारमा शिक्षण उद्देश्यहरू तय गर्दा शिक्षक आफैले पनि विद्यार्थीहरूको प्रगति स्पष्ट रूपमा देख्न सक्छन् । विद्यार्थीहरूको सन्तुष्टि र उनीहरूको बौद्धिक विकास प्रत्यक्ष देख्न पाउनु भन्दा ठुलो कुरा शिक्षकको आत्मविश्वास बढाउन अरू केही हुन सक्दैन ।
५. थोरै पढाउनुहोस्, तर राम्रोसँग पढाउनुहोस्
नयाँ शिक्षकहरूमा अक्सर आफ्नो विषयप्रति ठुलो प्रेम र शिक्षणप्रति छुट्टै उत्साह हुन्छ । यही कारणले उनीहरू आफूलाई थाहा भएका सबै कुरा विद्यार्थीहरूलाई एकैचोटि दिन खोज्छन् । परिणामस्वरूप, ब्याचलर पहिलो वर्षका विद्यार्थीहरूले मास्टर डिग्रीका सेमिनारहरूमा पढाइने जस्ता जटिल र लामा व्याख्यानहरू सुन्नुपर्ने हुन्छ । तर, यस्तो प्रस्तुतिले विद्यार्थी र शिक्षक दुवैलाई निराश मात्र बनाउँछ । सुरुवाती कक्षाहरूले विषयको परिचय दिने हो, विद्यार्थीलाई अलमल्याउने वा बोझ दिने होइन !
अल्बर्ट आइन्स्टाइनले एक पटक भनेका थिए–‘विद्यालयमा सिकेका सबै कुरा बिर्सिए पछि जे बाँकी रहन्छ, त्यही नै शिक्षा हो ।’ केही साहसी अनुसन्धानकर्ताहरूले सामान्य स्नातक (ग्लमभचनचबमगबतभ) कोर्स पूरा गरेपछि विद्यार्थीहरूले कति ज्ञान दिमागमा राखिरहन्छन् भनेर अध्ययन गरेका थिए । त्यसको नतिजा हेर्दा दीर्घकालीन रूपमा निकै कम कुरा मात्र याद रहने देखियो, जुन सोच्दै अचम्म लाग्दो छ । उदाहरणका लागि, एच. रिकार्ड र उनका साथीहरूले (१९८८) युनिभर्सिटी अफ अलाबामामा ‘मनोविज्ञानको परिचय’ (क्ष्लतचयमगअतयचथ एकथअजययिनथ) पढ्ने विद्यार्थीहरूमा एउटा अध्ययन गरे । उनीहरूले के भेट्टाए भने—कोर्स पूरा भएको चार महिनापछि, ती विद्यार्थीहरूसँग मनोविज्ञानको तथ्यगत ज्ञान (मात्र ८ प्रतिशत) त्यति नै बाँकी थियो, जति मनोविज्ञान कहिल्यै नपढेका अर्को एउटा सामान्य विद्यार्थीहरूको समूहसँग थियो ।
त्यसैले, जे पढाइन्छ त्यो राम्रोसँग पढाइयोस् भन्ने तपाईंको प्रयास भयो भने विद्यार्थीहरूले त्यसलाई लामो समयसम्म सम्झिरहन सक्छन् । त्यसैले यो सुझाव दिइएको हो : ‘थोरै पढाउनुहोस्, तर राम्रोसँग पढाउनुहोस् ।’
६. ‘एक्टिभ लर्निङ’ (सक्रिय सिकाइ) का तरिकाहरू अपनाउनुहोस्
पहिले–पहिले कलेजको प्राध्यापक भन्नेबित्तिकै दिमागमा एउटा चित्र आउँथ्यो स्टेजमा उभिएर एकहोरो भाषण (लेक्चर) दिइरहेको मान्छे । तर, नयाँ–नयाँ अनुसन्धानहरूले के देखाएका छन् भने, जब विद्यार्थीहरू आफै सक्रिय भएर सिक्छन्, तब उनीहरूले धेरै कुरा बुझ्छन् । एकहोरो भाषण सुन्दा उनीहरू मूकदर्शक मात्र बन्छन् र खासै केही सिक्दैनन् ।
एउटा राम्रो शिक्षकको परीक्षा यसरी हुन्छ : तपाईं ‘सिकाइ’ लाई एउटा वस्तु (Noun) ठान्नुहुन्छ कि प्रक्रिया (Verb) ? यदि वस्तु ठान्नुहुन्छ भने तपाईं आफूसँग भएको ज्ञानलाई एउटा तयारी प्याकेट जस्तो बनाएर विद्यार्थीलाई सुम्पिनुहुन्छ । तर यदि यसलाई प्रक्रिया ठान्नुहुन्छ भने पढाउने शैली नै बदलिन्छ ।
‘एक्टिभ लर्निङ’ भनेको विद्यार्थीलाई कक्षामा आफै केही गर्न र सोच्न लगाउनु हो । यसका लागि कक्षाकोठामै साना–तिना कुरा लेख्न लगाउने, समूहमा छलफल गराउने, स्थलगत भ्रमण (फिल्ड ट्रिप) लैजाने, स–साना वादविवाद वा नाटक (रोल–प्ले) गराउने, कम्प्युटर र गेमहरूको प्रयोग गर्ने, वा उनीहरूलाई नै प्रस्तुति (प्रेजेन्टेसन) दिन लगाउने जस्ता कामहरू गर्न सकिन्छ । कक्षा सानो होस् या ठुलो, यी तरिकाहरू अपनाउँदा पढाइ निकै प्रभावकारी हुन्छ ।
७. सबै कुरा ‘पर्फेक्ट’ हुनुपर्छ भनेर मरिहत्ते नगर्नुहोस्
आफ्नो काम ‘पर्फेक्ट’ होस् भन्ने चाहनु एक हिसाबले राम्रो हो, यसले तयारी बलियो बनाउँछ। तर यो धून अलि बढी भयो भने यसले शिक्षकको आत्मविश्वास नै खत्तम पारिदिन्छ । ’पर्फेक्ट’ हुन खोज्ने मान्छेहरूमा अक्सर साना–तिना कुरामा अल्झिने, धेरै योजना बुन्ने, बेलैमा निर्णय लिन नसक्ने र अरूसँग घुलमिल हुन नसक्ने बानी हुन्छ । यस्ता बानीले न त पढाइ राम्रो हुन्छ, न त आत्मसम्मान नै बढ्छ ।
कक्षाकोठाको वातावरण सधैँ एकनास हुँदैन; यो क्षणक्षणमा बदलिरहन्छ । शिक्षक र विद्यार्थीबीचको कुराकानीले कक्षालाई अर्कै मोड दिन सक्छ । त्यसैले, जतिसुकै बलियो योजना बनाए पनि कहिलेकाहीँ सोचे जस्तो हुँदैन ।
शिक्षण पेशाको एउटा पुरानो र अचम्मको मन्त्र छ–‘आफूले भर्खरै मात्र पढेर बुझेको कुरालाई पनि कक्षामा यसरी आत्मविश्वासका साथ प्रस्तुत गर्नुहोस्, मानौं त्यो कुरा तपाईंलाई वर्षौदेखि कण्ठै थियो ! ‘सुरु–सुरुमा नयाँ शिक्षकहरू आफ्ना बाठा विद्यार्थीभन्दा दुई–चार दिन मात्र अगाडि हुनु स्वाभाविक हो । यस्तोमा आत्तिनुपर्दैन, बस् मिहिनेत गरिरहनुपर्छ । तपाईंले त्यो कुरा कहिले सिक्नुभयो भन्ने कुराले फरक पार्दैन, मुख्य कुरा कक्षामा विद्यार्थीलाई प्रष्टसँग बुझाउन सक्नुभयो कि भएन भन्ने मात्र हो ।
‘म कहिले एउटा भयंकर हिट शिक्षक बन्ने होला ?’ भनेर सोच्नुहुन्छ भने, एउटा चर्चित कलाकारको भनाइ सम्झिनुस्, जसले भनेका थिए–‘एकै रातमा स्टार बन्न मलाई २० वर्ष लागेको थियो । ‘त्यसैले धैर्य राख्नुहोस्, विद्यार्थीहरूले तपाईंको मिहिनेतको कदर अवश्य गर्नेछन् ।
८. कुनै कुरा थाहा छैन भने ’थाहा छैन’ भन्न नहिचकिचाउनुहोस्
विद्यार्थीहरूले कत्तिको प्रश्न सोध्छन्, त्यसैबाट कक्षा कत्तिको प्रभावकारी भइरहेछ भन्ने कुरा थाहा हुन्छ । विद्यार्थीहरूको जिज्ञासा र ज्ञान कहिलेकाहीँ शिक्षकको ज्ञान र अनुभवभन्दा धेरै अगाडि हुन सक्छ । विशेष गरी नयाँ शिक्षकहरूले आफूलाई कुनै कुरा थाहा भएन भने त्यसलाई आफ्नो ‘ठुलो कमजोरी’ ठानेर हीनताबोध गर्नुपर्दैन । कतिपय शिक्षकहरू विद्यार्थीले कमजोर ठान्लान कि भन्ने डरले गलत उत्तर दिने वा कुरा घुमाउने गर्छन्, जसले गर्दा विद्यार्थीमाझ झन् नराम्रो छाप पर्न सक्छ । त्यसैले, नडराईकन ‘यो कुरा म भोलि अध्ययन गरेर तिमीहरूलाई बुझाउँछु“ भन्न सक्नुपर्छ । तर, ’मलाई थाहा छैन’ भन्नुपर्ने अवस्था सकेसम्म कम आओस् भन्नका लागि आफ्नो अध्ययन र पूर्व–तयारीलाई भने सधैँ तिखारिरहनुपर्छ ।
९. विद्यार्थी र सहकर्मीहरूसँग सल्लाह (फिडब्याक) माग्नुहोस्
आफ्नो पढाउने सीप र आत्मविश्वास बढाउने सबैभन्दा सजिलो उपाय भनेकै अरूको प्रतिक्रिया लिनु हो । विद्यार्थीहरूलाई ‘हिजो पढाएको कुरा कत्तिको बुझ्यौ ?’ वा ‘गृहकार्य गर्दा केही गाह्रो भयो कि ?’ भनेर सोध्ने गर्नुहोस् । कहिलेकाहीँ पानामा नाम नलेखीकन ‘यो कक्षामा मन परेका ३ वटा र मन नपरेका ३ वटा कुरा के–के हुन् ?’ लेख्न लगाउनुहोस् ।
त्यस्तै आफ्ना सहकर्मी शिक्षकहरूलाई आफ्नो कक्षा हेरेर सल्लाह दिन भन्नुहोस् । उनीहरूले तपाईंको बोल्ने शैली, विद्यार्थीलाई सहभागी गराउने तरिका र प्रश्न सोध्ने सीपको मूल्यांकन गरेर तपाईंलाई सुध्रने मौका दिन्छन् ।
र अन्त्यमा, मार्क ट्वेनको एउटा रमाइलो भनाइ सम्झिनुहोस्–‘जब कसैले तपाईंको तारिफ गर्दैन, तब आफैँ आफ्नो तारिफ गर्नुहोस् ।’ प्रत्येक कक्षा सकिएपछि एकछिन एकान्तमा बसेर ‘आज मैले कुन कुरा एकदमै राम्रो गरेँ’ भनेर गम खानुहोस् । आफ्ना साना–तिना सफलताले नै तपाईंलाई भोलि अझ ठुलो शिक्षक बनाउनेछन् ।
१०. उत्साह र उमंगले नै विजय प्राप्त गर्न सकिन्छ, यो नबिर्सिनुहोस् ।
भनिन्छ, शिक्षकहरू तीन थरिका हुन्छन् : (१) काम गरेर देखाउने, (२) काम भएको रमिते बनेर हेर्ने, र (३) ‘के भयो र ?’ भन्दै अत्तालिने । नयाँ शिक्षकहरू जहिले पनि पहिलो समूहमा पर्नुपर्छ । पुराना केही शिक्षकहरूमा निराशा हुन सक्छ । तर, उनीहरूको नकारात्मक कुराले तपाईंको जोसलाई मर्न दिनुहुँदैन।
इमर्सनले भनेका छन्–‘जोस बिना संसारमा कहिल्यै पनि कुनै ठुलो काम भएको छैन ।’ कक्षाकोठामा शिक्षकको जोस–जाँगर सरुवा रोग जस्तै हो; तपाईं जति जोसिलो हुनुहुन्छ, विद्यार्थी पनि त्यत्तिकै ऊर्जावान् हुन्छन् । यदि तपाईं नै मरेको सातो लिएर जानुभयो भने कक्षा पनि त्यस्तै सुनसान हुन्छ । शिक्षामा शिक्षकको ऊर्जा र जोस भन्दा महत्त्वपूर्ण अरू केही हुनै सक्दैन ।
निष्कर्ष
विद्यालय कसरी पढाउने भन्नेबारे किताबहरूमा थुप्रै काम लाग्ने सल्लाहहरू पाइन्छन् । तिनले नयाँ शिक्षकहरूलाई विद्यार्थीको भावना बुझ्न, उनीहरूलाई सोच्न र लेख्न सिकाउन, अनि परीक्षा र ग्रेडिङलाई कसरी उपयोगी बनाउने भन्ने कुरा सिकाउँछन् ।
तर, एउटा पुरानो हितोपदेश छ ‘केबल किताब पढेर मात्र ज्ञान आउँदैन ।’ अर्थात्, असल शिक्षक बन्नका लागि कक्षाकोठाको दैनिक अनुभव नै सबैभन्दा ठुलो गुरु हो । सकारात्मक सोच, पढाउने तीव्र इच्छा र आफ्नो गल्तीबाट सिक्ने बानी भयो भने, किताब र अनुभव मिलेर तपाईंलाई एक दिन आत्मविश्वासी र अब्बल शिक्षक बनाउनेछन् ।
(लेखक विगत लामो समयदेखि भैरहवामा रहेको फ्यूचर लाइट स्कूलमा अध्यापनरत हुनुहुन्छ ।)
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij