२०८३, श्रावण ८ गते

Jul 24 2026 | २०८३, श्रावण ८ गते

एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचित

शुक्रवार , श्रावण ८, २०८३

  • 268
    Shares
  • 268
    Shares
  • काठमाडौँ,  ८ साउन । प्रतिष्ठित व्यापारिक घराना वैद्य अर्गनाइजेसन अफ इण्ड्रस्ट्रिज एण्ड ट्रेडिङ हाउसका अध्यक्ष सुरज वैद्य अवैतनिक वाणिज्यदूतहरूको संस्था ‘अनररी कन्सुलर कप्र्स नेपाल’ (एचसीसीएन) को डीनमा निर्विरोध निर्वाचित भएका छन् । 

    डीन वैद्यले नेपालको आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा एचसीसीएनले नेतृत्वदायी भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आफ्नो कार्यकालको योजना प्रश्तुत गर्दै वैद्यले एचसीसीएनलाई केवल एउटा ‘क्लव’ को रूपमा मात्र नभई मुलुकको विकासका लागि जिम्मेवार संस्थाका रूपमा अघि बढाउने बताउनु भयो ।

    वैद्यले वर्तमान सरकारले अघि सारेको ‘आर्थिक कुटनीति’ को अवधारणालाई सफल पार्न एचसीसीएनले सरकारसँग काँधमा काँध मिलाएर काम गर्ने बताउनु भयो ।

    दक्षिण एशियामा नेपालको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को अवस्था न्युन रहेकोप्रति चासो व्यक्त गर्दै उहाँले लगानीकर्ताहरूलाई नेपाल सुरक्षित गन्तव्य हो भनेर आश्वस्त पार्न एचसीसीएनले सक्रिय भुमिका खेल्ने उल्लेख गर्नुभयो ।

    अवैतनिक वाणिज्यदुतहरूलाई हेर्ने सार्वजनिक दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिँदै उहाँले संस्थाभित्र व्यावसायिक विकास र तालिमका कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभयो ।  उहाँले वाणिज्यदुतहरूको भुमिका सुविधा र ‘निलो नम्बर प्लेट’ मा मात्र सिमित नभई उनीहरूले अन्तर्राष्ट्रिय स्तरमा निर्वाह गरेको भुमिका र नेपालले प्राप्त गरेको सम्मानका बारेमा जनस्तरमा जानकारी गराउनु आवश्यक रहेको बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘हाम्रो भुमिका केवल आलंकारिक मात्र होइन । हामी ६४ वटा देशको प्रतिनिधित्व गर्छौं, जसले विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिव १०० ट्रिलियन डलर र विश्व जनसंख्याको २० प्रतिशत हिस्सा ओगट्छन् ।

    यो ठूलो शक्ति र अवसरलाई नेपालको हितमा प्रयोग गर्नु हाम्रो प्राथमिकता हुनेछ । हामी सरकार, लगानी बोर्ड, पर्यटन बोर्ड र निजी क्षेत्रका छाता संगठनहरू (एफएनसीसीआई, सीएनआई र चेम्बर अफ कमर्स) सँग नजिक रहेर काम गर्नेछौँ । निजी–सार्वजनिक साझेदारी नै देश अघि बढाउने मुख्य माध्यम हो ।’

    आफ्नो कार्यकालभित्रै युरोपका विभिन्न देशहरूमा नेपालको प्रवद्र्धनका लागि ‘रोड शो’ आयोजना गर्ने लक्ष्य राख्नुभएको छ । काठमाडौंमा सम्पन्न एचसीसीएनको साधारणसभाले वैद्यलाई नयाँ डीनमा सर्वसम्मत चयन गरेको हो ।

    यसअघि  बुल्गेरियाका लागि नेपालस्थित भोला थापा यसको डीन थिए । सम्मेलनले एचसीसीएनको भाइस डीनमा पासाङ दावा शेर्पालाई चयन गरेको छ ।

    नेपालको औद्योगिक क्षेत्रमा लामो योगदान र अनुभव बटुलेका वैद्यको ६ दशकभन्दा पुरानो व्यापारिक घराना वैद्य अर्गनाइजेसन टोयोटा गाडीको आधिकारिक विक्रेताका रूपमा लामो समयदेखि रहँदै आएको छ । योसँगै ग्रुपले अटोसँगै सिमेन्ट, हस्पिटालिटी क्षेत्रमा लगानी विस्तार गरिरहेको छ ।