
शनिवार , जेठ १, २०७८
बुटवल, १ जेठ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले तीव्र रुपले फैलिरहेको कोरोना संक्रमणको महामारी नियन्त्रण र संक्रमितको उपचारमा गम्भिर बन्न लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । मुख्यमन्त्री शंकर पोखरेलको नाममा ध्यानाकर्षणपत्र जारी गर्दै वर्तमान अवस्थामा थप संवेदनशील र जिम्मेबार बन्न प्रदेश सरकार समक्ष आग्रह गरिएको छ ।
कोरोना संक्रमण रोकथाम र संक्रमित बिरामीको उपचार तथा व्यवस्थापनमा चरम लापरवाही भएको भन्दै संसदीय दलका तर्फबाट दलका नेता वीरेन्द्र कुमार कानोडियाद्वारा १६ बुंदे ध्यानाकर्षण पत्र प्रस्तुत गरिएको छ । कोभिड संक्रमणका कारण जनजीवन भयावह बन्दै गइरहेको, अस्पतालमा अक्सिजन र बेड जस्ता न्यूनतम आधारभुत स्वास्थ्य सेवाबाट जनता वञ्चित रहेको, आम जनतामा भय, त्रास र डरको वातावरण उत्पन्न भएको र प्रदेश सरकार समस्या समाधानप्रति उदासिन र लाचार भएको टिप्पणी ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
ध्यानाकर्षण पत्रमा प्रमुख प्रतिपक्षका तर्फबाट साझा संकल्पका लागि दिइएका सल्लाह र सुझावलाई समेत वेवास्ता गर्दै लुम्बिनी प्रदेश सरकारले अक्सिजन र बेडको अभावमा आम जनतालाई अस्पतालको प्रांगणमै मृत्यूवरण गर्न बाध्य पारेको आरोप लगाउँदै प्रदेश सरकारको निरिहता प्रति चिन्ता ब्यक्त गरिएको छ ।
ध्यानाकर्षण पत्रमा भनिएको छ-‘सरकारको लाचारीपन, गैर जिम्मेवारीपन, लापरवाही र निरिहताले कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशलाई अत्यन्त मर्माहत एवं गम्भीर बनाएको छ।’ अगाडी भनिएको छ-‘कोभिड–१९ को महामारी नियन्त्रण, न्यूनिकरण तथा उपचारका लागि चिकित्साकर्मी डाक्टर, नर्स, स्वास्थ्यसेवक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिहरुले अहोरात्र अभूतपूर्व योगदान गरी रहनुभएकोमा हामी हार्दिक सम्मान गर्दछौं ।’
त्यसै गरी सो पत्रमा यस महामारीमा जीवन गुमाएका सम्पूर्ण व्यक्तिहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण र संक्रमित भएकाहरुको शिघ्र संक्रमण मुक्तको कामना गर्दै प्रदेशवासी जनता सबैको स्वास्थ्य सुरक्षाको लागि लुम्बिनी प्रदेश सरकार संवेदनशील, गम्भीर र उत्तरदायी बनोस् भन्ने कुरामा जोड दिइएको छ । दलका नेता कनौडियाद्वारा हस्ताक्षरित सो ध्यानाकर्षण पत्रमा ‘कोभिड—१९ को बढ्दो संक्रमणका कारण जनताले भोगिरहेको समस्याबाट पार पाउन संक्रमण रोकथाम र उपचारको समुचित प्रबन्ध मिलाई लकडाउनको समयलाई पूर्ण रुपमा सदुपयोग गरी तत्काल निम्न काम गर्न नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेश सरकारसँग जोडदार माग गर्दछ’ भनिएको छ ।
ध्यानाकर्षण गराइएका बुंदाहरु
१. कोभिड-१९ संक्रमितहरुलाई अत्यावश्यक अक्सिजन, भेन्टिलेटर, आइसियु वेड लगायतका स्वास्थ्य पूर्वाधार, अत्यावश्यक औषधी र अन्य आवश्यक स्वास्थ्य सामग्रीहरुको तत्काल समुचित व्यवस्था गरियोस् ।
२. यस प्रदेशको कोरोना हटस्पटको रूपमा रहेको बाँके, बर्दिया, दांग, कपिलवस्तु र रूपन्देही जिल्लामा आवश्यक स्वास्थ्य सामग्री र चिकित्साकर्र्मी डाक्टर, नर्स, स्वास्थ्यसेवक सहितको विशेष टोली परिचालन गरियोस् ।
३. रूपन्देही र बाँकेमा संचालनमा रहेका मेडिकल कलेजहरुलाई अविलम्ब कोभिड अस्थायी अस्पतालमा रूपान्तरण गर्न र दाङको बेलझुण्डीमा रहेको आयुर्वेद शिक्षण अस्पताललाई पूर्ण कोभिड अस्पतालमा रूपान्तरण गरियोस् ।
४. सीमा नाकाहरुमा अनिवार्य पीसीआर परिक्षण र परिक्षणको नतिजा नआउञ्जेल होल्डिङ केन्द्रहरुमा राख्ने व्यवस्था गरियोस् । परिक्षणमा संक्रमित देखिएकाहरुलाई स्थानीय तहहरुको समन्वयमा आइसोलेशन केन्द्रहरुको व्यवस्था गरी राखियोस् ।
५. प्रदेशका सबै जिल्लास्तरका सरकारी अस्पतालहरुमा आवश्यक एचडीयु बेड निर्माण गरियोस् ।
६. स्वास्थ्यकर्मी, सफाईकर्मी र सुरक्षाकर्मीहरुलाई विमा र जोखिम भत्ता तत्काल कार्यान्वयन गरियोस् । बढ्दो संक्रमणसँगै स्वास्थ्य जनशक्तिको अभाव देखिएकाले अस्पतालहरुमा थप स्वास्थ्य जनशक्तिको व्यवस्था गरियोस् ।
७. प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक डाकी सरोकारवालाहरुसंगको छलफलमार्फत महामारी रोकथाम एवं नियन्त्रणको लागि निजी क्षेत्र, प्रदेशमा कार्यरत राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थाहरुलाई परिचालित गरी आवश्यक कदम चालियोस् ।
८. प्रदेशमा रहेका सबै अक्सिजन उद्योगहरुमा चौबिसै घण्टा विद्युत आपूर्तिसहितको व्यवस्था मिलाइयोस् । प्रदेश सरकारको तर्फबाट यस प्रदेशमा थप अक्सिजन उद्योग स्थापनाको पहल कदमी गरियोस् ।
९. प्रदेशका जिल्लाहरुमा भारतबाट आउने लिक्विड अक्सिजनलाई सहजीकरण गर्दै अक्सिजन उत्पादन र वितरणमा प्राथमिकताका दिईयोस् ।
१०. खोप आपूर्ति लगायत अत्यावश्यक स्वास्थ्य सामग्रीको आपूर्ति सुनिश्चित गर्न प्रभावकारी कुटनैतिक पहल गरियोस् ।
११. अस्पतालमा भर्ना भएका संक्रमित बिरामी र कुरुवाहरुको खानाको व्यवस्थापन गरियोस् ।
१२. सुत्केरी र दीर्घ रोगीहरुले समयमै उपचार नपाएर भौतारिनु परेको घटनालाई गम्भीरतापूर्वक लिई उनीहरुको सरल उपचारको प्रवन्ध मिलाइयोस् ।
१३. कोभिड–१९ का विरामीहरुलाई उपचारको लागि अस्पतालहरुमा सहज आवागमनको लागि सुविधासम्पन्न एम्बुलेन्सको व्यवस्थापन गरियोस् ।
१४. लकडाउनका समयमा पनि किसानका कृषि उपज तथा अन्य उपभोग्य वस्तुहरुको आपूर्ति र आवतजावतलाई सहज गरियोस् ।
१५. लकडाउनका कारण आर्थिक सामाजिक मारमा परेका आम नागरिक, श्रमिक र साना व्यवसायीहरुलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याइयोस् ।
१६. सबै जिल्लामा प्रदेशसभाका माननीयहरुको नेतृत्वमा अति आवश्यक सेवा, संक्रमित एवं अस्पतालहरुको अनुगमन एवं प्रदेश सरकारसंग सहजीकरण गर्न सर्वपक्षीय संसदीय अनुगमन टोली गठन गरियोस ।
...................................................................................................................
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij