शुक्रवार , श्रावण ८, २०८३
बुटवल, ८ साउन । नेपाल कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको ४८ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले कम्युनिष्ट आन्दोलनलाई पुनः सुदृढ बनाउन आत्मसमीक्षा, सहकार्य र वैचारिक पुनर्जागरण आवश्यक रहेको बताएका छन् । उनीहरूले पुष्पलालको त्याग, समर्पण र नैतिक राजनीतिक संस्कृतिलाई व्यवहारमा उतार्न नसक्दा नेपाली कम्युनिस्ट आन्दोलन कमजोर बन्दै गएको धारणा राखे ।
बिहीबार रुपन्देहीको बुटवलमा आयोजित ‘पुष्पलालको राजनीतिक विचार र नेपाली वाम राजनीतिको भावी कार्यदिशा’ विषयक बहस कार्यक्रममा नेकपा (एमाले )का केन्द्रीय सचिव छविलाल विश्वकर्माले पुष्पलाल विभाजनका होइन, कम्युनिस्ट एकताका सूत्रधार भएको उल्लेख गर्नुभयो । उहाँले अहिलेका कम्युनिष्ट पार्टीहरूले आफ्ना कमजोरीको गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभयो ।
उहाँले नेपालका कम्युनिष्ट शक्तिबीच संवाद, सहकार्य र आवश्यकताअनुसार एकताको बहस समयसापेक्ष भएको उल्लेख गर्नुभयो । पूर्वमन्त्री समेत रहनुभएका नेता विश्वकर्माले पुष्पलालको योगदानलाई व्यवहारमा उतार्न सके मात्रै कम्युनिष्ट आन्दोलनले नयाँ दिशा पाउने धारणा राख्नुभयो । देशका विभिन्न स्थानमा रहेका पुष्पलालका प्रतिमामाथि भएका तोडफोडका घटनाप्रति दुःख व्यक्त गर्दै उहाँले त्यस्ता गतिविधि अस्वीकार्य रहेको बताउनुभयो ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा रुपन्देही इञ्चार्ज खिमलाल भट्टराईले कम्युनिष्ट आन्दोलनको मूल उद्देश्य श्रमजीवी, किसान र विपन्न वर्गको हित भएको स्मरण गराउँदै वर्तमान पुस्ताले त्यसलाई व्यवहारमा रूपान्तरण गर्न नसके आन्दोलन कमजोर हुने बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीभित्र देखिएका समस्या समाधान गर्दै पुनर्गठन र सहकार्यको दिशामा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
नेपाल कम्युनिष्ट पार्टीका रुपन्देही इञ्चार्ज निर्मल जिसीले विगतका कमजोरीको समीक्षा गर्दै देश र जनताको समृद्धिलाई केन्द्रमा राखेर कम्युनिस्ट शक्तिहरूबीच सहकार्य र एकता अघि बढाउनुपर्ने धारणा राख्नुभयो । त्यसो गर्न सके पुष्पलालप्रति वास्तविक सम्मान हुने उहाँको भनाइ थियो ।
नेकपा (माओवादी) का नेता वीरेन्द्र विकले सत्ता स्वार्थ, भ्रष्टाचार र अवसरवादजस्ता विकृतिबाट कम्युनिष्ट आन्दोलनलाई मुक्त गर्दै नीति र सिद्धान्तमा आधारित राजनीतिक अभ्यास आवश्यक रहेको बताउनुभयो । उहाँले जनविश्वास पुनः स्थापित गर्न कम्युनिस्ट शक्तिहरूले आत्मसमीक्षासहित नयाँ ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अध्येता माधव पौडेलले ‘पुष्पलालको राजनीतिक विचार र नेपाली वाम राजनीतिको भावी कार्यदिशा’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी) लगायत विभिन्न वामपन्थी दलका केन्द्रीय, प्रदेश तथा स्थानीय तहका नेता तथा कार्यकर्ताको सहभागीता थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij