२०८३, श्रावण ८ गते

Jul 24 2026 | २०८३, श्रावण ८ गते

जनविरोधी कानून स्वीकार गर्न सकिँदैन : झक्कुप्रसाद सुवेदी

शुक्रवार , श्रावण ८, २०८३

  • 205
    Shares
  • 205
    Shares
  • काठमाडौँ,  ८ साउन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभामा संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले जनविरोधी कानून स्वीकार गर्न नसकिने स्पष्ट पार्नुभएको छ । 

    राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको शुक्रवार बसेको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विज्ञ छनोटको मापदण्डमा गम्भीर बन्न सुझाव दिनुभयो ।

    समितिले सञ्चालन गर्न लागेको कानून मापन तथा अन्तर–विधायिकी सम्बन्ध सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रमका लागि विज्ञहरूको नाम प्रश्ताव गर्दै नेता सुवेदीले विषयगत ज्ञान भएका व्यक्तिहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

    उहाँले अन्तर–विधायिकी सम्बन्धका लागि पूर्वसांसद परशुराम मेघी गुरुङ, खिमलाल देवकोटा र डा. भरतराज गौतमको नाम उपयुक्त रहेको उल्लेख गर्नुभयो । नेता सुवेदीले संसदीय अभ्यासमा गरिने ‘मौन विरोध’ लाई सत्याग्रहकै एक स्वरूपका रूपमा परिभाषित गर्नुभयो । 

    सरकारले ल्याएका विधेयकहरू पारित गर्दैमा सत्तापक्ष भइन्न भन्ने तर्कप्रति टिप्पणी गर्दै नेता सुवेदीले जनविरोधी कानूनहरू कुनैपनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । उहाँले सरकारले ल्याएका विधेयकहरूमाथि पर्याप्त र गम्भीर छलफल हुनुपर्ने र ती जनपक्षीय नभए फिर्ता गर्नुपर्ने धारणा राख्नुभयो । 

    उहाँले भन्नुभयो, ‘सरकारले ल्याएका विधेयकको सार नमानी पारित गरिदिनुपर्छ भन्ने सोच गलत छ । विगतमा पनि सत्तापक्षमै रहेका दलहरूले जनविरोधी विधेयकको विरोध गरेका उदाहरण छन् । जनविरोधी कानून बन्ने अवस्था आएमा त्यसलाई पारित गर्नुको सट्टा फिर्ता गर्ने संस्कार र प्रशिक्षणको विकास गरिनुपर्छ ।’

    उहाँले संसदीय प्रक्रियालाई थप गरिमामय र जनमुखी बनाउन विज्ञहरूको छनोट र विधेयकमाथिको छलफलमा गम्भीरता अपनाउनुपर्नेमा विशेष जोड दिनुभयो ।