
आइतवार , जेठ २, २०७८
भैरहवा, २ जेठ ।
माइती नेपाल आवधिक गृह भैरहवाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारी नियन्त्रणका लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सामाजिक संस्थाको तर्फबाट माइती नेपाल पनि नगरपालिकासंग संगै छौं भन्ने प्रतिवद्धतासहित केही थान स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । सिद्धार्थनगर नगरपालिकाले गर्दै आएको अथक प्रयासको उच्च सम्मान गर्दै यो विषम परिस्थितिमा संस्थाले मास्क १ हजार थान, स्यानिटाइजर २० बोतल, फेस शिल्ड १ सय थान र ग्लोब्स ५ प्याकेट हस्तान्तरण गरेको हो ।
सो सामग्री माइती नेपाल भैरहवाका कार्यक्रम संयोजक माया क्षेत्रीले आइतबार नगर उपप्रमुख उमा काफ्लेलाई हस्तान्तरण गरेकी हुन् । सामग्री लिदै उपप्रमुख काफ्लेले कोरोना महामारीमा माइती नेपालले गरेको कामको प्रशंसा गरिन् ।
माइती नेपालले महिला तथा बालबालिकाको बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि बेलहिया नाकामा सीमा निगरानी कार्यक्रम, जिल्ला प्रशासन कार्यालयमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी परामर्श कक्ष लगायत विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । माइती नेपाल आवधिक गृह भैरहवाले विगत २३ वर्षदेखि सिद्धार्थनगरको वडा नम्बर ९ मा शाखा कार्यालय स्थापना गरी सञ्चालन गर्दै कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij