२०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

नेकपा बुटवल उपमहानगरको प्रथम एकता बैठक, जनताको मन जित्ने अभियानमा लाग्न निर्देशन

मंगलवार , श्रावण १२, २०८३

  • 325
    Shares
  • 325
    Shares
  • बुटवल, १२ साउन । नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) बुटवल उपमहानगर समितिको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच एकतापछिको नगरको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रम गरिएको हो । 

    पार्टीको सांगठनिक गतिविधिलाई चुस्त राख्न तथा वर्तमान सरकार, यसका नीतिले पारेको प्रभाव एवं युवा पुस्तालाई पार्टीमा जोड्ने सन्दर्भमा बैठकमा छलफल गरिएको नेकपाले जनाएको छ ।

    बैठकलाई सम्बोधन गर्दै नेकपा (रुपन्देही) का जिल्ला इञ्चार्ज निर्मल जि.सी.ले अब क्रान्तिकारी कम्यूनिष्ट पार्टी निर्माणका लागि टोलटोलमा खटिन नेता–कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले परिवर्तित समयमा उत्पीडित तथा नेपाली समाजको आवश्यकता अनुसारको पार्टी नेकपा रहेको बताउनुभयो । उहाँले जनताको घरदैलौमा पुगेर एजेण्डा बताउने बेला आएको बताउनुभयो ।

    नगर समितिका संयोजक महेन्द्र भुसालले पार्टी एकतापछिको प्रथम एकता बैठकसँगै अब सगठन विस्तार गर्दै जनताको मन जित्ने अभियानमा सामेल हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । गत फागुन २१ को चुनावपछि देखिएको परिणामपछि बनेको सरकारले गरेका गतिविधिले जनतामा ठूलो निराशा छाएको बताउँदै यो अवस्थामा आशाको दियोका रुपमा नेकपालाई अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    त्यस्तै बैठक तथा प्रशिक्षणमा नेकपाका जिल्ला सह–इञ्चार्ज राम परियार, अर्का सह–इञ्चार्ज आशा चौधरी, जिल्ला संयोजक बाबुलाल यादव, केन्द्रीय सदस्यहरु कमल भण्डारी, सुजित विक, बुटवल उपमहानगर इञ्चार्ज पुष्पराज ढकाल, माधव पन्थी, तुल्सीराम न्यौपाने लगायतले बोल्दै अब एकताको सन्देशसहित जनताको घरदैलौमा पुग्नुपर्नेमा जोड दिनुभयो ।

    बैठकले १५१ सदस्यीय नगर समिति बनाउने निर्णय समेत गरेको छ । साथै एक महिनाभित्र वडा सम्मेलन र आगामि असोजभित्र नगर समितिको सम्मेलन गर्ने निर्णय समेत गरेको नेता तुल्सिराम न्यौपानेले बताए