बुधवार , आषाढ ३१, २०८३
काठमाडौँ, ३१ असार । नेपाली काँग्रेसका सचेतक निश्कल राईले इलामको मेची राजमार्ग र अन्य वैकल्पिक सडकखण्डको अवस्था दयनीय भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद राईले पूर्वाधारको अभावमा इलामका नागरिकले सास्ती भोग्नुपरेको बताउनुभएको हो । उहाँले ‘हरित नगरी’ का रूपमा चिनिने इलाम अहिले सडकको दुरावस्थाका कारण हिलोमय’ भएको टिप्पणी गर्नुभयो ।
मेची राजमार्गको बेहाल अवस्थाले गर्दा बिरामी र सुत्केरी महिलाहरूलाई उपचारका लागि झापाका अस्पतालसम्म पु¥याउन समेत नसकिने स्थिति सिर्जना भएको उहाँले उल्लेख गर्नुभयो ।
सांसद राईले राजदुवाली र सिमल गोलाई सडकखण्डको नाजुक अवस्थाका साथै माई जोगमाई खोला र पुवा खोलामा बेलीब्रिज निर्माणको माग पटक–पटक सदनमा उठाउँदा पनि सुनुवाइ नभएकोमा आपत्ति जनाउनु भयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले सो क्षेत्रको स्थलगत अवलोकन गरे पनि सुधारका लागि कुनै ठोस पहल नभएको उहाँको गुनासो छ ।
गत वर्षको प्राकृतिक विपत्तिका कारण इलामलाई संकटग्रस्त जिल्ला घोषणा गरिए तापनि सरकारले पठाएको बजेट पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको र यस वर्ष झन् उपेक्षा गरिएको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले इलामलाई हरित नगरी इलाम भनेर भन्थ्यौँ । तर आज हिलोमलय इलाम हुन पुगेको छ । मेची राजमार्गको अवस्था यस्तो दर्दनाक छ कि इलामबाट कोही नागरिक बिरामी परेको खण्डमा वा सुत्केरी महिला झापाको एउटा हस्पिटलसम्म आउनसक्ने अवस्था छैन । वैकल्पिक बाटो र बेलिब्रिजको अवस्था पनि त्यस्तै छ ।
सम्माननीय सभामुख महोदय पूर्वाधारमन्त्री इलाम जानुभयो, ती सडकखण्डहरु हेर्नुभयो, हिँड्नु पनि भयो । मलाई आशा लागेको थियो उहाँ त्यो विकराल स्थितिको अवलोकन गरेर आउनुहुन्छ लागेको थियो । तर त्यस्तो हुन सकेन । के इलामका नागिरकका लागि ती पूर्वाधार बन्नका लागि सरकार पक्षकै प्रतिनिधि हुनुपर्ने हो । नत्र इलाम सुनिनुपथ्र्यो । सुनिएन ।’
उहाँले इलाम मनसुनजन्य विपद्को समेत जोखिममा रहेको भन्दै आवश्यक पूर्वतयारी गर्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij