शुक्रवार , श्रावण १, २०८३
जब कोही व्यक्ति मानसिक रोगको भुमरीमा परेर छटपटाइरहेको हुन्छ, त्यतिबेला उसलाई ढाडस दिने र हात समात्ने मान्छे चाहिन्छ । तर, हाम्रो समाज र आधुनिक भनाउँदा सम्बन्धहरूको बिडम्बना कस्तो छ भने, यहाँ मान्छेहरू दुःखमा मल्हम लगाउनुको साटो आफ्नो भविष्यको ‘सुरक्षा’ र ‘फाइदा’ को हिसाबकिताब गर्न थाल्छन् । अझ अचम्मको कुरा त के छ भने, आजको पीडालाई बुझेर उपचार खोज्नुको साटो काल्पनिक भविष्यका डरहरू देखाएर सबैभन्दा कमजोर घडीमा साथ छोडिन्छ ।
अहिलेका कतिपय सम्बन्धहरूमा एउटा गम्भीर र क्रूर प्रवृत्ति देखिन्छ पार्टनरको वर्तमान मानसिक पीडालाई बुझ्नुको साटो भोलिको काल्पनिक सन्तान र आफ्नो सुखको चिन्ता गरिन्छ । जब कोही डिप्रेसन वा आत्म–हानीको अवस्थाबाट गुज्रिरहेको हुन्छ, तब उसलाई ढाडस दिनुको साटो यस्ता तर्कहरू अघि सारिन्छन् : ‘भोलि तिमीले फेरि यस्तै गर्यौ भने म र हाम्रा बच्चाहरूको अवस्था के होला ? म एक्लैले कसरी सम्हाल्ने ? तिम्रो कारणले हाम्रो भविष्य बर्बाद हुन्छ ।’
यो तर्क सुन्दा माथिबाट जति जिम्मेवार र व्यवहारिक लाग्छ, भित्रबाट त्यति नै खोक्रो र स्वार्थी छ । ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भनेझैं, संसारले जेसुकै भनोस्, तर प्रेम गर्ने मान्छेले नै संकटमा शंकाको खेती गर्न थालेपछि पीडितको मनमा कस्तो चोट लाग्छ होला ? रोगसँग लड्न सिकाउनुको साटो, ‘तिम्रो रोगले मलाई असर गर्छ’ भन्दै भाग्नु भनेको कातरताको पराकाष्ठा हो ।
मानसिक रोगका कारण आफैंलाई चोट पुर्याउनु र परिवार वा सन्तानप्रतिको जिम्मेवारी बहन गर्न नसक्नु सर्वथा फरक कुरा हुन् । आत्म–हानी वा डिप्रेसन कुनै रहर वा कसैलाई दुःख दिने नाटक होइन । यो मस्तिष्कको एउटा रोग हो, जसको उचित काउन्सिलिङ र थेरापीबाट पूर्ण उपचार सम्भव छ । निको भएपछि उनीहरू संसारकै उत्कृष्ट अभिभावक बन्न सक्छन् । तर, मान्छेहरू उपचारको बाटो रोज्न झन्झट मान्छन् र काल्पनिक डरलाई ढाल बनाएर पन्छिन खोज्छन् ।
यस्तो व्यवहार देख्दा ‘कालो बादलमा चाँदीको घेरा’ खोज्नुपर्ने ठाउँमा, मान्छेहरू सफा आकाशमा पनि आँधीबेहरीको कल्पना गरेर आफैं भाग्ने बाटो खोजिरहेका हुन्छन् । रोग लाग्नु अपराध होइन । तर, बिरामीलाई दोष देखाएर सम्बन्धबाट भाग्नु पक्कै पनि नैतिक अपराध हो ।
सुखको बेला ठूला–ठूला कुरा गर्ने, सात जुनी सँगै जिउने कसम खाने, तर जब पार्टनरको मानसिक अवस्था कमजोर हुन्छ, तब अनेकौं व्यवहारिक बहाना बनाएर पन्छिने प्रवृत्ति अचेल फेसन जस्तै बनेको छ । ‘मुखमा रामराम, बगलीमा छुरा’ भनेझैं, बाहिरबाट हेर्दा ‘म त हाम्रो भविष्य र बच्चाको लागि चिन्तित छु’ भन्ने देखाउने, तर भित्रभित्रै जिम्मेवारी लिन नसकेर पलायन हुने यो कस्तो प्रेम हो ? प्रेम त त्यो हो जसले आँधीबेरीमा पनि ओत दिन्छ । तर, यहाँ त सामान्य पानी पर्दा नै छाता बोकेर आफ्नो बाटो लाग्ने स्वार्थीहरूको कमी छैन । काल्पनिक डरहरूलाई हतियार बनाएर कसैलाई उसको सबैभन्दा अँध्यारो मोडमा एक्लो पार्नु प्रेम हुनै सक्दैन, त्यो त केवल सम्बन्धबाट उम्कने एउटा काइते र सुरक्षित बहाना मात्र हो ।
मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेका मानिसहरूलाई शंका र डरको नजरले होइन, भरोसा र उपचारको आँखाले हेर्न जरुरी छ । उनीहरू भोलि खराब अभिभावक बन्नेछन् वा उनीहरूले परिवारलाई बर्बाद पार्नेछन् भन्ने सोच केवल एक भ्रम र अज्ञानता हो ।
‘रात पछि दिन आउँछ’ भनेझैं उचित उपचार पाएपछि हरेक मान्छे स्वस्थ भएर जिम्मेवार जीवनमा फर्कन सक्छ। सम्बन्धहरू विश्वास र सँगै लड्ने हिम्मतले टिक्छन्, डर र भाग्ने प्रवृत्तिले होइन । कसैको मानसिक पीडालाई बुझ्न नसकेर, भविष्यको नभएको डर देखाएर छोडेर जानेहरूले अन्ततः आफ्नै संकुचित सोच, स्वार्थ र अपरिपक्वताको परिचय दिइरहेका हुन्छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij