२०८३, श्रावण १ गते

Jul 17 2026 | २०८३, श्रावण १ गते

लुम्बिनी मन्त्रिपरिषद्को बैठकले तोक्यो प्रदेश सचिवहरूको जिम्मेवारी

शुक्रवार , श्रावण १, २०८३

  • 235
    Shares
  • 235
    Shares
  • दाङ, १ साउन । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा बसेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश सरकारका सचिवहरूको जिम्मेवारी तोक्ने निर्णय गरेको छ । 

    प्रदेश सचिव भरतमणि पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । हाल आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव रहनुभएकी सुशिला अर्याललाई सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएको छ । त्यस्तै सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारीलाई शिक्षा तथा सामाजिक विकास निर्देशनालयको जिम्मेवारी प्रदान गरिएको छ ।

    बैठकमा आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगतिको समीक्षा पनि गरिएको छ । सरकारका प्रवक्ता तथा स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेका अनुसार चालुतर्फ ६७ दशमलव ७७ प्रतिशत र पूँजीगततर्फ ६६ दशमलव ८० प्रतिशत खर्च भएको जानकारी मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गरिएको थियो ।

    त्यसै गरी प्रमुख सचिव कृष्ण प्रसाद काप्रीले संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाउनुभएको छ । उक्त प्रतिवेदनको अध्ययनपछि आगामी मन्त्रिपरिषद् बैठकबाट आवश्यक निर्णय गरिने सरकारका प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।