२०८३, श्रावण १ गते

Jul 17 2026 | २०८३, श्रावण १ गते

तनाव किन बढ्छ ? कारण, प्रभाव र समाधानका बौद्ध दृष्टिकोण

शुक्रवार , श्रावण १, २०८३

  • 115
    Shares
  • 115
    Shares
  • धम्मापदको पहिलो स्लोकमा बुद्ध भन्नुहुन्छ: 
    मनोपुब्बङ्गमा धम्मा, मनोसेट्ठा मनोमया ।
    मनसा चे पदुट्ठेन, भासति वा करोति वा ।
    ततो नं दुक्खमन्वेति, चक्कं व वहतो पदं ।।
    जसको अर्थ हुन्छ : मन नै सबै धर्महरूको अग्रगामी हो । मन नै प्रमुख हो, र सबै धर्महरू मनबाट उत्पन्न हुन्छन् । यदि कुनै व्यक्तिले दूषित मनले बोल्छ वा कर्म गर्छ भने, त्यसको परिणामस्वरूप दुःख त्यसको पछि त्यसरी नै लागिरहन्छ, जसरी गोरुको खुट्टाको पछि पाङ्ग्राको चक्का लागिरहन्छ । यही शिक्षाले प्रष्ट पार्छ कि मानिसको सुख र दुःखको कारण बाहिरी वातावरण मात्र नभइ मन नै हो । तनाव भनेको कुनै पनि कठिन समय, परिस्थिति, समस्या वा आकांक्षाको सामना गर्नुपर्दा मस्तिष्क र शरीरमा उत्पन्न हुने शारीरिक मानसिक वा संवेदनशील प्रक्रिया हो । यसले गर्दा मानिसको दिमागमा विभिन्न खालका विचारहरू उत्पन्न हुन्छन् जसले गर्दा शरीरका विभिन्न अंगहरूमा हर्मोनहरु उत्पादन भइ मुटुको धड्कन बढ्ने र सतर्कता कायम हुने गर्दछ । जब मानिसले आफ्नो क्षमता वा प्राप्त स्रोतसाधन भन्दा बढी माग राख्छ तब तनाव उत्पन्न हुन्छ । मानिसले आफ्नो क्षमता भन्दा बढी सुविधा खोज्ने गर्छन् जसले गर्दा उनीहरूको जीवनमा विभिन्न समस्याहरु उत्पादन जस्तै मानसिक तनाव मुटु दुख्ने आफ्नो कार्यहरूबाट वञ्चित हुनुपर्ने हुन्छ ।

    मानिसले जीवनमा के कति काम गर्छ र ती कामहरूलाई कसरी कार्यान्वयन गर्छन् भन्ने कुराले नै तनावको सकारात्मक वा नकारात्मक पक्ष निर्धारण गर्छ । मान्छे जन्मनेबित्तिकै उनीहरूको जीवनमा तनाव उत्पन्न हुँदैन । तनाव त तब उत्पन्न हुन्छ जब उनीहरुले गरेको कर्ममा चित्त बुझ्दैन । उमेर र दैनिक जीवनसँगै मान्छेहरूमा आकांक्षाहरू बढ्दै जान्छन् र ती आकांक्षाहरू पूरा गर्न नसक्दा उनीहरूको मनमा विभिन्न खालका चिन्तनहरु सिर्जना हुन्छ जसले गर्दा जीवनको गतिमा प्रभाव पारेको हुन्छ । तनावले दैनिक जीवनमा घृणा ईष्र्या र कठोर भावना उत्पन्न गराउँछ । आधुनिक जीवनशैली बढ्दै गएको प्रतिष्पर्धा बदलिँदै गएको समाज र उत्पन्न हुने चुनौतीले मानिसको निरन्तर जीवनस्तरमा प्रभाव पारेको छ ।

    भगवान बुद्धले करिब २६०० वर्षअघि नै स्वयं आफैले मानिसका जीवनमा दुःखको कारण र त्यसबाट समाधान हुने मार्ग स्पष्ट रुपमा उल्लेख गर्नुभएको थियो । आजको वर्तमान अवस्थामा बौद्ध मार्गदर्शन अपनायौ भने तनाव कम गर्न सकिन्छ र जीवनलाई सरल मार्गमा लैजान सकिन्छ । लोभ, ईष्र्या, डाहा, भविष्यप्रतिको चिन्ता, क्रोध, द्वेष तुलनात्मक प्रविधि तनावका प्रमुख कारण हुन् । अत्यधिक चाहना र तृष्णाले मानिसको जीवनलाई कठिन बनाउँछ । बौद्ध दर्शन अनुसार तनावको मूल कारण बाहिरी संसारभन्दा पनि मानिसको आफ्नै आन्तरिक मानसिक अवस्था हो । व्यक्तिमा ज्ञान, सीप र धैर्यताको कमी छ जसले गर्दा अनित्य, दुःख र अनात्मलाई व्यवहारिक रुपमा बुझ्न सकेका छैनन् । यही अज्ञानताबाट लोग ईष्र्या क्रोध उत्पन्न हुन्छ । मानिसले आफ्नो जीवनमा क्षमता भन्दा बढी धन, पद, प्रतिष्ठा, सम्बन्ध र भौतिक सुखलाई बढी प्राथमिकतामा जोड दिन्छ जसले गर्दा तनावको सिर्जना हुन्छ । जब आफूले चाहेका सुविधाहरू सहजै पूरा गर्न सक्दैनन् त्यसले जीवनमा नकारात्मक चिन्तन पैदा गर्छ  । आफ्नो सीप, बुद्धि, विवेकभन्दा पनि माथि रहेर अरुले के गरिरहेको छ र अरुको प्रगति देख्दा सहन नसक्नु र आफूमा पनि त्यस्तै सुख सयल खोज्नको लागि गलत बाटो हिंड्दा जीवनमा तनाव सिर्जना हुन्छ ।

    आधुनिक युगमा हेर्ने हो भने मानिसहरु सरल जीवनशैलीलाई भन्दा बढी अरुको देखासिकीमा बढी धकेलिएको पाइन्छ । बेरोजगारी, पारिवारिक झगडा, आर्थिक अभाव, कार्यस्थलको दबाब, सामाजिक प्रतिष्पर्धा, सामाजिक सञ्जालको अनुचित प्रयोग, शैक्षिक प्रतिष्पर्धा तथा भविष्यको चिन्तन लगायतका समस्याहरु तनावका मुख्य कारण बनेका छन् । बौद्ध शिक्षाले यी बाह्य कारणलाई प्रमुख कारण नभइ व्यक्तिको मानसिक तनाव उसको व्यवहार लोभ क्रोध मोह द्वेष हो भन्ने कुरालाई जोड दिएको छ । दीर्घावधिको तनावले मानिसको जीवनमा गहिरो प्रभाव पार्दछ । यसले मानसिक तनाव मात्र होइन सामाजिक र शारीरिक तनावको सिर्जना गर्दछ । शारीरिक रोग जस्तै उच्च रक्तचाप, मधुमेह, मुटुरोग, निद्रामा समस्या, प्रतिरोधात्मक क्षमताको कमी, अल्छीपन जस्ता समस्याहरू निम्त्याउन सक्दछ । मानसिक तनावका रूपमा चिन्ता क्रोध, डाहा, असन्तुष्टि, पारिवारिक समस्या उत्पन्न गर्दछ । यसले समाजमा पनि झैझगडा, डाहा र असमानता वैवाहिक विवाद कार्यक्षमतामा गिरावट जस्ता समस्याहरू पैदा गर्दछ । तनावले व्यक्तिगत जीवनमा अशान्ति बनाउँछ । जब मन अस्थिर हुन्छ मानिसले गर्ने निर्णय र व्यवहार पनि असन्तुलित हुन्छ । आफूले गर्दै गरेको काममा निरन्तरता दिन सकिँदैन, जसले मानिसको जीवनलाई अझ कठिन बनाउँछ । तनावले मानिसको जीवनलाई मृत्युको मुखसम्म धकेल्छ । बुद्धद्वारा प्रतिपादित चार आर्य सत्य तनाव व्यवस्थापनको बलियो आधार बन्न सक्दछ । पहिलो आर्य मानिसको जीवनमा दुःख छ । तनावलाई स्वीकार नगर्नु वा त्यसबाट भाग्नु समाधान होइन, यसलाई बुझेर यथार्थमा परिणत गर्नु नै पहिलो कदम हो । दोस्रो दुःखको कारण छन् तेस्रो चार आर्य सत्यले दुःख र तनावको अन्त्य सम्भव छ भन्ने आशावादी दृष्टिकोण प्रस्तुत गरेको छ । चौथो आर्य सत्यले आष्टाङ्गिक मार्गलाई दुःखको समाधानको व्यवहारिक उपायका रूपमा बुझ्न सकिन्छ । चार आर्य सत्यले दुःख कारण र त्यसका समाधानका रूपमा स्पष्ट पारेको छ ।

    तनाव व्यवस्थापनको अर्को मार्ग आष्टाङ्गिक मार्ग हो । आर्य अष्टाङ्गिक मार्ग बौद्ध धर्मको आधारभूत शिक्षा हो । यसले व्यक्तिलाई दुःखबाट मुक्त भइ शान्त, खुसी, नैतिक र ज्ञानपूर्ण जीवनयापन गर्न मार्गदर्शन गर्छ । सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक बाणी, सम्यक कर्म, सम्यक आजीविका, सम्यक प्रयास, सम्यक स्मृति, सम्यक समाधि, अष्टाङ्गिक मार्गका शिक्षा हुन् । यसले मानिसलाई लोभ मोह द्वेषबाट मुक्त गराई उच्च सोच शान्त र करुणामैत्री जीवन जिउन मद्दत गर्दछ । यसले मानिसलाई अनुशासनमा रहन र सरल जीवनयापन गर्न सिकाउँछ । स्मृति ध्यान करुणामैत्री र मध्यम मार्ग पनि तनाव व्यवस्थापनका उत्तम उपाय हुन् । स्मृति ध्यानले वर्तमान समयमा सजगता र निष्पक्ष रूपमा जिउन सिकाउँछ । ध्यानले केवल मनलाई शान्त बनाउने मात्र नभइ जीवनका अंगलाई पनि बलियो र फुर्तिलो राख्न मद्दत गर्दछ । करुणाले मानिसलाई सही मार्गदर्शन गर्न सिकाउँदछ । सरल जीवन शैली अरुलाई सहयोग गर्ने भावना र आत्मविश्वास नै तनाव समाधानको उपाय हो । आधुनिक युगमा हेर्ने हो भने बौद्ध दर्शनले तनावलाई गम्भीर मानसिक अवस्था तुल्याउँछ तर, यसको कारण फरक छ । अत्याधिक चाहना समाजको देखासिकी आफूले के गर्छु भन्दा पनि अरुमा निर्भर हुनु तनावको कारण हो । बौद्ध दर्शनले तनावको मूल कारण तृष्णा, मोह, अशिक्षा, लापरवाही र शक्तिलाई मानेर मानसिक तनावमा जोड दिन्छ । पछिल्लो समय हेर्ने हो भने सामाजिक सञ्जाल पनि तनावको कारण बनेको छ । नियमित व्यायाम बौद्ध शिक्षाको पालनाले तनाव न्यूनीकरण गर्न सकिन्छ ।

    निष्कर्ष 
    तनाव आधुनिक जीवनको अपरिहार्य सत्य भए पनि यसलाई समाधान गर्न सकिन्छ । तनाव परिवर्तनशील छ । बौद्ध दर्शनले तनावलाई बाहिरी समस्या मात्र नभइ मानसिक अशुद्ध अवस्थाको परिणाम का रूपमा व्याख्या गरेका छन् । बौद्धले अष्टाङ्गिक मार्ग चार आर्य सत्यको शिक्षाले तनाव न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरालाई स्पष्ट रुपमा व्याख्या गरेका छन् । तनाव स्वयं आफै उत्पन्न हुँदैन यो त दैनिक जीवनमा गरिने कार्यबाट विकास भएको हुन्छ । हरेक दिन सकारात्मक चिन्तन र निरन्तर व्यायामले तनाव समाधान गर्छ । अनित्यको बोधले व्यक्तिमा मानसिक सन्तुलन आत्मविश्वासमा केन्द्रित गर्न मद्दत गर्छ । करुणामैत्री वातावरण सिर्जना गर्नु र सरल जीवनयापन गर्नु नै तनाव व्यवस्थापनको महत्त्वपूर्ण र बलियो आधार हो ।
    (लेखक लुम्बिनी बौद्ध विश्वविद्यालय स्कूल अफ ल बी.ए.एलएल.बी. चौथो सेमेष्टरमा अध्ययनरत हुनुहुन्छ)