सोमवार , श्रावण ११, २०८३
भैरहवा, ११ साउन । जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले पदबाट राजीनामा दिनुभएको छ । सोमबार पार्टीका केन्द्रीय अध्यक्ष डा.सी.के. राउतलाई सम्बोधन गर्दै उहाँले राजीनामा दिनुभएको हो ।
पछिल्लो समय पार्टीभित्र उत्पन्न भएका विभिन्न राजनीतिक, संगठनात्मक तथा कार्यशैलीसम्बन्धी परिस्थितिहरूका कारण आफ्नो पदमा रही प्रभावकारी रूपमा कार्यसम्पादन गर्न कठिनाइ उत्पन्न भएको महसुस गरेकोले राजीनामा दिएको यादवले बताउनुभयो ।
‘पार्टीभित्रको आन्तरिक लोकतन्त्र, पारदर्शीता, समान व्यवहार तथा संगठनात्मक मर्यादाका विषयमा समेत गम्भीर असहजता उत्पन्न भएको अवस्थामा आफ्नो आत्मसम्मान, राजनीतिक मूल्य–मान्यता तथा व्यक्तिगत विवेकलाई ध्यानमा राख्दै जनमत पार्टीको राष्ट्रिय सचिव पदबाट आजकै मितिदेखि लागू हुने गरी स्वेच्छिक राजीनामा पेश गर्दछु, ’उहाँले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ । राजीनामा स्वीकृत गरी आवश्यक प्रक्रिया अघि बढाउन उहाँले अध्यक्ष डा.राउतलाई आग्रह समेत गर्नुभएको छ ।
जनमत पार्टीको सचिव पदमा रही पार्टीको नीति, सिद्धान्त र उद्देश्य अनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको उहाँले बताउनुभयो । ‘पार्टी संगठनको सुदृढीकरण, जनताको अधिकारको संरक्षण तथा लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धनका लागि मैले आफ्नो क्षमता र सामर्थ्यअनुसार विगत डेढ दशकदेखि निरन्तर योगदान पुर्याउँदै आएको छु, ’उहाँले भन्नुभयो ।
रुपन्देही निवासी भोपेन्द्र प्रसाद यादव २०८२ र २०७९ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij