बुधवार , आषाढ ३१, २०८३
काठमाडौँ, ३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजकिशोर महतोले स्वास्थ्य क्षेत्रमा ‘मेडिकल माफिया’ को प्रभावका कारण औषधि खरिद र स्वास्थ्य बीमा कार्यान्वयनमा गम्भीर बेथिति निम्तिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद महतोले सरकारी अस्पतालहरूमा स्वास्थ्य बीमाको भुक्तानी नहुँदा आम नागरिकले उपचार सेवा पाउन नसकेको बताउनुभएको हो ।
उहाँले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र शहीद गंगालाल हृदय केन्द्र जस्ता प्रमुख स्वास्थ्य संस्थाहरूमा बीमा भुक्तानीको समस्याका कारण बिमितहरू सेवाबाट वञ्चित हुनुपरेको उल्लेख गर्नुभयो । सांसद महतोले औषधि खरिद प्रक्रियामा हुने नीतिगत भ्रष्टाचार र सेटिङको विषयलाई प्रमुखताका साथ उठाउनु भयो ।
कम्पनी तथा आपूर्तिकर्ताहरूले सरकारी टेण्डरमा मिलेमतो गरी म्याद सकिन लागेका औषधिहरू आपूर्ति गर्ने गरेको दाबी गर्दै उहाँले टेण्डर नीतिमा तत्काल सुधार गर्न माग गर्नुभयो ।
सांसद महतोले कुनैपनि औषधिको टेण्डर गर्दा कम्तीमा १५ महिनाको म्याद बाँकी हुनुपर्ने प्रावधान अनिवार्य गर्न र बीमाको रकम टेन्डरकै दरमा भुक्तानी हुने व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मानवीय स्वास्थ्यको अत्यावश्यकमध्ये एक औषधिको अवस्था र व्यवस्था दुवै दयनीय रहेको छ । जसको कारणले गर्दा वीर अस्पताल, टिचिङ अस्पताल र गंगालाल अस्पतालले स्वास्थ्य बीमाको भुक्तानीले बिमितहरुले सुविधा पाउन सकेको छैन । त्यसमा केही मेडिकल माफियाहरुले गर्दा यस्तो अवस्था सिर्जना भएको हो । जसको कारण हो टेण्डर प्रक्रिया र नियर स्पाइरी औषधि विक्री वितरण हुनु ।
सम्माननीय सभामुख महोदाय ८० पैसामा ग्यासटाइटिसको औषधी प्यान्टो प्राजोल खरिद गर्दा सरकारसँग एक हजार प्रतिशत मुनाफा राखि ८ रुपैयाँ क्लेम गर्दछ । त्यस्तै कम्पनी तथा सप्लायर्सहरुले नियर स्पाइरी औषधिहरु सेटिङमा खदि विक्री गर्दछ ।
तसर्थ शिभिल अस्पतालको घट्नामा स्वास्थ्य मन्त्रालय र सरकारलाई धन्यावाद दिँदै प्रत्येक स्थानीय तह तथा सरकारी अस्पतालहरुमा लुटतन्त्रको धन्दा फस्टाएको छ । यो जालोलाई तोड्नुपर्नेछ । त्यसकारण स्वास्थ्य टेण्डरको नीतिमा सुधार आवश्यक छ ।’
स्वास्थ्य जस्तो संवेदनशील विषयमा राज्य गम्भीर नबन्दा नागरिकले अकालमा ज्यान गुमाउनुपरेको भन्दै उहाँले स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij