बुधवार , श्रावण १३, २०८३
काठमाडौं, १३ साउन । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकको वर्तमान परिस्थिति संवेदनशील रहेकाले शान्ति सुव्यवस्था र सामाजिक सद्भाव कायम राख्नु नै अहिलेको मुख्य दायित्व भएको बताउनुभएको छ ।
बुधवार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । सभापति लामिछानेले विगतका आन्दोलन र वर्तमान परिस्थितिको पृष्ठभूमि फरक रहेको उल्लेख गर्नुभयो ।
आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनालाई अत्यन्त गम्भीर रूपमा लिँदै उहाँले यसमा सुरक्षा निकाय जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो । घटनाको सत्यतथ्य बाहिर ल्याउन समय लाग्ने बताउँदै उहाँले कुनैपनि अफवाह वा ‘कन्स्पिरेसी’ को पछि नलाग्न आग्रह गर्नुभयो ।
विगतमा कुन परिस्थिति र विषयलाई लिएर आन्दोलन भएको थियो र अहिलेको अवस्था के हो भन्नेकुरा बुझ्न जरुरी रहेको बताउनु भयो । बैठकमा राजनीतिक दलका शिर्ष नेताहरूले वर्तमान घटनाक्रमको समीक्षा गर्दै सरकारको ध्यानाकर्षण गराएको उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री र गृहमन्त्रीले आ–आफ्नो तर्फबाट कार्यसम्पादन गरिरहेको बताउँदै उहाँले राजनीतिक दलहरूले एकअर्कालाई आरोप–प्रत्यारोप गर्नुभन्दा पनि संयमता अपनाउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विगतमा नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सामाजिक सञ्जालमाथि लगाइएका प्रतिवन्ध लगायतका विषयमा आन्दोलन भएका थिए, तर आजको परिस्थिति हिजोको जस्तो होइन ।
अहिले विभिन्न भ्रम र अफवाहहरू फैलिएका छन् । हामीले जिम्मेवार प्रशासनलाई निष्पक्ष छानबिनका लागि सहयोग गर्नुपर्छ । अनुसन्धानको निष्कर्ष नआएसम्म कुनैपनि विषयमा टिप्पणी गर्नु हतारो हुनेछ । अहिलेको प्राथमिकता भनेको शान्ति सुव्यवस्था र सद्भाव कायम गर्ने हो । कसले गल्ती ग¥यो वा कसले कति बेला के बोल्यो भन्ने जस्ता ससाना विषयमा अल्झिने समय यो होइन ।’
उहाँले सामाजिक सद्भाव नभड्कियोस् भन्नेतर्फ सञ्चारकर्मीहरूलाई समेत संवेदनशील हुन र जिम्मेवारीपूर्वक सूचना संप्रेषण गर्न आग्रह गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij