शुक्रवार , श्रावण १, २०८३
बुटवल, १ साउन । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिमा उद्योगीहरुको प्रतिनिधित्व हटाउने निर्णयविरुद्ध उद्योगीहरु आन्दोलनमा उत्रिएका छन् । विगतमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिमा उद्योगीहरुको प्रतिनिधित्व रहने प्रावधानको निरन्तरताको माग गर्दै औद्योगिक क्षेत्र उद्योग महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । पहिलो चरणको आन्दोलन शुक्रबार कालो झण्डा प्रदर्शन गरेर सांकेतिक रुपमा विरोध गरिएको छ ।
उद्योगीहरुको हकहित संरक्षण र समस्या समाधानका लागि मात्र नभइ समग्र औद्योगिक क्षेत्रको विकासमा समेत टेवा पुर्याउने उद्देश्यले राखिएको उक्त प्रावधानलाई उद्योग मन्त्रीको ठाडो निर्देशनमा हटाउने निर्णय गरिएको भन्दै महासंघले आपत्ति जनाएको छ । उक्त प्रावधानलाई पुनर्जीवित नगरेसम्म सम्पूर्ण उद्योगहरुमा विरोधस्वरुप कालो झण्डा राख्ने, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका कुनै पनि कार्यक्रममा सहभागी नहुने र माग पूरा नभए थप कडा आन्दोलनमा उत्रिने चेतावनी समेत महासंघले दिएको छ ।
आज बुटवलमा एक विज्ञप्ती जारी गर्दै औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष एजाज आलमले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रका हजारौं उद्योगीहरुको भावनामाथि कुठाराघात गरेको आरोप लगाउनुभयो । व्यवस्थापनले सरोकारवाला पक्षसँग कुनै छलफल, परामर्श नगरी व्यवस्थापनको साधारण सभामा प्रस्ताव समेत नगरी हठात रुपमा पारित गरेको उक्त उद्योगी र औद्योगिक क्षेत्र विरोधी निर्णयलाई तत्काल खारेज गर्न माग गर्दै अध्यक्ष आलमले अन्यथा व्यवस्थापन लिमिटेडविरुद्ध कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिनुभयो ।
अध्यक्ष आलमका अनुसार नेपालको औद्योगिक विकासमा लामो समयदेखि योगदान पुर्याएका उद्योगीहरुलाई उपेक्षा गर्दै लिइएको उक्त निर्णय समग्र औद्योगिक क्षेत्रको बिकासमा समेत बाधा पुग्ने उद्योगीहरुको ठहर छ । अध्यक्ष आलमले भन्नुभयो-‘माग पुरा नभए हामी व्यवस्थापन लिमिटेडको वार्षिक उत्सव लगायत सबै कार्यक्रमहरु बहिष्कार गर्छौं ।’ व्यवस्थापन लिमिटेडका कुनै पनि कार्यक्रममा कुनै पनि उद्योग–प्रतिष्ठानका उद्योगी वा प्रतिनिधिहरु सहभागी नहुने उहाँको भनाइ थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij