२०८३, आश्विन ४ गते

Sep 20 2026 | २०८३, आश्विन ४ गते

मकै–कोदो छाडेर सिल्भर डलर खेती, बजारको माग धान्नै मुस्किल

आइतवार , आश्विन ४, २०८३

  • 85
    Shares
  • 85
    Shares
  • मकवानपुर, ४ असोज । जंगली जनावरले मकै, गहुँलगायतका अन्नबाली नष्ट गर्न थालेपछि मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेका किसान रमेश रानामगरले परम्परागत खेतीको विकल्प खोजे ।

    अन्नबालीबाट अपेक्षित आम्दानी लिन नसकेपछि उनले सुरु गरेको सिल्भर डलर (युकालिप्टस) खेती अहिले उनको आम्दानीको नयाँ आधार बन्न थालेको छ । करानामगरले ३१ रोपनी क्षेत्रफलमा कविब दुई हजार सिल्भर डलरका बिरुवा लगाएका छन् । उनकाअनुसार एउटा बिरुवाको मूल्य करिव १ हजार ४ सय रुपैयाँ पर्छ । ठूलो लगानीमा शुरु गरिएको खेतीबाट रोपेको ७ देखि ८ महिनामै उत्पादन लिन सकिने र बजारमा मागसमेत उच्च रहेकाले उनी उत्साहित छन् । 

    ‘मकै, गहुँ, कोदो, फपर लगाउँदा जंगली जनावरले नष्ट गरिदिन्थे । त्यसपछि केही नयाँ खेती गर्नुपर्छ भनेर सिल्भर डलर लगाउन थालेँ ।’ रानामगरले भने । हाल त्यहाँ चार किसानले करिव एक सय रोपनी क्षेत्रफलमा यसको व्यावसायिक खेती गरिरहेका छन् । 

    सात–आठ महिनामै उत्पादन

    सिल्भर डलर खेतीको मुख्य आकर्षण छोटो समयमै उत्पादन लिन सकिनु हो । किसानकाअनुसार रोपेको ७ देखि ८ महिनापछि पहिलोपटक हाँगा काट्न सकिन्छ । त्यसपछि गोडमेलको आधारमा प्रत्येक एक–दुई महिनामा उत्पादन लिन सकिन्छ । 

    कोगटेका अर्का किसान वासुदेव चुनी मगरले गत फागुनमा तीन सय बिरुवा खरिद गरी चार रोपनी क्षेत्रफलमा सिल्भर डलर खेती सुरु गरेका हुन् । करिव ४ लाख ४७ हजार रुपैयाँ लगानीमा शुरु गरिएको खेतीबाट उनले उत्पादन लिन थालिसकेका छन् । हालसम्म उनले दुई सय किलोग्रामभन्दा बढी सिल्भर डलर विक्री गरिसकेका छन् । थप उत्पादन पनि बजारमा पठाउने तयारीमा रहेको उनले बताए । 

    किसानकाअनुसार सिल्भर डलर प्रतिकिलो करिव ३ सय रुपैयाँमा बारीबाटै बिक्री हुन्छ । छोटो समयमै उत्पादन शुरु हुने र त्यसपछि नियमित रूपमा हाँगा काट्न सकिने भएकाले यसबाट दीर्घकालीन आम्दानीको सम्भावना रहेको उनीहरूको भनाइ छ । 

    एउटै बोटबाट लामो समयसम्म उत्पादन

    सिल्भर डलर एउटै बोटबाट लामो समयसम्म उत्पादन लिन सकिन्छ । किसानकाअनुसार राम्रो मलजल र गोडमेल गरी स्याहार गर्नसके एउटै बोटबाट दशकौँसम्म हाँगा उत्पादन गर्न सकिन्छ । यसको आयु सामान्यतया ३० देखि ५० वर्षसम्म हुने बताइन्छ । शुरुमा बिरुवा खरिद, जग्गा तयारी र खेती विस्तारमा लगानी गर्नुपर्ने भए पनि त्यसपछि लामो समयसम्म नियमित आम्दानी लिन सकिने किसानको विश्वास छ । 

    यद्यपि, शुरुवाती लगानी किसानका लागि चुनौतीपूर्ण छ । एउटा बिरुवाकै मूल्य करिव १ हजार ४ सय रुपैयाँ पर्ने भएकाले ठूलो क्षेत्रफलमा खेती विस्तार गर्दा धेरै रकम आवश्यक पर्छ । त्यसबाहेक जग्गा तयारी गर्न रोप्न, सिँचाइ, गोडमेल तथा अन्य खर्चसमेत थपिन्छ ।

    फूल सजावटदेखि अरोमा थेरापीसम्म

    अस्ट्रेलियाको रैथाने मानिने सिल्भर डलर युकालिप्टस सुगन्धित वनस्पति हो । चाँदीजस्तो देखिने गोलाकार पात यसको प्रमुख विशेषता हो । यसको पातसहितको हाँगा फूलका बुके, माला तथा घर सजावटमा प्रयोग गरिन्छ। पछिल्लो समय होटल, रेस्टुरेन्ट, विभिन्न कार्यक्रम तथा समारोहको सजावटमा समेत यसको प्रयोग बढ्दै गएको किसान बताउँछन् । 

    यसका पातबाट सुगन्धित तेल निकालेर अरोमा थेरापीमा समेत प्रयोग गरिने बताइन्छ । सजावट तथा फ्लोरिकल्चर क्षेत्रमा यसको प्रयोग बढ्दै गएसँगै यसको बजार माग पनि बढिरहेको किसानको भनाइ छ । 

    चिसो हावापानीमा राम्रो हुने भएकाले नेपालको एक हजारदेखि एक हजार पाँच सय मिटर उचाईका मध्यपहाडी क्षेत्रमा यसको व्यावसायिक खेतीको सम्भावना रहेको किसान तथा वनस्पती बिज्ञको भनाइ छ । 

    बजारको समस्या छैन, उत्पादनकै अभाव

    कोगटेका किसानकाअनुसार सिल्भर डलरको बजार खोज्न समस्या छैन । उत्पादित सिल्भर डलर बारीबाटै विक्री हुने गरेको उनीहरूको भनाइ छ ।
    तर मागअनुसार उत्पादन गर्न नसकिएको उनीहरूको भनाइ छ । हाल सीमित किसानले मात्रै व्यावसायिक रूपमा खेती गरिरहेकाले बजारको माग धान्न पर्याप्त उत्पादन हुन सकेको छैन । 
    ‘उत्पादन बढाउन सके बजारको समस्या हुँदैन । अहिले त मागअनुसार उत्पादन पु¥याउनै गाह्रो छ ।’ किसानहरू भन्छन् ।

    यसले सिल्भर डलर खेती विस्तारका लागि बजारको राम्रो सम्भावना देखाए पनि उत्पादनको गुणस्तर, नियमित आपूर्ति र बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ । 

    व्यावसायिक प्रवद्र्धन गर्ने गाउँपालिकाको तयारी

    भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाकाअनुसार कोगटेमा सिल्भर डलर खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । गाउँपालिकाले पनि यस खेतीलाई व्यावसायिक रूपमा प्रवद्र्धन र प्रोत्साहन गर्ने योजना अघि बढाएको उनले बताए । 

    स्थानीय तहबाट आवश्यक सहयोग र प्राविधिक ज्ञान उपलब्ध गराउन सके किसानलाई थप आकर्षित गर्न सकिने गाउँपालिकाको भनाइ छ । 
    तर किसानले भने बिरुवा महँगो हुनुका साथै सरकारी अनुदान र प्राविधिक सहयोगको अभाव रहेको बताएका छन् । खेती प्रविधि, बिरुवा व्यवस्थापन, रोग–कीरा नियन्त्रण, कटाइ तथा बजार व्यवस्थापनबारे पर्याप्त जानकारी नहुँदा नयाँ किसानलाई समस्या हुने उनीहरूको भनाइ छ । 

    परम्परागत खेतीको विकल्प बन्दै

    परम्परागत मकै, कोदो, गहुँ र तोरी खेतीबाट अपेक्षित आम्दानी लिन नसकिरहेका कोगटेका किसानका लागि सिल्भर डलर नयाँ विकल्पका रूपमा देखिएको छ ।
    रमेश रानामगरको खेतमा अहिले दुई हजार बिरुवा हुर्किरहेका छन् । जंगली जनावरबाट जोगाउन नसकेको अन्नबालीको ठाउँमा उनले बजारमा माग भएको सजावटी वनस्पति रोजेका छन् । 
    ठूलो शुरुवाती लगानी र केही जोखिम भए पनि छोटो समयमै उत्पादन शुरु हुने तथा लामो समयसम्म आम्दानी लिन सकिने सम्भावनाले किसानलाई आकर्षित गरेको छ । तर व्यावसायिक विस्तारका लागि उत्पादन बढाउनु मात्रै पर्याप्त छैन । गुणस्तरीय बिरुवाको सहज उपलब्धता, प्राविधिक सहयोग, सरकारी प्रोत्साहन र बजारको दीर्घकालीन सुनिश्चितता आवश्यक देखिन्छ । 

    किसानले उत्पादन बढाउँदै जाँदा भविष्यमा बजार व्यवस्थापनको चुनौती आउन सक्ने भएकाले उत्पादनसँगै बजारीकरण र मूल्य श्रृंखलामा पनि ध्यान दिनुपर्ने देखिन्छ । अहिले भने कोगटेका किसानका लागि सिल्भर डलर खेती परम्परागत खेतीको विकल्प मात्रै नभएर नयाँ आम्दानीको सम्भावना बन्दै गएको छ ।